बीपी प्रतिष्ठान अस्तब्यस्त बन्दै, ओपिडी सेवासमेत ठप्प


धरान । तलब बृद्धि, महंगी तथा प्रोत्साहन भत्तालगायतको माग गर्दै सम्पुर्ण कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तब्यस्त बन्दै गएको छ । आन्दोलनरत कर्मचारीहरुले आन्दोलनलाई कडा बनाउदै बिहिबादेखि आकस्मिक र वार्ड(अन्तरंग) सेवाबाहेक सम्पुर्ण सेवाहरु ठप्प बनाएका छन् ।
सोमबार राजधानीमा सम्पन्न प्रतिष्ठानको ३६ औं सिनेट बैठकले १८ प्रतिशत तलब वृद्धि, एक हजार महंगी भत्ता, २५ प्रतिशत प्रोत्साहन भत्तालगायत मागहरु सम्बोधन नगरेको भन्दै कर्मचारीहरु सोमबारदेखि धर्नामा बसेर आन्दोलनमा छन् । सिनेट बैठकले कर्मचारीहरुको माग सम्बन्धमा सभासद एवं पूर्वउपकुलपति डा.शेखर कोइरालाको अध्यक्षतामा एक उच्चस्तरीय तलबमान आयोग गठन गरेपनि कर्मचारीहरु सन्तुष्ट भएनन् । कर्मचारी कल्याण समाजले बिहिबारदेखि ओपिडी, ल्याब, एक्स रे सेवाहरु पनि ठप्प बनाएपछि प्रतिष्ठान सुनसान भएको छ । दैनिक २ हजार ५ सयको हाराहारीले प्रतिष्ठानको ओपिडीमा उपचार गराउदै आइरहेकोमा बिहिबारदेखि भने कर्मचारीहरुले पनि यो सेवा ठप्प बनाएका हुन् । नयाँ पूर्जी नकाटे पछि विरामीहरुले उपचार गराउन पाएनन् । यस्तै ल्याब, एक्स रे सेवामा पनि कर्मचारीहरुले काम छोडेपछि सेवा ठप्प बन्यो । ‘समाजले बुधबार नै बैठक बसेर आकस्मिक र अन्तरंग सेवाबाहेकको सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका थियौं, त्यसर्थ आजदेखि ओपिडी, ल्याब, एक्स रेलगायत सबै सेवाहरु ठप्प छ’–समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने–‘व्यवस्थापन पक्षले हाम्रो मागलाई सम्बोधन नगरे यो आन्दोलन जारी रहन्छ ।’
 प्रतिष्ठानका स्टाफ नर्स, प्रशासनिक कर्मचारी, प्राविधिक, सरसफाई, हेल्परलगायत सबै कर्मचारीहरु काम छोडेर धर्नामा छन् । बिहिबारदेखि पूर्वनिर्धारित परीक्षाबाहेकका शैक्षिक कार्यक्रम(पठनपाठन) पनि बन्द भएको छ । हेल्परको अभावमा शल्यक्रियाको काम पनि प्रभावित हुन्छ भने कर्मचारी नहुदा विरामीहरुले अल्ट्रासाउण्ड, एक्स रे, रगत जाँचलगायत सेवा पाउन सकेनन् । प्रतिष्ठानका विभिन्न सेवाहरु बन्द हुँदा प्रतिष्ठानलाई दैनिक लाखौं रुपैया नोक्सानी हुन्छ । यसले विरामीहरु धरान, इटहरी, विराटनगरलगायत शहरका निजी अस्पतालहरुमा धाउन बाध्य हुन्छन्  ।
अस्पताल प्रशासनक अनुसार प्रतिष्ठानमा दैनिक आम्दानी सरदर १८ लाख हुन्छ भने कुनै दिन विरामी चापले २३ लाखसम्म पनि आम्दानी हुने गरेको तथ्यांक छ । सेवा सुचारु हुदा नयाँ र फलोअपमा आएका विरामीहरु गरी दैनिक २ हजारदेखि २५ सयले उपचार सेवा पाउछन् । प्रतिष्ठानमा पूर्वका ग्रामिण भेग र भारतबाटसमेत विरामीहरु रिफर भएर आउछन् । अहिले प्रतिष्ठानमा आकस्मिक कक्ष, गाइनो र बच्चा विभागको आकस्मिक कक्षमा मात्रै गम्भीर अवस्थाका नयाँ विरामीहरु भर्ना हुन्छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले आन्दोलनको कारण सर्वसाधारण जनताले उपचार सेवाबाट बञ्चित भएकोले काममा फर्कन कर्मचारीहरुलाई अपिल गरेका छन् । ‘जनताले सेवा पाएका छैनन्, यो गम्भीर बिषय हो । उहाँहरुकै मागलाई सम्बोधन गर्न तलबमान आयोग बनेको छ, म काममा फर्कन सबैलाई आग्रह गर्छु’–उपकुलपति दासले भने–‘सधै यस्तो अवस्था हुनु हुदैन भनेरै सिस्टम बसाउन आयोग बनेको हो, यसलाई विश्वास गर्नुपर्छ ।’ अहिलेकै स्थितिमा तलब बढाउन नसकिने पनि उनले प्रष्ट पारे ।

सरकारले गत आर्थिक बर्षमा वृद्धि गरेको १८ प्रतिशत तलब र एक हजार महंगी भत्तालगायतको माग लिएर प्रतिष्ठानका कर्मचारीहरुले यसअघि पनि पटक पटक आन्दोलन गरेका थिए । गएको जेठमा पनि समाजको नेतृत्वसँग असन्तृष्ट पक्षले करिब दुई साता लामो आन्दोलन चर्काएको थियो । अहिले असन्तुष्ट पक्षको कर्मचारी तदर्थ समिति र कर्मचारी कल्याण समाज दुवैको नेतृत्वमा एउटै माग लिएर छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन् । समाजको नेतृत्वमा जिओपिडी अघि र तदर्थ समितिको नेतृत्वमा उपकुलपति कार्यालयअघि कर्मचारीहरुले धर्ना दिइरहेका छन् । समाजले मंगलबार प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दीसमेत गरेको छ । समाजका अध्यक्ष तामाङले आन्दोलनलाई एकबद्ध गर्न असन्तुष्ट पक्षलाई कारबाही फुक्का गर्ने, रिक्त पदमा मनोनित तथा विधान संसोधन गर्नेसम्मको प्रस्ताव गरेको र सहमति नजिक पुगेको बताएका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे