सानिमा बैंकको एकैदिन ६ स्थानमा शाखा विस्तार
धरान । गैरआवासिय नेपाली(एनआरएन)हरुको लगानीमा सञ्चालित सानिमा बैंक लिमिटेडको शुक्रबार एकैदिन विभिन्न ६ स्थानमा शाखा खुलेको छ । बैंकले पूर्वको धरान, इटहरी, विर्तामोडसँगै जनकपुर, कलैया र भैरहवामा शुक्रबार शाखा विस्तार गरेको हो ।यी स्थानमा शुक्रबार एक कार्यक्रमबीच बैंकले शाखा उद्घाटन गरेको छ । शुक्रबार एकै दिन ६ स्थानमा शाखा विस्तार भएपछि हालसम्म ३७ वटा शाखा पुगेको बैंकले जनाएको छ । धरान ५, महेन्द्र पथस्थित शाखाको उद्घाटन बैंकका सिइओ भुवन दाहाल, निर्देशक महेश घिमिरे र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले एक समारोहबीच संयुक्तरुपमा गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिइओ दाहालले कान्छो बैंक भएर पनि ग्राहकहरुलाई सेवा सुविधा दिनुमा भने अग्रणी रहेको बताए । बैंकले आफ्नो शाखाहरुबाट डिपोजिट, लोन, रेमिट्यान्स सुविधा दिने र एल.सि.को प्रक्रियाको लागिसमेत ग्राहकहरुले केन्द्रीय कार्यालय धाउनु नपर्ने सिइओ दाहालले खुलाए । ‘यो एनआरएनहरुको लगानीमा खुलेको बैंक हो, विदेशको कमाई त्यसै खेर फाल्छन् भन्ने कुरा सही होइन भन्ने गतिलो उदाहारण यो बैंक बनेको छ’–सिइओ दाहालले भने–‘धरानमा शाखा ढिलै खुले पनि चाडैं राम्रो प्रभाव पछौं भन्ने विश्वास छ, निष्क्रिय कर्जामा हामी नम्बर एक छौं, अन्य कुरामा पनि नेपालको टप १० बैंकभित्र पछौं । ’बैंकका क्षेत्रीय प्रबन्धक टंकमणी बरालले ग्राहकहरुको माग वमोजिम नै शाखा विस्तार भइरहेको उल्लेख गर्दै ग्राहकहरुको चाहना र आवश्यकता वमोजिम सुविधा दिन दत्तचित्त भएर लाग्ने बताए । सुनसरी उवा संघका अध्यक्ष सरोज श्रेष्ठले सानिमाको शाखा खुलेपछि स्थानीय व्यापारी, व्यावसायीहरुलाई बैंकिङ करोबारमा सहज हुने आशा व्यक्त गरे । साथै उनले सबै तहका एवं आर्थिक अवस्थाका जनताले सहजरुपमा खाता खोल्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिएका थिए । ‘बैंकिङ प्रणाली र प्रतिस्पर्धाले सेवाग्राहीहले सहजरुपमा सेवा पाइरहेको छ, सानिमा बैंकबाट पनि यस्तै अपेक्षा गछौं’–श्रेष्ठले भने । सानिमा सन् २००४ मा विकास बैंककोरुपमा स्थापना भएको थियो । दश बर्षसम्म विकास बैंककोरुपमा रहेको सानिमा तीन बर्षअघिदेखि मात्रै कमर्सियल बैंकमा रुपान्तरण भएको थियो ।





Comments
Post a Comment