खानेपानी आयोजना धरानको हितमा: एमाले
धरान । एसियाली विकास बैंकको ऋण एवं अनुदानमा सञ्चालित एकीकृत शहरी विकास परियोजनाअन्र्तगतको खानेपानी आयोजना धरान र धरानबासीको हितमा भएको नेकपा एमालेले ठहर गरेको छ । आयोजनाको अध्ययन, विश्लेषण तथा सुझाव प्रतिवेदन तयार गर्न करिब चार महिना अघि गठित समितिको प्रतिवेदनसँगै एमाले नगर कमिटिले मंगलबार खानेपानी आयोजनाबारे यस्तो धारणा सार्वजनिक गरेको हो ।
‘हाम्रो अध्ययनले देखाएको निष्कर्षअनुसार यो आयोजना धरान र धरानबासीको हितमा देखिन्छ, यो आयोजनाको विकल्पमा यस्तै लागतमा तयार हुनसक्ने अर्को कुनै आयोजना हाम्रो अध्ययनले देखिएन’–एमाले नगर अध्यक्ष तारा सुब्बाले भने । धरान नेपालको पुरानो एवं सुन्दर शहर भए पनि खानेपानी अभावकै कारण विकास, निर्माणमा पछि परेकोले आयोजना कार्यान्वयन हुनुपर्नेमा उनले जोडदिए । धरानको खानेपानी समस्या हल गर्ने लक्ष्यसहित करिब सवा दुई अर्बको परियोजना धरानमा आएपछि यसको पक्ष, विपक्षमा चर्को आवाज उठ्दै आइरहेको छ । विभिन्न राजनीतिक दलहरुले आयोजनाबारे धारणा सार्वजनिक गरिसके पनि एमाले भने अहिलेसम्म मौन थियो । आयोजनाको आलोचक पक्षले चतरास्थित सप्तकोशी नदीबाटै पानी ल्याउनुपर्ने आवाज उठाउदै आएको छ ।
विवाद चर्कदै गएपछि गत जेठ ३० गते एमाले नगर कमिटिको सचिवालय वैठकले क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएर अध्ययन, विश्लेषण र प्रतिवेदन तयार गर्ने जिम्मा लगाएको थियो । समितिले तयार पारेको नौ पृष्ठ लामो प्रतिवेदनसँगै एमाले नगर कमिटिको धारणा पनि मंगलबार सार्वजनिक गरिएको हो । यो परियोजना केन्द्र सरकारबाट धरानबासीले पाउने मध्ये अहिलेसम्मकै ठुलो परियोजना भएको र आयोजना धरानबासीको हितमा भएको प्रतिवेदनमा उल्लेख छ । ‘यो परियोजनाको सफलता वा असफलता धरानको भाग्य र भविष्यसँग जोडिएको छ, तसर्थ विभिन्न राजनीतिक दलहरुको नामबाट परियोजनाको बारेमा विरोधका लागि विरोध गर्नुभन्दा पनि यो परियोजनाको लागतलाई कसरी घटाउन सकिन्छ र कसरी पारदर्शी बनाउन सकिन्छ भन्ने सकरात्मक सुझाव दिदा उपयुक्त हुन्छ’–प्रतिवेदनमा उल्लेख छ । अध्ययनको क्रममा आयोजनामा लाग्ने लागतको ठुलो अंश दात्तृ निकायले लैजाने, चारकोशे जगलको भुमिगत पानी श्रोत घट्ने हुँदा दीर्घकालीन हुन नसक्ने, मासिक महसुल १ सय १० बाट बढेर एक हजार पुग्ने, दीर्घकालीन श्रोत हुनसक्ने चतरास्थित सप्तकोशीको पानी ९० करोडमै पुरा गर्न सकिनेलगायत भ्रम र हल्ला फैलाइएको पाइएको समिति संंयोजक एवं एमाले क्षेत्रीय अध्यक्ष राईले बताए ।

समितिले पानीको स्रोतसम्बन्धमा एकल धारा, दुई धारे, तीन धारे, खत्री धारा, तुर्केको संरक्षण र व्यवस्थापन गर्न, पानीको चुहावटलाई न्युनिकरण गर्न, स्थानीय समुदायको पहलमा विभिन्न श्रोतहरुबाट संकन गरि वितरण भइरहेको पानीलाई संरक्षण र व्यवस्थापन गर्न सुझाव दिएको छ । यस्तै, आयोजना सम्बन्धमा भने आयोजनाको लागतलाई कम गर्न अझै प्रयास गर्नुपर्ने, आयोजनाको पारदर्शीताको लागि सामाजिक परीक्षण, सार्वजनिक सुनुवाईका साथै ५० हजार भन्दा माथिको खर्च विवरणलाई वेभसाइटमा राख्न पनि सुझाव दिएको छ । यस्तै, आयोजनालाई सहयोग गर्न तथा रेखदेख गर्न धरानमा रहेको लब्धप्रतिष्ठित समाजसेवी, बुद्धिजिवी र बिषय विज्ञहरु रहेको सहयोग समिति गठन गर्न र धरानस्थित सम्पुर्ण राजनीतिक दलहरुको सहभागिता रहेको अनुगमन समिति गठन गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ ।
Comments
Post a Comment