बीपी प्रतिष्ठान खुलाउन सर्वपक्षीय वार्ता समिति गठन
धरान । कर्मचारी आन्दोलनले ठप्प बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खुलाउन धरानका राजनीतिक दल एवं नागरिक समाजको पहलमा एउटा सर्वपक्षीय वार्ता समिति गठन भएको छ । प्रतिष्ठानमा आइतबार भएको सर्वपक्षीय भेलाले दुवै पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न एक समिति गठन गरेको हो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ संयोजक रहेको समितिमा नागरिक समाजका तर्फबाट सहसंयोजक तिलक राई, पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, कुमारबहादुर कार्की, पत्रकारकोतर्फबाट किसोरकुमार कार्की, समाजसेवी सरला कायस्थ र सबै राजनीतिक दल सदस्यका रुपमा छन् । समितिले आन्दोलनरत कर्मचारीको दुवै समुह नेतृत्वसँग वार्ता गर्ने र सहज निकास खोज्ने जनाएको छ । प्रतिष्ठान व्यवस्थापनले वार्ताको पहल गरेपनि कर्मचारीहरुले आन्दोलन स्थगित नगरेपछि राजनीतिक दल र नागरिक समाजले गम्भीर चासो दिएको हो ।

सर्वदलीय बैठकमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, सिनेट सदस्य डा.निलम्बर झा, अस्पताल सहायक निर्देशक एवं प्रवक्ता डा.पशुपति चौधरी पनि सहभागी थिए । सो वैठकमा दुई समुहमा विभाजित भएर आन्दोलनतर कर्मचारी कल्याण समाज र कर्मचारी कल्याण समाज तदर्थ समितिलाई पनि बोलाइएको थियो । तर, तदर्थ समितिको टोली मात्रै वार्तामा सहभागी भयो । शिक्षाध्यक्ष श्रेष्ठले प्रतिष्ठानको समस्याप्रति चिन्तित हुदै नागरिक र राजनीतिक दलले गरेको पहलबाट समाधान निस्कनेमा आशा व्यक्त गरे । ‘हामीले पनि आफ्नो तर्फबाट पहल गरिनै रहेका छौं, बीपी प्रतिष्ठान धरानकै गहना हो, यसलाई जोगाउने जिम्मा पनि धरानबासीकै हो’–उनले भने ।
तदर्थ समितिका संयोजक राजन कोइरालाले सेवा बन्द नगरि शान्तिपुर्ण धर्नामा मात्रै बसेकोले वार्ता समितिले सेवा सुचारु गर्न आफुहरुसँग वार्ता गर्नै नपर्ने बताए । आयोगको प्रतिवेदन नआएसम्म धर्ना भने जारी रहने उनले बताए । पदाधिकारी कार्यकक्षमा तालाबन्दी र सेवा ठप्प बनाएको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले आयोगको रिपोर्ट आउने टुंगो नभएकोले आन्दोलन जारी नै रहने बताए । ‘आज पनि व्यवस्थापनसँग एक चरण वार्ता भयो, उहाँहरुले रिपोर्ट नआउदासम्म पर्खनुस् भन्नुभयो, तर हामी आन्दोलन स्थगित गर्ने पक्षमा छैनौं’–उनले भने ।
Comments
Post a Comment