आलुको भाउ एक दशककै उच्च, थोकमा प्रतिकिलो ६० रुपैया


धरान । तरकारीको राजा मानिने आलुको भाउ एक दशक यताकै उच्चरुपमा वृद्धि भएको छ । आलुमा परनिर्भरता हुदै गएकोले मुल्य अझै केही समयसम्म तल नझर्ने व्यापारीहरु बताउछन् । धरान १३ स्थित कृर्षि बजारस्थलका अनुसार अहिले भुटानबाट आयात गरिएको रातो नयाँ आलुको थोक मुल्य नै प्रतिकेजी ६० रुपैयामा किनबेच भइरहेको छ ।
यो मुल्य आर्थिक बर्ष २०६०/२०६१ यताकै उच्च हो । यो आलुको मुल्य खुद्रा बजारमा प्रतिकेजी कम्तीमा ६५ रुपैया छ । औसत नेपालीको आम्दानीलाई हेर्दा आलु किनेर खान सक्ने अवस्था नभएको स्वयम् व्यापारीहरु बताउछन् । ‘भदौसम्म पहाडी जिल्लाको आलु आएकोले थोक मुल्य ५०/५५ रुपैया थियो । अहिले भुटानबाट मात्रै नयाँ आलु आइरहेकोले दाम बढेको हो’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले भने ।
नयाँ आलुको प्रमुख स्रोत रहेको भारतको पश्चिम वंगाल सरकारले निर्यातमा रोक लगाएपछि अभावले भाउ वृद्धि भएको व्यापारीहरुको भनाई छ । पश्चिम वंगाल सरकारले आफ्नै जनतलाई राहत दिलाउन एक महिनाअघिदेखि आलु निर्यातमा रोक लगाएको थियो । त्यही समयमा पहाडी क्षेत्रबाट पनि आलु आउन छोडेपछि अहिले भुटानको मात्रै आलु आयात भइरहेको छ । ‘एक महिनादेखि पश्चिम वंगाल सरकारले आलु नेपाल ल्याउन रोकेकोले भाउ घटेको हो, मंसिरसम्म भाउ घट्ने छाटकाट छैन’–थोक बिक्रेता विरेन्द्र चौधरीले भने । किसान र व्यापारीहरुको चर्को दबाब पछि पश्चिम वंगाल सरकारले आलुको निर्यात खुला गरेपनि भाउ अहिलेकै स्थितिमा कायम रहने उनले बताए ।

बजारस्थलका अनुसार पुरानो सेतो आलुको थोक मुल्य प्रतिकेजी ३७/३८ रुपैया र पुरानो रातो आलुको थोक मुल्य ४२÷४४ रुपैया छ । पुरानो आलु पनि बिउ राख्ने बेलामा मात्रै निकाल्ने भन्दै ठुला व्यापारीहरुले बजारमा नल्याउदा अभाव सृर्जना भएर भाउ वृद्धि भएको हुनसक्ने व्यावस्थापक भटराईको अनुमान छ । थोक बिक्रेताहरुमा पुरानो आलु पनि पर्याप्त छैन । यसअघि गत आर्थिक बर्षमा आलुको मुल्य प्रतिकेजी ५०/५२ रुपैया पुगेको थियो भने एक महिनाअघि ५६ रुपैयासम्म थोक मुल्य थियो ।
बजारस्थलका अनुसार यहाँ दैनिक ३५ टन आलुको कारोबार भइरहेको छ भने चाडबाडमा बढेर ४० टनसम्मको कारोबार हुन्छ । यहाँ आउने आलु ६० प्रतिशत भारत र १० प्रतिशत भुटानको हुन्छ भने ३० प्रतिशत मात्रै स्वदेशी उत्पादन छ । भारतबाट आउने आलुमध्ये पनि ३० प्रतिशत बढी पश्चिम बंगालबाट आयात हुन्छ भने उत्तरप्रदेशको कानपुरबाट पुरानो रातो आलु आउछ । स्वदेशी उत्पादन आलु २० प्रतिशत तराई र १० प्रतिशत मात्रै पहाडी जिल्लाले ओगटेको छ । बजारस्थलका अनुसार गत आर्थिक बर्षमा यहाँबाट ४१ करोड १९ लाख बराबारको १२ हजार ६ सय ७४ मेट्रिक टन आलुको कारोबार भएको थियो । त्यसमध्ये २८ करोड ८३ लाख रुपैया भारत र भुटानबाट आलु आयात गर्दा बाहिरिएको भटराई बताउछन् । ‘आलुलाई तरकारीको राजा मानिन्छ, खेती लगाउन धेरै समस्या पनि छैन, तर हामी आलुमा दिनप्रतिदिन परनिर्भर भइरहेका छौं । ठुलो पूजी विदेश गइरहेको छ’–बजारस्थलका व्यवस्थापक भटराई भन्छन्–‘सरकारले चाडै आलु अभियान वा किसानलाई अनुदान, मल, बिउलगायत दिएर प्रोत्साहन नगरे पुर्णरुपमा विदेशमा भर पर्नुपर्ने हुन्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे