निकृष्ट काममा लगाइएका १४ जना बालक श्रमिकको उद्दार



धरान । निकृष्ट श्रममा लगाइएका १४ बर्ष मुनिका एक दर्जन बढी बालकहरुलाई धरानबाट उद्दार गरिएको छ । नगरपालिकाको बालअधिकार संरक्षण तथा संवद्र्धन समितिअन्र्तगतको बाल उद्दार तथा पूर्नस्थापना कार्यदलले शनिबार धरानबाट १४ जना बालकहरुको उद्दार गरेको हो ।
नेपालमा ५० औं राष्ट्रिय बालदिवस मनाउने पूर्वसन्ध्यामा उद्दार गरिएका ती बालकहरु धरानका चिया पसल, मारवाडी बासा, मोटरसाइकल तथा कार ग्यारेज, खाद्यान्न पसल, होटललगायतमा कार्यरत थिए । उद्दार गरिएकामध्ये ४ जना नेपालका हुन् भने बाँकी सबै भारतीय बालकहरु हुन् । उद्दार गरिएका १३ जनालाई चतरालाइनस्थित ह्युज फेमिली हाउसमा राखिएको छ भने ३ जनालाई आइतबार उपस्थित गराउने सर्तमा छोडिएको छ । ‘उद्दार गरिएका बालकहरुलाई फेमिली हाउसमा राख्छौं, भोली यसबारेमा होटल, ग्यारेज सञ्चालकहरुसँग छलफल गरेर परिवारमा पुर्नस्थापितको लागि पहल गछौं’–कार्यदलका संयोजक एवं इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले भने ।

उनका अनुसार शनिबार अनुगमनका क्रममा ८ वटा विभिन्न ग्यारेज, होटल, चिया पसल, खाद्यान्न पसलबाट ती बालकहरु उद्दार गरिएको हो । ती पसल, ग्यारेज, होटलका सञ्चालकहरुलाई छलफलको लागि उपस्थित हुन पत्र थमाइएको छ । उनीहरुबाट ती बालकहरुको घरठेगाना पत्ता लगाएपछि पुर्नस्थापनाको पहल शुरु गरिनेछ । त्यसक्रममा ती बालकहरुले काम गरेवापतको तलबका साथै क्षतिपूर्ति पनि दिलाउन पहल गर्ने कार्यदलले जनाएको छ । सञ्चालकहरुलाई भने पहिलो पटक भएकोले उप्रान्त बाल श्रमिक भेटिएमा कानुनी कारबाही गर्ने सर्तमा सचेत गराएर छोडिनेछ । ‘बालबालिकाको पहिलो अधिकार भनेको आफ्नो परिवारसँग बस्न पाउनु हो, परिवारमा जस्तो सुरक्षित अरुतिर हुदैन’–नगरपालिकाका समाज विकास अधिकृत सुनिल नेपालले भने–‘उनीहरुको शिक्षा, गाँस,बास र कपासको अधिकारलाई पनि कसरी सुनिश्चित गर्ने भनेर छलफल र पहल गछौं ।’ उनका अनुसार धरानलाई सन् २०१५ सम्म बालश्रम मुक्त शहर बनाउने अभियान भएकोले अनुगमनलाई निरन्तरता दिइनेछ । यसअघि सचेतना कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको समिति र कार्यदलले अब भने अनुमगन गरेर उद्दार, पूर्नस्थापना र कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।


कानुनले १४ बर्षमुनिका बालबालिकाहरुलाई श्रममा लगाउनुलाई अपराध मानेको छ । त्यसो गरेमा ५० हजार जरिवाना, एक बर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । तर, कानुनको पालना एवं कार्यान्वयन नहुदा हजारौं बालबालिकाहरु निकृष्ट काममा श्रम गरिरहेका छन् । पछिल्लो समय विराटनगर बालश्रम मुक्त शहर घोषणा गरिएपछि भारतीय बालश्रमिकहरु धरानतर्फ आउन थालेको उप्का नेपालका बालश्रम न्युनिकरण(होप) परियोजना अधिकृत हेमचन्द्र राईले बताए । ‘धरानमा धेरै घरेलु बालश्रमिकहरु छन्, पहिलो चरणमा निकृष्ट काममा रहेका अन्र्तराष्ट््िरय(भारत) बालश्रमिकको उद्दार र पूर्नस्थापनामा केन्द्रीत भएका छौं’–उनले भने–‘उनीहरुपछि अन्यलाई पनि उद्दार र पूर्नस्थापनामा ध्यान दिन्छौं ।’ उनका अनुसार भारतीय बालश्रमिकहरुलाई थोरै ज्यालामा काममा लगाउन सकिने हुनाले धेरै श्रम शोषण गरिएको छ । नेपालका बालश्रमिकहरुलाई स्कुल भर्ना, कपी कलम र परिवारलाई जिविकोपार्जनको पूर्नस्थापना प्याकेज पनि दिइने गरेको उनले बताए ।


होप परियोजनाको एक अध्ययन अनुसार धरानमा १४ बर्ष मुनिका १८३ बालक र १७० बालिका श्रमिककारुपमा छन् । यस्तै, इटहरीमा १९१ बालक र १५३ बालिका रहेको तथ्यांक छ । उनीहरु इटा उद्योग, घरेलु, दाउरा बिक्री, कार्पेट फ्याक्ट्री, निर्माण, होटल तथा रेष्टुरेष्ट, भरियाललागयत विभिन्न क्षेत्रमा निकृष्ट काम गर्न बाध्य छन् । ‘हामीले अहिलेसम्म १५८ जनालाई घरमा पुर्नस्थापना गरेका छौं, ती मध्ये ३ जना मात्रै पुनः कार्यक्षेत्रमा फर्किएको भेट्यौं । त्यसैले, परिवारजनलाई पनि सपोर्ट हुने गरि प्याकेजसहितको पूर्नस्थापना आवश्यक छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे