तीन अर्बको कृर्षि उपज कारोबार



धरान । गत आर्थिक बर्षमा धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा करिब तीन अर्बको कृर्षिजन्य वस्तुको कारोबार भएको छ । बजारस्थलका अनुसार आर्थिक बर्ष ०७०/०७१ मा दुई अर्ब ९७ करोड उनासी लाख एकानब्बे हजार मुल्य बराबरको कारोबार भएको हो । बजार सञ्चालक समितिका अनुसार यो अघिल्लो आर्थिक बर्षमा भन्दा बस्तु १६ प्रतिशत र मुल्यमा १९ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक बर्ष ०६९/०७० मा दुई अर्ब ४९ करोड उनन्सत्तरी लाख दुई सय ५४ रुपैयाको कारोबार भएको थियो । उक्त आर्थिक बर्षमा ६५ हजार ६ सय ६९ मेट्रिक टन बस्तुको कारोबार भएको थियो भने गत आर्थिक बर्षमा बृद्धि भएर ७६ हजार ३ सय ३० मेट्रिक टन बस्तुको कारोबार भएको समितिले जानकारी दिएको छ । ‘यो उत्साहजनक कारोबार भएको हो, यसले कृर्षिजन्य क्षेत्रमा उत्पादन बढ्दै गएको संकेत पनि दिएको हो’–बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराई भन्छन्–‘गाँउ गाउँबाट किसान र व्यापारीहरु ढुक्कले यहाँ आउन थालेका छन्, कारोबार यहाँ केन्द्रीत हुदा किसानले मुल्य पनि राम्रो पाएका छन् ।’
बजारस्थलमा कारोबार हुने कृर्षिजन्य बस्तुको मुल्य सुचि डिजिटल प्रणालीमा राखिने भएकोले किसानहरु पहिला जस्तो ठगिन पाउदैनन् । केही बर्षअघिसम्म यस्तो प्रणाली नहुदा व्यापारीहरुले कार्टेलिङ गरेर थोक मुल्य तोक्थे, जसले गर्दा किसानहरु मर्कामा पर्थे । बजारस्थलका अनुसार गत आर्थिक बर्षमा ५३ हजार १ सय ५७ मेट्रिक टन तरकारी बालीको कारोबार भएको थियो । जसको मुल्यमा एक अर्ब २२ करोड २६ लाख ११ हजार रुपैया हुन आउछ । अघिल्लो बर्षमा तरकारी बालीको कारोबार ४५ हजार ३ सय ७१ मेट्रिक टनमा सिमित थियो । जुन मुल्यमा एक अर्ब ११ करोड ७० लाख ४८ हजार ७ सय ५४ रुपैया हुनआउछ ।


यसैगरि, गत बर्ष ८ हजार ५ सय ७९ मेट्रिक टन फलफुल वालीको कारोबार भएको थियो । जसको मुल्य ४७ करोड १८ लाख ४५ हजार रुपैया हुनआउछ । अघिल्लो बर्ष भने ७ हजार ७ सय ३५ मेट्रिक टन अर्थात ३९ करोड ७४ लाख २० हजार ९ सय रुपैया बराबर मात्रै फलफुल वालीको कारोबार भएको तथ्यांक छ । यस्तै, अघिल्लो आर्थिक बर्षमा ११ हजार २० मेट्रिक टन मसला वालीको कारोबार भएको बजारस्थलमा गत बर्ष बृद्धि भएर १२ हजार ४ सय ७९ मेट्रिक टन कारोबार भएको थियो । अघिल्लो बर्ष ५ सय ९९ मेट्कि टनमा सिमित मसला वाली पनि गत आर्थिक बर्षमा बृद्धि भएर ७ सय ७६ मेट्रिक टन पुगेको थियो । यस्तै, अघिल्लो बर्ष ३ सय ४९ मेट्रिक टन बराबार खसीबाख्राको कारोबार भएकोमा गत बर्ष बृद्धि भएर ५ सय ५७ मेट्रिक टन पुगेको बजारस्थलले जनाएको छ । यसैगरि, रुद्रक्ष, रिठा, मजिटो, लाहा,जटामसि, चिराइतो,टिमुर लगायत अन्य शिर्षकको वस्तु अघिल्लो बर्ष ४ सय ९५ मेट्रिक टन करोबार भएकोमा गत बर्ष बृद्धि भएर ७ सय ८२ टन पुगेको थियो ।
बजारस्थलका अनुसार यहाँ कारोबार भएका मध्ये ६५ प्रतिशत कृर्षि उपज मात्रै आन्तरिक उत्पादन हो भने ३५ प्रतिशत बाह्य(भारत, चीन र भुटान)को कृर्षि उपज हो । आन्तरिक स्रोतमध्येमा पनि धनकुटा जिल्ला ३५ प्रतिशत, तेह्थुम १३ प्रतिशत,सखुवासभा ७ प्रतिशत, भोजपुर ७ प्रतिशत,खोटाङ्ग ५ प्रतिशत र सुनसरी ५ प्रतिशत रहेको छ । यसैगरि झापा ,मकवानपुर, सर्लाही, सप्तरी, सिरहा, उदयपुर, मोरङ्गआदी क्षेत्रबाट २० प्रतिशत र अन्य भाग बाट ८ प्रतिशत कृर्षि उपज आउने बजारस्थलको अनुमान छ । बाह्य स्रोतमा भारतबाट ८० प्रतिशत, चीनबाट १३ प्रतिशत र भुटानबाट ७ प्रतिशत कृर्षि उपज आउछन् ।
बजारस्थलले जनाएअनुसार यहाँबाट कारोबार हुने आलु ६५ प्रतिशत भारतबाट र १० प्रतिशत भुटानबाट आउने गरेको छ  । यस्तै, प्याज ९५ प्रतिशत, गोलभेडा २० प्रतिशत भारतबाट आउछ । यहाँ करोबार हुने स्याउ ६० प्रतिशत चीत र ४० प्रतिशत भारतबाट भित्रिन्छ । यस्तै, अनार र अंगुर सतप्रतिशत भारतबाट आउछ भने अकबरेबाहेकको खोर्सानी ३० प्रतिशत भारतबाटै आउने बजारस्थलले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे