एउटै मागमा बीपीका कर्मचारीहरुको दुई गुटमा आन्दोलन


धरान । एउटै मागलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु विभाजित भई छुट्टा छुट्टैरुपमा आन्दोलनमा उत्रिएका छन् । गएको जेठ दोस्रो सातादेखि विभाजित बनेको प्रतिष्ठानका कर्मचारीहरु अहिले पनि त्यही मागलाई लिएर विभाजितरुपमा आन्दोलनमा छन् ।
कर्मचारी कल्याण समाजको नेतृत्वमा जिओपिडी भवनअघि कर्मचारीहरुको एक समुह धर्नामा बसेका छन् भने गत जेठमा गठन भएको कर्मचारी तदर्थ समितिको नेतृत्वमा अर्को समुह उपकुलपतिको कार्यालयअघि धर्नामा छन् । कर्मचारीहरु छुट्टा छुट्टै आन्दोलनमा उत्रिएपनि उनीहरुको माग भने एउटै छ, सरकारले वृद्धि गरेको १८ प्रतिशत तलब वृद्धि, एक हजार महंगी भत्ता, प्रोत्साहन भत्ता दिइनुपर्ने ।
सुजेन्द्र गोले तामाङ अध्यक्ष रहेको समाजले मंगलबार प्रतिष्ठानका चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दीसमेत गर्यो भने राजन कोइराला संयोजक रहेको तदर्थ समितिले भने शान्तिपुर्णरुपमा धर्नामा बसेर मात्रै आन्दोलन गरेको जनाएको छ । नेतृत्वले धोका दिएको भन्दै गत जेठ १० गतेदेखि यही मागलाई लिएर कर्मचारीहरुको एक समुहले दुई साता लामो आन्दोलन चर्काएको थियो । जेठ २५ गते १४ हजार ३ सय रुपैयासम्म तलब भएका तल्लो तहका कर्मचारीहरुलाई तत्काल एक हजार पेश्की र सबैको हकमा महंगी भत्ता उपलब्ध गराउनेलगायत सहमति भएपछि आन्दोलन टुंगिएको थियो । यो आन्दोलनले प्रतिष्ठानमा कर्मचारीहरुलाई दुई गुटमा बाँडेको थियो । तदर्थ समितितर्फ तलबमा मार परेका प्रतिष्ठानका तल्लो तहका कर्मचारीहरुको साथ छ ।
सोमबार प्रतिष्ठानको ३६ औं सिनेट बैठकले जेठ २५ गतेको सहमतिलाई अनुमोदन गरेपनि १८ प्रतिशत तलब वृद्धि गर्नुपर्ने, २५ प्रतिशत प्रोत्साहन भत्ता बढाइनुपर्नेलगायत माग पुरा नगरेपछि पुनः मंगलबारदेखि कर्मचारीहरु आन्दोलनमा उत्रिए । तर, यो पटक पनि कर्मचारीहरु संयुक्तरुपमा नभई विभाजित भएरै आन्दोलनमा छन् । मंगलबार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले असन्तुष्ट पक्षको धर्नास्थलमा पुगेर काम गर्ने सिलसिलामा गल्ती हुनपुगेको र त्यसलाई सच्चाउन आफु तयार रहेको बताउदै संयुक्तरुपमा आन्दोलन गर्न आह्वान गरेका थिए । त्यसपछि दुवै पक्षबीच वार्ता भएपनि सहमति भने हुनसकेन । ‘हामी वार्तामा गयांै र दुवैतर्फको संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाऊ भनेर प्रस्ताव गर्यौं तर, उहाँहरु नमानेपछि कुनै सहमति भएन’–कर्मचारी तदर्थ समितिका संयोजक कोइरालाले भने–‘हामीसँग सहमति भएको एक हजार पेश्की र महंगी भत्ता दिने निर्णयलाई सिनेटले अनुमोदन गरेको रहेछ, १५ दिने आन्दोलनको उपलब्धीबाट बनेको समितिलाई हामी त्यतिकै विघटन गर्ने पक्षमा छैनौं ।’ उनले आफुहरु शान्तिपुर्ण आन्दोलनको पक्षमा रहेकोले तालाबन्दीमा नउत्रिएको बताए ।
उता समाजका अध्यक्ष तामाङ भने संयुक्त आन्दोलन आवश्यकता भएकोले असन्तुष्ट पक्षसँग वार्ता निरन्तर गर्ने बताउछन् । ‘अर्को पक्षसँग वार्ता हुन्छ, संयुक्तरुपमा आन्दोलन गर्नसक्यौ भने मात्रै निर्णायक आन्दोलन हुन्छ र सफलता मिल्छ । उहाँहरुले बुझ्नुहुनेछ भन्ने आशा छ’–उनले भने । दुई गुटमा बाँडिएर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको आकस्मिक र ओपिडी सेवाबाहेक सम्पुर्ण कामकाज तथा कार्यालयहरु मंगलबारदेखि ठप्प छ । आन्दोलित कर्मचारीहरुले बुधबार पनि धर्नाको कार्यक्रमलाई निरन्तरता दिए भने सम्पुर्ण प्रशासनिक कार्यालयहरु बन्द गरे । कर्मचारी कल्याण समाजले मंगलबार प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दीसमेत गरेको थियो । सोमबारको सिनेट बैठकमा राजधानी गएका पदाधिकारीहरुलाई आफ्ना माग पुरा नगरे प्रतिष्ठानमा निषेध गर्ने आन्दोलनकारीहरुले चेतावनी दिइसकेका छन् ।

यसैबीच, समाजले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै आकस्मिक र अन्तरंग सेवाबाहेक सम्पुर्ण सेवा ठप्पा पार्ने घोषणा गरेको छ । विज्ञप्तीमा पूर्वनिर्धारित परीक्षाबाहेकको शैक्षिक कार्यक्रम, ओपिडी सेवा, ल्याब, एक्स रे सेवासमेत ठप्प पार्ने उल्लेख छ । यस्तै, पदाधिकारी आवासको सञ्चार सुविधासमेत बुधबारदेखि कटौती गरिने विज्ञप्तीमा जनाइएको छ । सोमबार राजधानीमा सम्पन्न ३४ औं सिनेट बैठकले सरकारले वृद्धि गरेको १८ प्रतिशत तलब, एक हजार महंगी भत्ता, कर्मचारीहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्तालगायत माग पुरा नगरेपछि प्रतिष्ठानमा पुनः आन्दोलन शुरु भएको हो । बैठकले शिक्षक तथा कर्मचारीहरुको तलब बृद्धि, २५ प्रतिशत प्रोत्साहन भत्ता र अन्य बिषयमा आन्तरिक स्रोत पहिचान गरी सुझावसहितको प्रतिवेदन पेश गर्न सभासद एवं पूर्वउपकुलपति डा.शेखर कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय उच्च तलबमान आयोग गठन गरेपनि आन्दोलनकारीहरुले त्यसलाई स्वीकार गरेका छैनन् । आन्दोलनमा स्टाफ नर्स, प्राविधिक, प्रशासनिक सबै कर्मचारीहरु सहभागी छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे