ग्याँस नपाएर सर्वसाधारणलाई सास्ती


धरान । दशैं नजिकिदै गर्दा सर्वसाधारण उपभोक्ताहरुले खाना पकाउने एलपि ग्याँसहजरुपमा पाउन सकेका छैनन् । करिब एक महिनादेखि ग्याँस अभावले घरमा खाना पकाउन निक्कै हैरानी भोग्नुपरिरहेको सर्वसाधारणहरुको गुनासो छ ।
उपभोक्ताहरुले एउटा सिलिण्डर खरीद गर्नको दुई साता भन्दा बढी पालो पर्खन बाध्य छन् । चाडपर्व नजिकिदै गर्दा बिक्रेताहरुले कृत्रिम अभाव सृर्जना गरेर कालोबजारी गरिरहेको उपभोक्ताहरुको आशंका छ । ‘दुई साता भइसक्यो ग्याँस नपाएको । दाउरा बालेर खाना पकाउनु परेको छ’–धरान ११ का गणेश राईले भने–‘चाडपर्व शुरु हुन लागेपछि ग्याँस पाउन छोड्यो, धेरै पैसा तिर्दा पाउछ भन्ने सुन्छुँ ।’ तर, ग्याँस बिक्रेताहरु भने भारतबाट आपूर्ति हुने ग्याँस कटौती भएको दाबी छ । साथै, महोत्तरीमा रातु खोलाले पुललाई क्षति पुर्याएर आवतजावत अवरुद्ध हुदाँ पनि आपूर्तिमा समस्या भएको उनीहरु बताउछन् ।

कतिपय उपभोक्ताहरुले किराना पसलहरुबाट बढी मुल्य तिरेर ग्याँस लगेका पनि छन् । ती व्यापारीहरुले आफ्नो प्रतिसिलिण्डर ५० रुपैया बढी मुल्य लिने गरेका छन् । ग्याँसका डिलरहरुबाट खुद्रा पसले एवं किराना व्यापारीहरुले धेरै संख्यामा ग्याँस लैजादा पनि उपभोक्ताहरुले नपाउने गुनासो छ । धरानमा कोशी, प्रिमा, सुविधा, मनोज, रिजाल, कामाक्षा, त्रिशक्तीललगायत दर्जन जति ग्याँसका डिलर छन् । ती सबै बिक्रेताहरुले आफ्ना उपभोक्ताहरुलाई ग्याँस उपलब्ध गराउन सकेका छैनन् । कम्तीमा दुई हप्तामा कम्पनीको गाडीमा ग्याँस आउछ तर, एकैछिनमा सकिन्छ । त्यतिबेला पनि माग भन्दा न्युन ग्याँस आउने भएकोले पालोमा रहेका सबै उपभोक्ताहरुले पाउदैनन् ।
‘डिष्ट्रिब्युटर्सले कृत्रिम अभाव सृर्जना गरेकै छैन, कम्पनीको गाडीमा आएको बेला तत्कालै गाडीबाटै बिक्री भइहाल्छ’–प्रिमा ग्याँसका बिक्रेता राजन खम्बुले भने–‘कम्पनीबाटै ग्यास एकदमै कम आइरहेको छ, उपभोक्तालाई थाम्न मुश्किल भइसक्यो ।’ उनका अनुसार १२ सय उपभोक्ता ग्याँसको लाइनमा हुँदा एक साता, दुई सातामा ४ सय सिलिण्डर मात्रै ग्याँस आउछ । धरानमा मासिक २५ देखि ३० हजार सिलिण्डर ग्याँस खपत हुने अनुमान छ । तर, अहिले ४० प्रतिशत मात्रै आपूर्ति भइरहेको खम्बुले बताए ।


कोशी ग्याँसको बिक्रेता शुलभ सप्लायर्सकी शुभद्र बरालले पनि भारतबाट ग्याँस आपूर्ति कटौती भएकोले माग धान्न नसकिएको बताइन् । ‘नेपालले पैसा नतिरेर भारतले कटौती गरेको हो भनेर कम्पनीले भन्छ, रातु पुल धसिएर बाटो बन्द हुँदा पनि ग्याँस यता आउन पाएन’–उनले भनिन् । मनोज ग्याँसका बिक्रेता गोपाल मास्के कम्पनीले नै ग्याँस माग वमोजिम नदिएको दाबी गर्दै डिलरहरुले लुकाएको आरोप सत्य नभएको बताउछन् । ‘कम्पनीले ग्याँस दिए पो हामीले लुकाउनु ? भारतबाटै ग्याँस कम दिइरहेको छ रे’–उनले भने ।
चाडपर्व नजिकिदै गर्दा ग्याँसको माग झनै बढ्छ । यसबेला सर्वसाधारण उपभोक्ताहरुले पनि घरमा ग्याँस स्टक राख्छन् । तर, यसैबेला ग्याँस अभाव हुदा कलोबजारी गर्ने वातावरण सृर्जना हुने भएकोले सरकारले समस्या समाधानको लागि तत्काल पहल गर्नुपर्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘माग वमोजिमको ग्याँस आयल निगमले आपूर्ति नगरेकोले दबाब स्वरुप ग्याँस कम्पनीहरुले पनि निमगबाट कम उठाइरहेको भन्ने कुरा आएको छ, चाडपर्व नजिकिदैछ यस्तो बेला राज्यले सहज आपूर्तिको व्यवस्था गराउनुपर्छ’–उनले भने–‘निगमले माग वमोजिम ग्याँस आपूर्ति नगर्ने हो भने बजारमा अभाव हुन्छ र यस्तै बेला कालोबजारी पनि हुन्छ, सरकारले यस्तो वातावरण सृर्जना हुन दिनुहुदैन ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे