ढुंगा,गिटी र बालुवासँगै इँटाको मुल्यबृद्धिले सर्वसाधारणलाई मार


धरान । सरकारले खोलाबाट गिटीढुंगा र बालुवा निकासीमा प्रतिबन्ध लगाएको मौकामा भाउ बढाएपछि सर्वसाधरणले उच्च मुल्य तिर्नु परिरहेको छ । पछिल्लो समय भने सर्वसाधारणहरु घर बनाउने इटाको पनि मुल्य वृद्धिको मारमा छन् । इटाका डिलर एवं बिक्रेताहरुका अनुसार पछिल्लो समय उद्योगहरुले नै इटाको मुल्य बढाएका हुन् । पूर्वमा मोरङ र सुनसरीका करिब डेढ दर्जन उद्योग बन्द भएपछि माग बमोजिम उत्पादन हुन नसकेको र उद्योगले नै मुल्य बढाएको उनीहरुको भनाई छ ।
एक बिक्रेताका अनुसार पछिल्लो समय प्रतिट्रक इँटामा एक हजार रुपैया बृद्धि भएको छ भने करिब एक बर्ष यता इटाको मुल्य १० हजारभन्दा बढीले प्रतिट्रक वृद्धि भइसकेको छ । ‘इटा भट्टाबाट नै मुल्य बढेको हो, एक महिनामा नै एक हजार बढिसक्यो’–नाम उल्लेख नगर्ने सर्तमा एक व्यावसायीले भने–‘बर्षदिन अघि प्रतिट्रक ३२, ३३ हजार रुपैया पर्ने इटा अहिले ४४, ४५ हजार रुपैया छ ।’
सर्वसाधारणहरुले एक ट्रक इटा खरीद गर्दा २ हजार ५ सय वटा इटा पाउछन् । बिक्रेताहरुका अनुसार हिजोआज सइपाक भनिने १ नम्बर इटाको मुल्य प्रतिट्रक ४३ हजार रुपैया छ भने कडापाक भनिने इटाको मुल्य ४६ हजार रुपैया पुगेको छ । यस्तै, सबैभन्दा सस्तो ३ नम्बर इटाको मुल्य ३ हजार ५ सय रुपैया प्रतिट्रक रहेको छ । हिजोआज बर्षाको समयमा उत्पादन नहुने भएकोले पनि भाउ बढेको बिक्रेताहरुको भनाई छ । यद्यपी, इटाका बिक्रेताहरु कोही पनि भाउ वृद्धिबारे परिचय खुलाएर बोल्न भने मान्दैनन् । व्यावसायीहरुका अनुसार सुनसरी र मोङमा करिब ८० वटा इटा उद्योग सञ्चालनमा छ । केही उद्योगहरु मजदुर र कोइला अभावको कारणले बन्द हुन पुगेको हो ।
अहिले बर्खाको समय भएकोले उत्पादन बन्द भएको कारणले पनि भाउ बढेको एलबिबि इटा भट्टाका सञ्चालक भरत कडेलले बताए । ‘मुख्य कुरा त भारतबाट कच्चा पदार्थ कोइला ल्याउनै गाह्रो छ, नेपालीहरु पनि काम गर्न मान्दैनन्, मजदुरको पनि अभाव छ’–कँडेलले भने–‘यिनै विविध कारणले उत्पादन कम छ, जसले गर्दा भाउ बढेको हो ।’ कार्तिक पछि भने इँटा उद्योगहरु सञ्चालनमा आउने उनले बताए । उद्योगी कँडलेका अनुसार अनुसार उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ कोइला भारतबाट नै ल्याउनुपर्छ । कोइला भारतबाट ल्याउन नपाए तेस्रो मुलुकबाट आयात गर्नुपर्छ खर्च बढ्ने हुँदा यहाँ इटाको भाउ पनि बृद्धि हुन्छ । यस्तै, नेपाली मजदुरहरुले काम गर्न नमान्ने भएकोले भारतीय मजदुरहरुलाई काम गराउन ल्याउनुपर्छ । अहिले सञ्चालनमा रहेका इटा भट्टाहरुमा ८५ प्रतिशत भारतीय मजदुर रहेको कँडेलले बताए । ‘भारतबाट कोइला र मजदुर ल्याउन पाएनौं भने त झनै खर्च बढ्छ, त्यस्तो बेला भाउ बढ्नु स्वभाविकै हो नि’–उनले भने ।
..............

                                  ढुंगा,गिटी र बालुवामा पनि चर्को मुल्यवृद्धि

वातावरणलाई प्रत्यक्ष असर पर्ने गरी खोलाबाट जथाभावीरुपमा ढुंगागिटी र बालुवा निकाल्न थालेको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि मुल्य आकासिएर सर्वसाधारणहरु महंगीको मार परेका छन् । प्रतिबन्धको कारणले ढुंगागिटी र बालुवाको अभाव भएको मौकामा व्यावसायीहरुले आफुसँग स्टक रहेको ढुंगा,गिटी र बालुवालाई चर्को मुल्य बढाएर बिक्री गरिरहेका छन् । गत बैशाख महिनादेखि अभाव शुरु भएकोले मुल्य पनि बृद्धि भएको एक बिक्रेताले बताए । घर एवं भौतिक संरचना निर्माण गर्न अतिआवश्यक इँटा, ढुंगा,गिटी र बालुवाको चर्को माग छ ।
बिक्रेताहरुका अनुसार असार महिनाअघि प्रतिट्रिपर बालुवा ११ हजार रुपैयामा सर्वसाधारणहरुले पाउथे । हिजोआज यसको भाउ बढेर १७ हजार रुपैया पुगिसकेको छ । गिटी प्रतिट्रिपर १४ हजार रुपैयाबाट बढेर १७ हजार नै पुगेको छ भने ढुंगा प्रतिट्रक ५ हजार २ सय रुपैयामा पाउदै आएकोमा अहिले भने प्रतिट्रिपर ३ हजार रुपैया पुगेको छ । यस्तै, ढुंगाको मुल्य प्रतिट्रक ६ हजार रुपैयाबाट बढेर अहिले कम्तीमा ६ हजार ५ सय रुपैयामा किनबेच भइरहेको व्यावसायीहरु बताउछन् । ‘भाउ बढेको बढ्यै छ, तर पनि चाहेको सामान पाउन सकिदैन । घर बनाउनेलाई त ज्यादै मुश्किल छ’–एक बिक्रेता भन्छन् ।
जिल्ला विकास समितिले बर्षेनी साउन महिनामा खोलाहरु ठेक्कामा लगाउदै आएको थियो । तर, यो बर्ष सरकारले नै प्रतिबन्ध लगाएको कारणले गर्दा खोलाबाट ढुंगा,गिटी र बालुवा निकासी हुन सकेको छैन । त्यही मौकामा व्यावसायीहरुले चर्को मुल्य बढाएका हुन् । खोला ठेक्का लगाउनुअघि वातावरणीय प्रभाव मुल्यांकन गराएपनि ठेकेदारले उक्त प्रतिवेदन वमोजिम ढुंगागिटी र वालुवा झिक्दैनन् भने सरोकारवाला निकाय पनि अनुगमन गर्दैन । जसको परिणाम बर्षायाममा कटान हुने, भुक्षय एवं पहिरो जानेलगायत प्राकृत्तिक विपत्ति निम्तिएर धनजनको क्षति हुने गर्छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे