डा. शर्मालाई काममा रोक, विरामीले बिशेषज्ञ सेवा पाएनन्

जिम्मेवारी नपाएपछि बीपी प्रतिष्ठानको पुरानो धर्मशालास्थित भवनमा मुटुका एक विरामीलाई जाच्दै डा.सञ्जिव शर्मा । उनी यही नै विरामीलाई भेटेर राय, सुझाव दिन्छन् ।
धरान । दक्ष चिकित्सक अभावले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्याथ ल्याब करिब डेढ बर्षअघिदेखि बन्द थियो । करिब तीन महिनाअघि भारतपुरबाट कार्डियोलोजीमा बिशेषज्ञता (डिएम )अध्ययन सकेर डा.सञ्जिव शर्मा प्रतिष्ठान फर्किएपछि भने क्याथ ल्याब सञ्चालनमा आउने सबैको अपेक्षा थियो । तर, डा. शर्माले न त प्रतिष्ठानमा काम गर्ने अवसर पाएका छन्, न क्याथ ल्याब नै सञ्चालनमा आएको छ ।
डा.शर्माले प्रतिष्ठानमा जिम्मेवारी वहन गर्न नपाउदा मुटुका विरामीहरु उपचारको लागि विराटनगरको निजी अस्पतालमा धाउन बाध्य छन् । जहाँ सर्वसाधारण विरामीहरुले महंगो शुल्क बुझाइरहेका छन् । प्रतिष्ठानले डा. शर्मालाई नियुक्ती दिइसके पनि मेडिशिन विभागका विभागीय प्रमुखले ओपिडी सेवामा विरामी जाँचको लागि उनलाई जिम्मेवारी दिएको छैन । जसको कारण उनी प्रतिष्ठानमा नै रहेर पनि विरामीले भने उनीबाट बिशेषज्ञ उपचार सेवा पाउन सकेको छैन । एक साताअघि प्रतिष्ठानको वस्तुस्थिति बुझ्न आएका स्वास्थ्यमन्त्री खगराज अधिकारीले क्याथ ल्याब सुचारु गर्न निर्देशन दिइसके पनि कार्यान्वयन हुन सकेको छैन ।
प्रतिष्ठानमा डा.निकेश श्रेष्ठको पहलमा करिब तीन बर्षअघि मुटुका विरामीहरुको उपचारको लागि क्याथ ल्याब स्थापना भएको थियो । ल्याबमा एनजिओग्राफी, एनजिओप्लाष्टिक, पेसमेकर राख्नेलगायत मुुटू विरामीको उपचार हुनेगथ्र्यो । तर, करिब डेढ बर्षअघि डा. निकेश श्रेष्ठले प्रतिष्ठान छोडेर विराटनगरस्थित एक निजी अस्पताल गएपछि भने यो सेवा ठप्प छ । त्यसपछि भने प्रतिष्ठानले मुटुका गम्भीर विरामीहरुलाई अन्यत्र नै सिफारिश गर्ने गरेको छ । अहिले डा.शर्मा प्रतिष्ठानको पुरानो धर्मशाला रहेको भवनमा आफुलाई भेट्न आउने शुभेच्छुक तथा विरामीहरुलाई समय दिन्छन् । त्यही बसेर उनी मुटु र मृगौला सम्बन्धी रोगका विरामीलाई विभिन्न राय, सुझाव दिइरहेका छन् ।


डा.शर्मालाई मेडिशन विभागका प्रमुख डा.प्रल्हाद कार्कीले कामको जिम्मेवारी नदिदा समस्या भएको हो । डा. शर्मालाई तीन बर्षअघि अध्ययन विदामा गएदेखि नै डा.कार्कीले अवरोध पुर्याउदै आएको आरोप छ । लामो समय कामको जिम्मेवारी नपाउदा डा.शर्मा निराश हुन थालिसकेको उनी निटकवर्तीहरुले बताएका छन् । उनलाई विभिन्न निजी अस्पतालहरुबाट पनि राम्रो तलब सुविधासहितको प्रस्ताव आइरहेको छ । तर, उनी भने त्यस्तो प्रस्ताव त्यागेर प्रतिष्ठानमा नै काम गर्ने वातावरण बन्ने आशामा बसिरहेका छन् । डा.शर्मा नेफ्रोलाजीका अन्र्तराष्ट्रियस्तरमा ख्यातीप्राप्त बिशेषज्ञ चिकित्सक पनि हुन् । उनकै पहलमा प्रतिष्ठानमा डायलाइसिस सेवा पनि सञ्चालनमा आएको थियो । उनले पूर्वक्षेत्रमा समुदायस्तरमा केएचडिसी कार्यक्रम सञ्चालन गरेर मृगौला रोगको निःशुल्क परीक्षण गरेर हजारौं सर्वसाधारणको मृगौला बिग्रनबाट जोगाएका थिए । यो कार्यक्रमले डा.शर्मा, उनको टिमसँगै बीपी प्रतिष्ठानको छवि पनि समुदायमा राम्रो बनेको थियो । उनले काम गर्ने वातावरण नपाउदा अहिले यो कार्यक्रम पनि सञ्चालन हुन पाएको छैन ।
डिएम अध्ययन सकेर डा.शर्मा प्रतिष्ठानमा आएपछि पनि उनलाई पुनः नियुक्ती नदिन डा.कार्कीलागयतले पदाधिकारीलाई दबाब दिदै आएका थिए । डा.कार्कीलगायतका चिकित्सकहरुले नेफ्रोलोजीका चिकित्सक डा.शर्माले अर्को बिषय कार्डियो पढेको भन्दै शुरुदेखि नै असन्तुष्टी जनाउदै आएका थिए । डा.कार्कीले आफ्नो विभागका जुनियर रेजिडेन्टसहितको टिम लिएर पदाधिकारीहरुलाई दबाब दिएका थिए । विवाद बढेपछि तत्कालीन समयमा प्रतिष्ठानले डा.शर्माको अध्ययन विदा रद्द पनि गरेको थियो । तर, उनले सर्वोच्च अदालतमा रिट हालेपछि स्टे अर्डर जारी भयो, र उनी पढ्न गएका थिए । बिशेषज्ञता हासिल गरेर आएका डा.शर्मालाई गुमाउन नहुने भन्दै उपकुलपतिले जुन अवस्थामा अध्ययन विदामा गएका थिए, त्यही अवस्थामा काम गर्न दिनु भनेर मेडिशिन विभागलाई पत्र पठाइदिएका थिए । तर, सो विभागले पुनः कार्यकारीणी समितिको पत्र चाहिने भन्दै दबाब दिएपछि समितिले पनि पत्र दिइसकेको थियो । तर, अझै पनि डा.शर्माले कामको जिम्मेवारी पाएका छैनन् ।
..............................................

                                                    नागरिक सञ्जालद्धारा ज्ञापन



कार्डियोमा डिएम कोर्ष सकेर आएका डा.शर्मालाई नियमित काम गर्ने वातावतरण तयार गर्न माग गर्दै नागरिक सञ्जाल धरानले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाएको छ । सञ्जालको एक टोलीले उपकुलपति डा.बीपी दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, रजिष्टार तुलबहादुर श्रेष्ठ र अस्पताल निर्देशक डा.अरविन्द सिन्हालाई संयुक्तरुपमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।
अध्ययन विदा सकेर आएपछि कार्यकारिणी समितिले पूर्ववत काममा फर्काउने र जिम्मेवारी दिने निर्णयसमेत गरेपनि मातहतको विभागले जिम्मेवारी नदिएर सेवाग्रहीलाई बिशेषज्ञ सेवाबाट बञ्चित गरेकोप्रति सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्णय र निर्देशन पालना नगर्ने विभागलाई आवश्यक कार्वा  ीगर्न नसेकेकोप्रति सञ्जालले पदाधिकारीको आलोचना पनि गरेका छन् । डा.शर्माको मुद्दालाई चाडै किनारा लगाएर नियमित काममा नर्फकाए नागरिक आन्दोलनको चरणवद्ध कार्यक्रम गर्न बाध्य हुने सञ्जलले चेतावनी पनि दिएको छ ।

सञ्जालसँगको भेटमा प्रतिष्ठानका चारै पदाधिकारीहरुले डा.शर्मालाई काम गर्ने सहज वातावरण तयार गर्नकै लागि अहिलेसम्म विभागीय प्रमुखको निर्णय पर्खिएको भन्दै अब भने ठोस कदम चाल्ने प्रतिवद्धता जनाएका थिए । उपकुलपति डा.दासले अध्ययन विदा जाने बेलादेखि नै समस्या उत्पन्न भएको उल्लेख गर्दै पढेरै आइसकेकोले उनलाई सहजरुपमा काममा लगाउन आफुहरु गम्भीरतापुर्वक लागेको बताए । ‘उहाँ सक्षम व्यक्ति हुनुहुन्छ, उहाँलाई यहाँबाट छोडेर जाने वातावरण होइन, सहजरुपमा काम गर्ने वातावरण बनाउन जुटेका छौं, उहाँले यही काम गर्नुहुन्छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे