अरुबेला मौन, दशैमा मात्रै बजार अनुगमन


धरान । बजारमा खाद्यान्नमा मिसावट र उपभोक्तालाई ठगी हुने गुनासो बारम्बार आइरहन्छ । अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवं सरकारी निकाय सर्वसाधारणको त्यस्ता गुनासो नसुनेझै गर्छन् । तर, जब दशैतिहार जस्ता चाडपर्व नजिकिन थाल्छ, तब मात्रै सरकारी निकाय बजार अनुगमनमा सक्रिय हुन्छ ।
मंगलबार बजार अनुगमनको नाममा धरानमा यस्तै दृष्य दोहोरियो । अरु बेला मिसावट र कलोबजारी हुदै नहुने झै गरि कानमा तेल हालेर बस्ने सरकारी निकायहरु मंगलबार भने धरान बजारको अनुगमनमा निस्कियो । अनुगमन टोलीले केही मिठाई पसल, किराना पसलहरुबाट सडेगलेको र म्याद सकिएको खाद्य वस्तु जफत पनि गर्यो । अनुगमन टोलीले यो काममा प्रसंशा भन्दा बढी दशैंको मुखमा नाम मात्रको अनुगमन गरेको भन्दै आलोचना खेप्नु पर्यो ।

अनुगमन टोलीमा खटिएको सुनसरी उद्योग वाणिज्य संघका वाणिज्य सचिव गिरीधारी सापकोटा स्वयम पनि बजार अनुगमनप्रति सन्तुष्ट देखिएनन् । ‘मिसावट र कालोबजारी दशैंतिहारमा मात्रै हुन्छ ? अरुबेला केही पनि हुदैन र?’–अनुगमनकै क्रममा सापकोटाले उल्टै प्रश्न तेस्र्याए–‘जनतामा अनुगमन भनेको दशैंमा मात्रै हुन्छ भन्ने छाप परिसक्यो, यस्तो अनुगमन बाह्रै महिना भइरहनुपर्छ । बर्षमा एक दिन हुने अनुगमनको औचित्य नै छैन ।’ उद्योग वाणिज्य संघले सधै बजार अनुगमन गर्न आग्रह गरेपनि सरकारी निकायको कमजोरीकै कारणले निरन्तरता हुन नपाएको उनले बताए ।
धरानमा यसअघि पनि दशैं नजिकिन थालेपछि मात्रै सरकारी निकायको संयुक्त टोलीले बजार अनुगमन गर्ने गथ्र्यो । त्यसबेला मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरि सडेगलेको, म्याद सकिएको, किचन फोहोर भएको भेटिएपनि सामान जफत गर्ने र सञ्चालकलाई सचेत गराएर मात्रै  छोडिएको थियो । ती पसल तथा होटलहरुले सुधार गरे कि गरेनन् भनेर त्यसपछि भने थप अनुगमन भने हुदैन । उपभोक्ताको हित बारे विभिन्न संघसंस्था पनि सक्रिय छ । तर, ती संस्था पनि बन्द कोठामा गोष्ठी, सेमिनार गर्नमै सिमित छन् । ‘बजार अनुगमन नियमित हुनुपर्ने हो, विविध कारणले सम्भव भएको थिएन’–उपभोक्ता हित संरक्षण मञ्चका क्षेत्रीय अध्यक्ष उद्धव श्रेष्ठले भने–‘तर, अब निरन्तर हुन्छ, प्रत्येक २÷२ महिनामा बजार अनुगमन गर्ने भएका छौं ।’

चाडपर्वको बेला धेरै खाद्यान्नको किनबेच हुने हुँदा यसबेला धेरै मिसावट हुने, उपभोक्तालाई ठगी गर्ने, अखाद्य बस्तु मिसाउने गरेकोले यो समयमा अनुगमन अतिआवश्यक भएको उनको भनाई छ । उनका अनुसार मंगलबार अनुगमनको क्रममा अधिकांश पेय पदार्थ म्याद सकिएको बिक्री भइरहेको फेला परेको थियो भने होटलहरु सफा नभएको पाइएको थियो । ‘प्रायः होटलको किचन एकदमै फोहोर छ, किचन नजिकै ट्वाइलेट छ, त्यो पनि खुल्ला । त्यस्ता होटललाई सुधार गर्न कडा निर्देशन दिएका छौं’–उनले भने । आवश्यक मेशिनको अभावले गर्दा खाने तेलको गुणस्तर परीक्षण भने गर्न नसकिएको उनले बताए ।
अनुगमन टोलीका अनुसार युनिक स्वीट्समा बासी समोसा, कचौरी र रसबरी बिक्री भइरहेको फेला परेपछि त्यसलाई जफत गरेर नष्ट गरिएको छ । यस्तै, हेलिज बेकरीको किचन सफा नभएको र पसल दर्ता विना नै सञ्चालनमा रहेको भेटिएको थियो । सो पसल १५ दिनभित्र दर्ता गर्न टोलीले अल्टिमेटम दिएको छ । टोलीले केही औषधी पसलसहित धरानका डेढ दर्जन होटल, खाद्यान्न स्टोर र किराना पसल अनुगमन गरेको थियो । प्रायःपसलहरुमा मुल्य सुचि पनि राखेको भेटिएन । इलाका प्रशासन कार्यालयका प्रमुख सिताराम कार्कीको नेतृत्वमा खटिएको टोलीमा नगरपालिका, इलाका प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत थिए । ‘सबै सरकारी निकायको एकै ठाउँमा उपलब्धता हुन नसक्दा नियमित बजार अनुगमन प्रभावित भएको हो, यसलाई सुधार गर्दै जानुपर्छ’–इलाका प्रशासनका प्रमुख कार्कीले भने–‘यो अनुगमनले पनि पसल दर्ता गर्न, मुल्य सुचि राख्न, म्याद सकिएको वस्तु बिक्री नगर्न, सरसफाईमा ध्यान दिनलगायत कुरामा सचेत गराउने काम गरेको छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे