एकल महिला समुहमा जयन्ती लाखे


धरान । मानवअधिकारको लागि महिला एकल महिला समुह सुनसरीको चौथो जिल्ला सम्मेलनले जयन्ती लाखेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । धरान १७ स्थित समुहको छहारी भवनमा आइतबार सम्पन्न सम्मेलनले लाखेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा इन्दु श्रेष्ठ, सचिवमा सानुमैया शाही र कोषाध्यक्षमा दिब्या राई चयन भएकी छिन् । यस्तै, कार्यसमिति सदस्यहरुमा मधेशाकी रुक्मणी कोइराला, प्रकाशपुरकी गंगा थापा, इटहरीकी पवित्रा वराल र धरानबाट उर्मिला प्रधान, अमृता रामदान र शान्ता अधिकारी चयन भएकी छिन् । कार्यसमितिको कार्यकाल दुई बर्षको रहने प्रावधान छ । यसैगरि, समुहको सल्लाहकारमा सरला कायस्थ, पूर्वअध्यक्ष शुसिला गेलाल र कानुनी सल्लाहकारमा अधिवक्ता दर्शन राई रहेका छन् ।


सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं समाजसेवी सरला कायस्थले संस्थाले एकल महिलाहरुलाई संगठित गरेर आफ्नै भवनमा छहारी दिन सफल भएको भन्दै प्रसंसा गरिन् । साथै, उनले हिंसा पीडित एकल महिलाहरुलाई सेल्टर दिनको लागि भवन निर्माण पुरा गर्न आफुहरुको पनि सक्दो सहयोग हुने वचन दिएकी थिइन् । महिला सञ्जाल धरानकी अध्यक्ष मिना पुलामीले समुहले रातो अभियान शुरु गरेपछि नजिकिएको खुलाउदै संस्थाको काम तथा गतिविधिबाट आफु प्रभावित भएको बताइन् । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघकी जिल्ला अध्यक्ष कल्पना शेर्पाले एकल महिलाहरुको अथक प्रयासले बनेको संस्थाको भवन सबै महिलाहरुको र धरानकै सम्पत्ति भएको बताइन् ।


बन्दसत्रमा समुहकी सचिव सानुमैया शाहीले कार्यकालको प्रगति विवरण पेश गरेकी थिइन् भने कार्यक्रम अधिकृत इन्द्रकला राईले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । सम्मेलनमा उत्कृष्ट समुहकोरुपमा इटहरी नगर समितिलाई प्रसंसा पत्र प्रदान गरिएको थियो भने पूर्वअध्यक्ष शुसिला गेलाललाई पनि कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा समुहकी नवनिर्वाचित अध्यक्ष जयन्ती लाखेले भवन निर्माणको क्रममा लागेको ऋण तिर्नको लागि एक लाख रुपैया आर्थिक सहयोग गरिन् । समुहको छहारी भवन निर्माण गर्दा पाँच लाख ऋण लागेको समुहले जनाएको छ । यस्तै, धरानका पाँच समाजसेवी महिलाहरुले छात्रवृत्तिको लागि आर्थिक सहयोग प्रदान गरेको समुहले जनाएको छ । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि सरला कायस्थ, मिना पुलामी, शिला बज्रचार्य, उर्मिला प्रधान र सुनिता केसी राईले जनही एक हजार रुपैया छात्रवृत्तिस्वरुप प्रदान गरेको हो ।


समुहले एकल महिला(विधुवा)हरुलाई संगठित गराउदै हकअधिकारको लागि वकालत गर्दै आइरहेको छ । साथै, एकल महिलाहरुको आर्थिक, समाजिक विकासको साथै उनीहरुको छोराछोरीको लागि छात्रवृत्तिको पहल र वितरण गरिरहेको संस्थाले जनाएको छ । समुहमा हालसम्म पन्ध्र सयको हाराहारीमा एकल महिलाहरु आवद्ध भएका छन् । आर्थिक स्रोत जुटाएर बर्षेनी एकल महिलाका कम्तीमा १० जना छोराछोरीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्दै आइरहेको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे