आँखा पाक्ने सरुवा रोगको प्रकोप


धरान । एक साताअघि इटहरी ५ का पर्शुराम बस्नेतका छोरा प्रदिप स्कुलबाट आँखा पाक्ने रोगले संक्रमित भएर घर फर्किए । आँखा रातो हुने, बिहान उठ्दा आँखा कचेराले भरिएर खोल्नै नसक्ने समस्याले उनको छोरालाई सतायो । तीन दिनसम्म छोरालाई साह्रै सताएको यो रोगले बिस्तारै परिवारका अन्य सदस्यलाई पनि गाँज्यो । प्रदिपबाटै आँखा पाक्ने रोग पर्शुराम, श्रीमति देवा र छोरी प्रतिमालाई पनि सर्यो ।
नजिकैको मेडिकलबाट औषधि ल्याएर आँखामा लगाइरहेका बस्नेत परिवारको आँखा पाक्ने रोग अझै पुर्ण निको भइसकेको छैन । चिकित्सकीय भाषामा ‘भाइरल कञ्जङ्टिभाइटिज’ भनिने यो सरुवा रोगबाट अहिले पूर्वाञ्चलबासी पीडित छन् । बच्चादेखि वृद्धसम्म यो रोगबाट संक्रमित छन् । पूर्वका अस्पतालहरुमा आँखाको उपचार गर्न आउने विरामीहरुमध्ये धेरैमा अहिले यही समस्या देखिएको छ । आँखा पाक्ने रोगलाई सामान्य ठानेर जाँच नगराई औषधी प्रयोग गर्नु घातक हुने भएकोले अस्पतालमा जाँच गराउन सम्बन्धित चिकित्सकले सुझाएका छन् ।


यो रोगबाट सबैभन्दा धेरै स्कुले बच्चाहरु संक्रमित छन् । धरान १८ स्थित डिपोट उच्चमाविका प्राचार्य राजकुमार राईका अनुसार आँखा पाक्ने सरुवा रोग संक्रमित भएका होस्टलमा बस्ने र घरबाट धाउने विद्यार्थीहरुलाई ४÷५ दिनको लागि विदा दिइने गरेको छ । ‘डेढ सय जति विद्यार्थीहरुलाई यो रोग संक्रिमत देखिएको थियो, केही कर्मचारीहरुमा पनि थियो, अरुलाई नसरोस् भनेर विदा दियौं’–प्राचार्य राईले भने । अहिले भने संक्रमण कम हुदै गएको उनले सुनाए ।
चिकित्सकका अनुसार करिब तीना सातादेखि यो सरुवा रोगको प्रकोप फैलिएको हो । एकअर्कामा धेरै हेलमेल गर्ने, एकअर्काको सामान चलाउने गर्नाले बालबच्चामा एकबाट अर्कोमा चाडो यो रोग सर्ने चिकित्सकको भनाई छ । संक्रमित बच्चाबाट घरमा सावधानी नपनाउदा अभिभावक पनि संक्रमित हुन्छन् । ‘यो मौसम परिवर्तनको बेला देखिने सरुवा रोग हो, यसलाई भाइरल कञ्जङ्टिभाइटिज भन्छौं’–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागकी प्रमुख डा.पुनम लाभाजुले भनिन्–‘आँखा पाकेको पनि हुनसक्छ वा अरु पनि कुनै समस्या हुनसक्छ, त्यसैले अस्पतालमा जाँच गराएर मात्रै औषधि लिनुपर्छ, सामान्य ठानेर क्लिनिक, मेडिकलबाट औषधी लिदा जटिल हुनसक्छ ।’


उनका अनुसार अहिले प्रतिष्ठानको ओपिडीमा आँखा जचाउन आउने ७० देखि ७५ प्रतिशतमा यो सरुवा रोगको समस्या लिएर आउने छन् । यो रोगबाट संक्रमित हुँदा आँखा रातो हुने, आँखामा घोचे जस्तो, बिझाए जस्तो र पानी आएजस्तो हुन्छ । यस्तो बेला भाइरल कञ्जङ्टिभाइटिज, प्रोटोजेल, एलर्सी, ब्याक्टेलियल कञ्जङ्टिभाइटिज पनि भएको हुनसक्छ । त्यसैले शुरुमा नै अस्पतालमा गएर जाँच गराएपछि मात्रै औषधी लिनुपर्ने डा. लाभाजुको सुझाव छ । ‘शुरुमा नै राम्रो उपचार गर्नुपर्छ, नत्र कोर्नियालाई छुन पनि सक्छ, त्यसो भयो भने कोर्नियामा दाग हुन्छ र अल्सर पनि हुनसक्छ’–उनले भनिन्–‘आँखाको नानीमा इन्फेक्सन भयो भने ज्योति गुम्न पनि सक्छ, त्यसैले आँखा जस्तो संवेदनशील अंगप्रति शुरुमा सचेत हुनैपर्छ ।’
चिकित्सकका अनुसार कुनै जटिलता देखा परेन भने पनि यो प्रकोपबाट मुक्ति पाउन २ साता लाग्नसक्छ । यसबाट जोगिनको लागि संक्रमितले प्रयोग गर्ने रुमाललगायत सरसामानहरु अरुले छुने वा प्रयोग गर्न नहुने चिकित्सकको सुझाव छ । आँखा पाक्ने सरुवा रोग बर्षेनी देखिने गरिएपनि करिब पाँच बर्षअघि भने आँखा रातो भएर दृष्टि कम हुने ‘अडिनो भाइरल कञ्जङ्टिभाइटिज’ जटिल समस्या देखिएको थियो । अहिलेको प्रकोप भने त्यस्तो खतरा भने नरहेको चिकित्सकको भनाई छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे