इटहरीमा राष्ट्रिय कविता महोत्सव


धरान। नेपाल प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्ती ढिलाई हुदा हरेक बर्ष आयोजना हुदै आएको राष्ट्रिय कविता महोत्सव पनि यो बर्ष हुन सकेन । यसले देशभरका कवि, साहित्यकारहरु निराश हुनु स्वभाविक थियो । तर, यसको क्षतिपूर्ति कवि, साहित्यकारहरुले इटहरीमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७१ बाट पाए ।
सन्दर्भ, साहित्य, संगीत तथा कलाको क्षेत्रमा सक्रिय संस्था कलरवले इटहरीमा आयोजना गरेको दुई दिने राष्ट्रिय कविता महोत्सवको हो । राज्यस्तरमा कविता महोत्सव नभएर ओझेलमा परेका युवा कवि एवं साहित्यकारहरुलाई कलरवले मञ्च प्रदान गरेर सम्मानित गर्यो । प्रमुख अतिथि रहेका प्रतिष्ठानका पूर्वकुलपति एवं साहित्यकार वैरागी काइलाले त घोषणै गरिदिए,–‘एकेडेमीले राष्ट्रिय कविता महोत्सव गर्न सकेन, तर यसको क्षतिपूर्ति कलरवले दियो । यो कार्यक्रम राज्यले गर्नुपथ्र्यो, कलरवले ऐतिहासिक काम गर्यो ।’

हुन पनि कविता राष्ट्रिय कविता महोत्सवमा भाग लिने र पुरस्कार जित्ने उत्कट चाहना नवोदित एवं युवा कवि तथा साहित्यकारहरुको हुन्छ । कविता महोत्सवले ती युवा स्रष्टाहरुको चाहना मात्रै पुरा गर्दैन, अग्रज साहित्यकारहरुसँग साक्षात्कार गराउने र साहित्य क्षेत्रमा स्थापित हुने अवसर पनि प्रदान गर्छ । दुई दिने महोत्सवको पहिलो दिन शनिबार इटहरीमा युवा स्रष्टाहरुले यस्तै अवसर पाए । महोत्सवको लागि देशभरबाट २ सयको हाराहारीमा कविता प्राप्त भएको थियो । ती मध्ये आयोजकले उत्कृष्ट ३० कवितालाई छनौट गरेर निर्णायक मण्डललाई बुझाएको थियो । निर्णायक समितिले पनि ती मध्येबाट पनि १५ वटा कविता छनौट गरेको थियो । ती कविता शनिबार होटल रिजाल भिजनमा वाचन गरिएर ४ कविहरु पुरस्कृत पनि भए ।
महोत्सवमा मकवानपुर हेटौडाका कवि छवि अनित्यको हकदाबी शिर्षकको कविताले प्रथम पुरस्कार जित्यो भने खोटाङका अनिल किरातीको धरहरा शिर्षकको कविताले दोस्रो पुरस्कार जित्यो । यस्तै, झापाका केशव भटराईको बिर्सिनेलाई सम्झिएर शिर्षकको कविता र कैलाली जिल्लाका मिन थापाको गाउँ र दन्त्य कथा शिर्षकको कविताले तेस्रो पुरस्कार जित्यो । उनीहरुले क्रमश ः १० हजार, ६ हजार र ४÷४ हजार नगद, प्रमाणपत्र पाए । निर्णायक मण्डलमा कवि एवं साहित्यकार तीर्थ श्रेष्ठ, भुपाल राई, मनु मञ्जिल र कार्यक्रम संयोजक हेमन यात्री थिए ।

पन्ध्र जना कविहरुले कविता वाचन गरेसँगै कलाकारहरुले त्यही भावमा पेन्टिङ पनि बनाएका थिए । ती पेन्टिङ पनि सम्बन्धित कविहरुलाई नै प्रदान गरिएको कार्यक्रमका संयोजक कवि हेमन यात्रीले जानकारी दिए । उनका अनुसार शनिबार नेपाल र भारतबाट सहभागी ४ दर्जन अप्रतियोगि कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए । कविताको प्रर्वद्धन गर्न, युवा प्रतिभाको खोजी र सम्मान गर्ने उद्देश्यले आयोजित कविता महोत्सव अपेक्षा अनुरुप सफल भएको संयोजक हेमन यात्रीले बताए । ‘देशभरबाट २ सय बढी प्रतिभाशाली कविहरुको कविता प्राप्त भयो, हामीले उहाँहरुलाई मञ्च दियौं । अबको १०, १५ बर्षपछि यी कविहरु नै मुलधारमा स्थापित हुनेछन्’–उनले भने ।


महोत्सवको दोस्रो दिन(आइतबार) साहित्यको विविध पक्षमा बहस तथा अन्र्तक्रिया भएको थियो । होटल मेचीकालीमा आयोजित कार्यक्रममा रामजी तिम्सिनाले प्रस्तुत गरेको साहित्यमा नेपालः इन्द्रेणी साहित्यको प्रस्तावना बिषयक कार्यपत्रमाथि बहस भयो । यस्तै, नेपाली कवितामा साँस्कृतिक चेतना बिषयमाथि बम देवान, राजन मुकारुङ, भुपाल राई र मिश्र बैजयन्तीबीच भएको बहसलाई स्वप्नील स्मृतिले सहजीकरण गरे । यस्तै, आगतमा नेपाली कविताको बाटो बिषयमा साहित्यकार श्यामल, मनु मञ्जिल, भुपिन र राजा पुनियानी वक्ताकारुपमा थिए भने महेश पौड्यालले सहजीकरण गरेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे