दशैंको मुखमा एकै दिन करोडको खसी,बोका बिक्री


धरान । दशैंको मुखमा धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा लाग्ने साप्ताहिक पशु बजारबाट यो साता एक करोड बढीको कारोबार भएको छ । बजारस्थलका अनुसार गएको शुक्रबार(असोज ११ गते) एकै दिन बजारमा खसी, बोका, भेडा र च्याङ्ग्राको करोड भन्दा बढीको कारोबार भएको हो ।
उक्त दिन साप्ताहिक हाटमा १ हजार ६ सय भन्दा बढी खसी, बोका, भेडाको बिक्री भएको बजारस्थलका व्यवस्थापक लक्ष्मण भटराईले जानकारी दिए । दशैं चाड नजिकै आइसकेकोले खसी, बोकाको अत्यधिक कारोबार भएको उनले बताए । ‘दशैंमा बोकाको बलि दिने र खसी,भेडा काटेर खाने चलन भएको कारण यो साता धेरै खसी,बोका बिक्री भएको हो’–व्यवस्थापक भटराईले भने–‘यो शुक्रबार एकै दिन १६ सय भन्दा धेरै खसी,बोका, भेडाको बिक्री भयो, जसको मुल्य एक करोड भन्दा बढी हुन्छ ।’

उनका अनुसार यो कारोबार अघिल्लो बर्ष दशैंको मुखमा भएको कारोबारको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष दशैंको मुखको शुक्रबार एकै दिन १ हजार २ सय वटा खसि, बोकाको कारोबार भएको थियो । जसको मुल्य ७५ लाख हुने भटराईले बताए । बजारस्थलमा प्रत्येक शुक्रबार पशु बजार लाग्ने गर्छ । जहाँ दुई दिनअघिदेखि नै पहाडी जिल्लाबाट किसान र बिचौलिया(एजेन्ट) व्यापारीहरुले खसी, बोका, भेडा र च्याङग्रा ल्याउने गर्छ । यहाँ जिउदै खसी,बोकाको मुल्य औसतमा प्रतिकेजी ४ सय रुपैया कायम गरेर कारोबार हुने गरेको बजारस्थलले जनाएको छ । सामान्यतय ४ सय रुपैया प्रतिकेजीको दरमा बिक्री हुन्छ । ‘यहाँ २५ प्रतिशत किसानले मात्रै पशु ल्याउछन्, अरु ७५ प्रतिशत एजेन्ट(विचौलिया व्यापारी)ले लिएर आउछन्’–व्यवस्थापक भटराईले भने ।
यो बजारमा सुनसरी, भोजपुर, संखुवासभा, तेह्रजथुम, धनकुटा र कोशी पारी उदयपुर, खोटाङका किसान र व्यापारीहरुले खसी, बाख्रा,बोका, भेडा लिएर आउछन् । यहाँबाट विराटनगर, इटहरी, झुम्काका व्यापारीहरुले खरीद गरेर लैजाने गरेका छन् । पहाडी जिल्लाबाट लोकल जातको खसी, बोका आउछ भने पाँचकन्या, तरहरा र पटनाली क्षेत्रबाट लामकाने(जमुनापारी) जातको खसी,बाख्रा आउछ । संखुवासभाबाट अधिकांश भेडा र केही संख्यामा च्यांग्रा पनि आउने गरेको बजारस्थलले जनाएको छ । नेपालीहरुले दशैंमा अष्टमी र नवमीको दिन शक्तिपिठहरुमा बोका वलि दिन्छन् भने घरघरमा खसी काटेर मनाउछन् ।


बजारस्थलका अनुसार गएको शुक्रबारबाहेक गत साउनयता करिब ३ करोड खसी,बाख्रा, बोकाको कारोबार भइसकेको छ । गत आर्थिक बर्ष २०७०÷०७१ मा यो बजारमा १९ करोड ५० लाख बराबारको ३७ हजार १ सय ३३ वटा अर्थात ५५७ मेट्रिक टन खसी,बोका,भेडाको कारोबार भएको थियो । यो बजारमा टाढा टाढाको जिल्लाबाट किसानहरु बिक्रिका लागी आउने भएकाले सहुलियतमा सशुल्क बासको व्यवस्था गरिएको छ भने खसी, बोका थुन्न घरको पनि व्यबस्था गरिएकोछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे