कर्मचारी आन्दोलनको स्वरुप फेर्न सकरात्मक, मंगलबार त्रिपक्षीय वार्ता हुने


धरान । दुई सातादेखि ओपिडी सेवासमेत ठप्प बनाएर आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाज सेवा सुचारु गर्न सकरात्मक भएको छ । प्रतिष्ठान खुलाउन धरानका राजनीतिक दल एवं नागरिक समाजको पहलमा गठित सर्वपक्षीय वार्ता समिति र समाजबीच सोमबार भएको वार्तामा समाजको नेतृत्व आन्दोलनको स्वरुप बदल्न सकरात्मक बनेको हो ।
यद्यपी, उनीहरुले प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासको उपस्थितिमा आफ्नो धारणाहरु राखेपछि मात्रै आन्दोलनको स्वरुप फेर्ने जनाएका छन् । प्रतिष्ठानको अस्पताल निर्देशकको बैठक कक्षमा आन्दोलनकारी र सर्वपक्षीय वार्ता समितिबीच करिब साढे ४ घण्टा लामो वार्ता भएको थियो । आन्दोलनको स्वरुप परिवर्तन गर्नेबारे सोमाबार साँझ समाजको बैठक बसेको छ भने मंगलबार उपकुलपतिको उपस्थितिमा प्रतिष्ठान व्यवस्थापन, आन्दोलनरत समाज र सर्वपक्षीय वार्ता समितिबीच त्रिपक्षीय वार्ता हुनेछ । ‘आजको वार्ता सकरात्मक र उपलब्धीमुलक भयो, आन्दोलनरत पक्षले उपकुलपतिको उपस्थितिमा वार्ता गर्ने र उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता गर्ने हो भने आन्दोलनको स्वरुप परिवर्तन गर्न तयार छौं भनेको छ’–सर्वपक्षीय वार्ता समितिका संयोजक सरोज श्रेष्ठले भने ।
उनका अनुसार सञ्चालक परिषद(सिनेट) बैठकमा एजेण्डाकोरुपमा मागहरुलाई लगेर निर्णय गराउने सहमतिलाई उपकुलपतिले सकरात्मक भुमिका नखेलेको भन्दै समाजको नेतृत्वले उनीसँग नै आफ्ना कुराहरु राखेर वार्ता गर्ने चाहना व्यक्त गरेको छ । सोही वमोजिम उपकुलपति डा.दासलाई मंगलबार धरान आउन आग्रह गरिएको र उनी आएपछि त्रिपक्षीय वार्ता गरेर निकास निकालिने संयोजक श्रेष्ठले बताए । ‘भोली(मंगलबार) दुवै पक्षलाई आसने सामने राखेर वार्ता गर्ने र गाँठो फुकाउने प्रयास गछौं, सकरात्मक निष्कर्ष निस्कन्छ भन्ने आशा छ’–उनले भने

कर्मचारी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष उमेश थापाले नागरिक समाज, राजनीतिक दल सम्मिलित समितिले आफुहरुको मागलाई समर्थन जनाउदै तलबमान आयोगको प्रतिवेदन कार्यान्वन गराउने प्रतिविद्धता जनाएकोले आन्दोलनको स्वरुप परिवर्तन गर्न आफुहरु पनि सकरात्मक रहेको बताए । ‘त्रिपपक्षीय वार्तामा उपकुलपतिको पनि प्रतिवद्धता कस्तो आउछ हेछौं, आन्दोलनको स्वरुप फेर्न हामी सकरात्मक छौं, त्यसबारे समाजको बैठक बसेर निर्णय गछौं’–वरिष्ठ उपाध्यक्ष थापाले भने ।
शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठान व्यवस्थापनले आन्दोलन स्थगित गर्न वार्ताको पहल गरेपनि सफल नभएपछि आइतबार सर्वपक्षीय भेलाबाट समस्या समाधान गर्न सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा एक सर्वपक्षीय वार्ता समिति गठन भएको थियो । प्रतिष्ठानको ३६ औं सिनेट बैठकले तलब बृद्धिबारे उच्चस्तरीय तलबमान आयोग गठन गरेपछि आन्दोलनरत कर्मचारीहरुले असोज १ गतेदेखि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै आकस्मिक र अन्तरंग सेवाबाहेक सबै ठप्प बनाएका छन् । अर्को तदर्थ समितिले भने धर्ना मात्रै दिइरहेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे