कानुनी झञ्झटले सजिलै उम्कन्छन् एजेन्ट
साउदी अरबमा जेलमा समेत परेर फर्किएकी सरिता आफ्नी आमासँग । |
धरान । साउदी अरब गएकी साहिली छोरी सरिता पाँच बर्षदेखि सम्पर्कमा नआएपछि ०७० असारमा धरान ११ की ५७ बर्षीय कृष्णमाया परियारले खोजी गरिदिन आग्रह गर्दै पौरखी सुनसरीमा निवेदन दिइन् । उनले सरितालाई गैरकानुनीरुपमा भारतीय बाटो हुदै साउदी उडाउने दलालको नाम र मोवाइल नम्बर पनि संस्थालाई उपलब्ध गराएकी थिइन् ।
संस्थाले दलाल(एजेन्ट) मणिकुमार दर्जीसँग सम्पर्क गर्दैमा करिब ६ महिना समय बितायो । उनले सरितालाई फर्काउने पहल नगरेपछि पीडित परिवारसहित पौरखी प्रहरी कार्यालय पुग्यो । प्रहरीले दर्जीलाई झिकाएपछि तीन महिनामा ल्याउछुँ भन्ने कागज गरेर उम्किए । तीन महिना बितेपनि सरिता फिर्ता ल्याउन नसकेपछि पुनः २ महिनाको समय मागेका दर्जी त्यसपछि भने फरार भए । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा प्रहरीले स्थानीयस्तरमा गरेको यस्तो सहयोग अपवादमा पर्छन् । तर, दोषीलाई थप कारबाही गराउन कानुनी, प्रशासनिक झमेलाको कारणले दर्जीले झै स्थानीय दलालहरु सहजै उम्कन्छन् ।
गाउँघर त टाढाको कुरा, धरानजस्तो शिक्षा र चेतनाको अग्रणी मानिएको शहरमा पनि विभिन्न प्रलोभनमा परि गैरकानुनीरुपमा खाडी मुलुक जाने युवती÷महिलाहरु थुप्रै छन् । स्थानीय दलालहरुले युवतीको नागरिकता, पासपोर्ट बनाउन लगानीसमेत गरिदिन्छन् र भारतीय बाटो हुदै खाडी मुलुक पुर्याउछन् । सुकुम्बासी समुदायका गरिब परिवारका युवतीहरु दलालको प्रलोभनमा सजिलै पर्छन् र खाडी मुलुकमा पुग्छन् । वैदेशिक रोजगारसम्बन्धी जुनसुकै मुद्दा वैदेशिक रोजगारले मात्रै हेर्ने भएकोले प्रहरीलाई कानुनीअधिकार छैन । जसले गर्दा खाडी मुलुकमा पुगेपछि शारीरिक, मानसिक यातनाको शिकार भएका पीडितको परिवारले सहजरुपमा कानुनी उपचार पाउदैनन् ।
‘खाडी मुलुक गएका अधिकतर महिलाहरुको विजोग छ, उनीहरुको उद्दार गर्ने माध्यम नै भएन’–पौरखी सुनसरीका अध्यक्ष चेतना श्रेङ भन्छिन्–‘प्रहरीमा गयो भने वैदेशिक रोजगार विभागमा पठाइदिन्छन्, विभागमा सबै कागजात पुर्याउनुपर्छ । विभाग राजधानीमा केन्द्रीत भएकोले हाम्रै सामुन्ने दलाल भएर पनि केही गर्न सक्ने अवस्था छैन ।’ उनका अनुसार विभागबाट प्रक्रिया पुर्याएर पक्राउ पूर्जी ल्याइसक्दा दलाल भने भागीसकेका हुन्छन् । विदेशस्थित नेपाली दुताबासले गैरकानुनीरुपमा पठाउने व्यक्तिलाई कारबाही गर्न भनिरहे पनि यहाँ भने परिस्थिति अर्कै बन्छ । ‘राजदुताबासले गैरकानुनीरुपमा जसले पठायो उसलाई कारबाही गर्नु भन्छ, पीडितले पनि प्रहरीलाई गुहार्छ तर दलाल सजिलै उम्किन्छन्’–श्रेङ भन्छिन्–‘कि वैदेशिक रोजगार विभागको अधिकारप्राप्त कार्यालय जिल्लामा हुनुपर्छ कि प्रहरीलाई पनि कारबाही गर्ने अधिकार दिइनुपर्छ ।’ गैरकानुनी बाटोबाट पठाउनेहरुको मनोवल निमिट्यान्न पार्न मानव बेचबिखनमा मुद्दा चलाउने सहज वातावरण पनि हुनुपर्ने उनको भनाई छ ।
प्रहरी भने पीडितलाई झिकाउन परिवारजनसँग समन्वय गर्न सकिने भएपनि वैदेशिक रोजगारसम्बन्धी जुनकुनै पनि मुद्दा वैदेशिक रोजगार विभागले मात्रै हेर्ने भएकोले पीडित पक्ष त्यही गर्नुपर्ने बताउछ । गैरकानुनी बाटोबाट विदेश लगिएको भए मानव बेचबिखन तथा ओसार पसारमा मुद्दा चलाउनसकिने भएपनि पीडितले अदालतमा वयान दिनुपर्ने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापा बताउछन् । ‘पीडितले म बेचिए भनेर अदालतमा वयान दिनुपर्छ, उक्त वयान न्यायाधिशबाट प्रमाणित हुन्छ र मात्रै निवेदन प्रहरीमा दर्ता हुन्छ, यसो गर्दा मुद्दा पनि वलियो हुन्छ’–डिएसपी थापा भन्छन् । विभागले पक्राउ पुर्जी जारी गरेपछि मात्रै दलाल वा एजेन्टलाई पक्राउ गर्ने प्रहरीको कानुनी अधिकार हुने उनले बताए । प्रहरीले पक्राउ गरेपनि दलाललाई विभागमा नै पठाउछ र उतैबाट मुद्दा चल्छ । ‘पीडित पक्ष विभागमै पुग्नुपर्ने हुँदा केही झञ्झटिलो हुनसक्छ तर कानुनी व्यवस्था नै यस्तै छ । वैदेशिक रोजगारसम्बन्धी मुद्दा हाम्रो क्षेत्राधिकारभित्र पदैन’–उनले भने ।
पौरखी सुनसरीका अनुसार वैदेशिक रोजगारीमा गएका एक सय महिलामध्ये ५५ देखि ६० प्रतिशत अतिपीडित एवं अति जोखिम अवस्थामा छन् । अरु सुरक्षितरुप्मा फर्कन सकेपनि कमाई गर्न सकेका हुदैनन् । पाँच प्रतिशत महिलाले मात्रै भनेजस्तो तलब पाएको वा कमाई गरेका छन् । पौरखीमा महिनामा कम्तीमा १० वटा वैदेशिक रोजगारसम्बन्धी निवेदन पर्छ, जसमध्ये ३ देखि ४ वटा विदेशमा दुःख पाएका महिला वा युवतीलाई फकाईदिनुपर्ने परिवार, आफन्तजनको आग्रह हुन्छ । ‘गैरकानुनीरुपमा जादा उसको नेपाल सरकारसँग कुनै जानकारी र तथ्यांक हुदैन, विदेशमा उसको अवस्थाबारे सरकार नै अनभिज्ञ भएपनि राम्रो हुने त कुरै हुदैन । त्यसैले सरकारले यस्ता दलाललाई कडाइका साथ कारबाही गर्नुपर्छ’–श्रेङले भनिन् ।
Comments
Post a Comment