प्रकृतिलाई पूर्वाञ्चल स्टार २ को उपाधि(फोटोफिचर)



धरान । ताप्लेजुङ नाम्फल्याङकी २१ बर्षीय प्रकृति थलङ लिम्बूले पूर्वाञ्चलव्यापी गायन प्रतियोगिता पूर्वाञ्चल स्टार–२ को उपाधि जितेकी छिन् । युवा गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले शनिबार धरान सभागृहमा सम्पन्न फाइनलमा उनी प्रथम घोषित हुदै उपाधि विजेता बनिन् ।
विभिन्न चरण पार गर्दै उत्कृष्ट १० मा छनौट हुन सफल भएकी प्रकृतिले फाइनलमा चर्चित गायिका मिलन आमात्यको जहिलेसम्म संसारमा...बोलको गीत गाएकी थिइन् । मिठो स्वरकी धनी प्रकृतिको प्रस्तुतीले मुख्य निर्णायक एवं संगीतकार महेश खड्का, निर्णायकद्धय गायक ए.पि.शेर्पा र गायिका कला राईसँगै हलमा उपस्थित स्रोताहरुको मन जित्न सफल भएकी थिइन् । यसैगरि, प्रतियोगितामा तेह्रथुम जिल्लाका पुष्पराज बस्याल दोस्रो भए भने पाँचथरकी हिमाली सुब्बा तेस्रो भइन् । फाइनलमा पुष्पराजले पानी पानी भो..बोलको गीत गाएका थिए भने हिमालीले भञ्ज्याङ कुर्नु गाह्रो भो..बोलको गीत गाएकी थिइन् । प्रतियोगितामा धरानका उत्तम राईले वेष्ट पर्फमेन्स, खोटाङका निरञ्जन राईले वेष्ट भोकल र भोजपुरका रामध्वज राईले पब्लिक च्वाइसको अवार्ड हात पारे ।

उपाधि विजेता प्रकृतिले टप टेनमा पर्न सफल सबै प्रतिस्पर्धीहरु राम्रो गाउने भएकोले आफु पहिलो हुन्छु भन्ने नलागेको बताइन् । ‘सबै एकसे एक थियौं, त्यसैले मै पहिलो हुन्छु भन्ने थिएन । तर, उपाधि जित्न पाउदा ज्यादै खुशी छुँ’–प्रकृतिले भनिन् । उपाधि विजेता प्रकृतिले नगद ५० हजारसँगै ट्रफी, २ वटा गीत रेडर्क र एउटा म्युजिक भिडियो बनाउने अवसर प्राप्त गरिन् भने एक बर्षसम्म निःशुल्क संगीत प्रशिक्षण पनि पाउनेछिन् । यस्तै, दोस्रो भएका पुष्पराजले नगद २५ हजार, ट्रफी, एउटा गीत रेडर्क र ६ महिना संगीत प्रशिक्षणको अवसर पाएका छन् भने तेस्रो भएकी हिमालीले नगद १५ हजार, ट्रफीसँगै एउटा गीत रेकर्ड र ३ महिना संगीत प्रशिक्षणको अवसर प्राप्त गरिन् । विजेताहरुलाई प्रमुख निर्णायक खड्का र कार्यक्रमका संयोजक भक्तिराज राईले पुरस्कार प्रदान गरेका थिए ।
पूर्वाञ्चल वगिना कला केन्द्रद्धारा आयोजित गायन प्रतियोगिताको अडिशन ०७० माघ ३ गतेदेखि शुरु भएको थियो । पूर्वका विभिन्न १० जिल्लामा भएको अडिशनबाट विभिन्न चरण पार गर्दै फाइनलमा १० प्रतियोगी सहभागी थिए । फाइनलमा गायक ए.पि.शेर्पा, गायिका कला राई, पहिलो सँस्करणकी उपविजेता अनुषा नेपालले पनि गीत गाएका थिए भने हाँस्य कलाकार गणेश इशाराले पनि हाँस्य प्रस्तुती दिएका थिए । कार्यक्रममा गायन क्षेत्रमा योगदान पुर्याएको भन्दै आयोजकले गायक ए.पि.शेर्पा र संगीत प्रशिक्षक जीवन राईलाई बिशेष सम्मान पनि गरिएको थियो ।


















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे