बीपीमा कर्मचारीको आन्दोलन:विरामीले उपचार पाएनन्


धरान । राम्रो उपचार हुन्छ भन्ने सुनेपछि महोत्तरीबाट लालबाबु महरा कानको समस्या लिएर आइतबार बिहानै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगे । तर, उनले न ओपिडी सेवाको पूर्जी काट्न पाए, न डाक्टरलाई भेट्नै पाए । उनी मध्याह्नसम्म पनि बीपी प्रतिष्ठान परिसरमा निराश मुद्रामा थिए । चिकित्सकको सुझाव अनुसार एक साता पछि बुबालाई फलोअपमा जाँचमा ल्याएका सप्तरीका राजु यादव पनि के गर्ने, कसो गर्ने भन्ने चिन्तामा थिए । उनले पनि बुबालाई जाँच गर्ने डाक्टर भेट्न पाएनन् । थप उपचार बिना नै घर फर्कने मुडमा थिए उनी ।
महोत्तरीका लालबाबु र सप्तरीका राजु बीपीमा कर्मचारी आन्दोलनको कारण उपचार नपाएर मर्कामा परेका सर्वसाधारण विरामीहरुका प्रतिनिधि पात्र हुन् । सरकारले वृद्धि गरेको तलब, महंगी भत्ता, प्रोत्साहन भत्तालगायतको माग लिएर आन्दोलित कर्मचारीहरुले बिहिबारदेखि आकस्मिक र अन्तरंग(वार्ड) सेवाबाहेक अन्य सम्पुर्ण सेवा ठप्प बनाएका छन् । जसले गर्दा टाढा टाढाबाट उपचार गराउन आएका विरामी र तिनका आफन्तजनहरु उपचार नपाई घर फर्कन बाध्य छन् । ‘उहाँहरुको के माग हो, त्यो सरकारसँग माग्नुपर्छ । यसरी विरामीलाई दुःख दिएर त राम्रो भएन’–महोत्तरीका महराले नागरिकसँग भने–‘अस्पतालमा उपचार बन्द गराएर के गरेका हुन् ?’


गएको सोमबार राजधानीमा सम्पन्न ३६ औं सञ्चालक परिषद(सिनेट) बैठकले आफ्नो माग सम्बोधन नगरेको भन्दै प्रतिष्ठानका कर्मचारीहरु काम छोडेर आन्दोलनमा छन् । मंगलबार आन्दोलनकारीले उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरे भने बिहिबारदेखि ओपिडी सेवादेखि ल्याब, एक्स रेलगायत सबै सेवा बन्द गराएका छन् । त्यसयता अस्पतालमा विरामीको चाप ह्वात्तै घटेको छ भने आन्दोलनबारे अनभिज्ञ सर्वसाधारणहरुले दिनहुँ दुःख पाइराखेका छन् । ओपिडीमा विरामीको पुर्जी नै नकाटिएपछि डाक्टरहरुले चाहेर पनि विरामीको जाँच गर्न सक्दैनन् । प्रतिष्ठानमा उपचार सेवा ठप्प हुँदा धरान, इटहरी, विराटनगरलगायत शहरका निजी अस्पतालहरुमा सर्वसाधारणहरुले महंगोमा उपचार गराउन बाध्य हुन्छन् । प्रतिष्ठानको ओपिडीमा दैनिकरुपमा २ हजार ५ सयले उपचार गराउदै आएको तथ्यांक छ ।
अस्पतालमा उपचार सेवा ठप्प भएर जनता मर्कामा परेपनि यसतर्फ प्रतिष्ठान व्यावस्थापन र आन्दोलनकारी दुवै पक्ष गम्भीरता देखाएको छैन । कर्मचारीको मागलाई दीर्घकालीनरुपमा सम्बोधन गर्न सिनेट बैठकले सभासद एवं पूर्वउपकुलपति डा.शेखर कोइरालाको संयोजकत्वमा एक उच्चस्तरीय तलबमान आयोग बनाएपनि कर्मचारीहरुले स्वीकार गरेका छैनन् । आन्दोलनकारी पक्ष व्यवस्थापनले अहिलेसम्म वार्ताको पहलसम्म नगरेको भन्दै आक्रोश पोख्छ भने व्यवस्थापन पक्ष कर्मचारीहरुको माग पुरा गर्नै नसकिने भन्दै प्रतिष्ठान धारासायी हुदै गएको टुलुटुल हेरेर बस्न बाध्य छ । ‘विरामी, सेवाग्राही मर्कामा छ, तर यस्तो बेला पनि पदाधिकारी, विभागीय मन्त्रीले संवेदनशीलता देखाएको छैन’–कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने–‘अहिलेसम्म माग पुरा गर्ने वा वार्ताको पहल पनि भएको छैन, यो अस्थिरता, असहज परिस्थितिको जिम्मेवार पदाधिकारी नै हुन् ।’यसअघिको आन्दोलनमा सिनेटबाट माग पुरा गर्ने भनेर सहमति गरेको, कार्यकारीणि समितिले पनि निर्णय गरिसकेको भएपनि सिनेट बैठकमा भने पुनः त्यस सहमतिलाई लत्याइएको उनको आरोप छ ।

प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले भने कर्मचारीहरुको सबै माग एवं समस्यालाई दीर्घकालीनरुपमा समाधानको लागि नीतिगतरुपमा सम्बोधन गर्न नै सिनेटले आयोग बनाएको बताए । उक्त आयोगको रिपोर्ट नआएसम्म पदाधिकारीहरुले मात्रै केही गर्न नसक्ने श्रेष्ठले बताए । ‘सिनेटको निर्णयलाई पदाधिकारीले क्रस गर्ने अधिकार छैन, कि सरकारले हस्तक्षेप गर्नुपर्छ । उहाँहरुसँग वार्ताको सम्भावना नै छैन’–रजिष्टार श्रेष्ठले भने–‘हाम्रो कार्यालयमा ताला लगाएर वार्ताको अपेक्षा गरेर हुदैन, उहाँहरु पुरानो अवस्थामा र काममा फर्कनुपर्छ र हामीलाई पनि काम गर्न दिनुपर्छ, यस्तै स्थितिमा हामी केही गर्न सक्दैनौं ।’ आयोग गठन भएको एक साता बित्न लागेपनि अहिलेसम्म औपचारिक बैठकसमेत बस्न नसकेको उनले खुलाए ।
रजिष्टार श्रेष्ठका अनुसार कर्मचारीहरुको माग पुरा गर्न तत्काल ४० करोड रुपैया आवश्यक पर्छ । बर्षेनी घाटामा रहेको प्रतिष्ठानलाई यत्रो बजेट सरकारले उपलब्ध गराएमा मात्रै माग पुरा गर्न सकिने अवस्था छ । अहिले पुरा गरेपनि पुनः सरकारले सरकारी कर्मचारीहरुको तलब वृद्धि गरेपछि यो समस्या बल्झने भएकैले सधैको लागि समाधान गर्न तलबमान आयोग बनाइएको उनको भनाई छ । रजिष्टार श्रेष्ठका अनुसार बन्दको कारणले अहिले अस्पताल सेवातर्फमात्रै दैनिक सरदर २० लाखको हाराहारीमा आम्दानी गुमिरहेको छ भने कलेजतर्फकोसमेत जोड्दा दैनिक ५० लाख रुपैया आम्दानी गुमिरहेको छ । सेवा सुचारु हुदा नयाँ र फलोअपमा आएका विरामीहरु गरी दैनिक २ हजारदेखि २५ सयले उपचार सेवा पाउछन् । प्रतिष्ठानमा पूर्वका ग्रामिण भेग र भारतबाटसमेत विरामीहरु रिफर भएर आउछन् । अहिले प्रतिष्ठानमा आकस्मिक कक्ष, गाइनो र बच्चा विभागको आकस्मिक कक्षमा मात्रै गम्भीर अवस्थाका नयाँ विरामीहरु भर्ना हुन्छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे