कवि बम देवानको एकल कविता वाचन


धरान । आगोको रासहरु चुलिउन
             यी खोलाहरुमा
           आगो ओसारियोस् 
           हजारौ जिन्दगीहरु मारेर
          अन्न थुपार्ने ढिकुटीभरि
         र, एकपल्ट आगो भएर
         देखा परोस् जिन्दगी !
        यी चिसा मृत्युका मैदानहरुमा
       ढलोस बरु,
       असमेल पहाडको सर्वोच्च शिखर !
      मान्छेको शिर ठडिए
      पुग्यो मलाई !

यस्ता कविताका सर्जक कवि बम देवानलाई कुनै समय साँच्चिकै बम हुन् भनिन्थ्यो । समाजमा हुने अन्याय,शोषण र दमनविरुद्ध उनी सर्वसाधारणलाई लड्ने प्रेरणा र चेतना छरिरहन्थे । निरंकुश पञ्चायतकालमा बामपन्थी आन्दोलनमा सक्रिय उनी दर्शन राईको नामले साहित्य सृर्जना गर्थे । उनका गीत, कविताहरुमा जनताको पीडा, दुःख झल्कन्थ्यो र बिद्रोहको आगो ओकल्थ्यो । समयसँगै उनी राजनीति र साहित्यबाट ओझेलमा परे । हिजो समाजमा जहीत्यही अन्याय, अत्याचारविरुद्ध पड्कने बम अब सेलायो भन्ने चर्चा साहित्य र राजनीतिक वृत्तमा लामो समयसम्म चलिरह्यो ।


तर,  उनी ओसाएका होइन रहेछ । मंगलबार बाक्लोरुपमा स्थानीय राजनीतिक नेताहरु पनि उपस्थित एकल कविता वाचनमा कवि बम देवान पुनः बम झै पड्किएर आफु नओसाएको प्रमाणित गरे । प्रत्येक महिना साहित्यिक कार्यक्रम गर्दै आएको शब्दयात्राले आफ्नो पाँचौ श्रृंखलामा मंगलबार कवि बम देवानलाई राजनीतिक एवं साहित्यिककर्मीहरुमाझ एकल कविता वाचन आयोजना गरेर उभ्याएको थियो । जीवनकै पहिलो एकल कविता वाचनबाट उत्साहित बनेका कवि देवानले पनि त्यसलाई भरपुर सदुपयोग गर्दै आफु अझै पनि साँच्चिकै बम रहेको सन्देश दिए । ‘म आफुलाई निम्न वर्गको, अशिक्षित, श्रमजिवि वर्गको कवि सम्झन्छुँ । त्यसैले जनताले बुझ्ने गरि सरल भाषामा लेख्छु’–नागरिकसँग बलमे भने–‘बहुसंख्यक जनताको दुःख, पीर, आवाज, सपना र चाहनालाई साहित्यमा उतार्ने प्रयास गर्छु ।’


स्वागतम भएर..शिर्षकको कविताबाट एक वाचन शुरु गरेका कवि बमले जबजब, वाह यी फुलहरु, बेनाम वनफुल, आज सुर्य डुब्नु हुन्न, नङ्ग्याइदा हरेक क्षण आजका द्रोपदी, आगोको खेतीलगायत करिब दर्जन कविताहरु सुनाए । कवि देवानका अनुसार यी कविताहरु ०३३ साल यता रचना गरिएका हुन् । कविता आगोको खेतीमाथी टिप्पणी गर्दै समालोचक बद्रीबिशाल पोख्रेलले द्धन्द्धात्मकभित्र पनि सन्तुलन कायम भएमात्रै समाज अघि बढ्ने सन्देश दिएको बताए । कवि देवान आमुल परिवर्तनको पक्षमा भएको, प्रतिस्पर्धात्मक समाजवादमा विश्वास गर्ने र जनतालाई हरदम सुख खोज्ने कविकोरुपमा उनले उभ्याए । धरान साहित्यमा वलियो हुनुमा कवि बमसँगै कुन्ता शर्मा, वेणु आचार्यलगायतको ठुलो योगदान भएको उनले चर्चा गरे । यस्तै,नङ्ग्याइदा हरेक क्षण आजका द्रोपदी कवितामाथी चर्चा गर्दै सीता अधिकारीले लैंगिकताप्रति सचेत, वर्गीय मुक्तिको चाह र चिन्तासँगै बिद्रोह पनि भरिएको बताइन् ।


वि.स.२००३ सालमा जन्मिएका कवि देवान ०२१ सालदेखि लेखनकार्य थालनी गरेका हुन् । प्रगतिशिल, जीवनवादी तथा बिद्रोही गीत, कविता लेख्ने उनलाई ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर..’बोलको चर्चित गीतले सबैमाझ चिनाउने गर्छ । उनी ०२६ सालदेखि ०३६ सालसम्म छिन्ताङमा मास्टरी भएर रहदा जनतालाई अन्याय, दमनकोविरुद्ध चेतना फैलाउन सक्रियरुपमा लागेका थिए भने पछि धरान नगर पञ्चायतमा प्रधानपञ्चसमेत भएका थिए । उनको अहिलेसम्म २०२९ सालमा हाम्रो गीत, हाम्रो आवाज नामको कृर्ति मात्रै प्रकाशन भएको छ भने अन्य कृर्ति प्रकाशोन्मुख रहेको कवि बम देवानले बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे