'१२ नेपाली एक चिहान'को च्यारिटी शो हुदै


धरान । एक दशकअघिको इराक घटनामा आधारित नेपाली फिल्म ‘१२ नेपाली एक चिहान’लाई सेन्सर बोर्डले एक बर्षसम्म प्रर्दशनमा रोक लगायो । सत्य घटनामा आधारित फिल्मका निर्देशन अरुण प्रधान एक बर्षसम्म निक्कै तनावमा रहे । उनको फिल्मलाई गएको साउन २८ गते मात्रै बोर्डले क्लिन चिट दियो ।
सेन्सर बोर्डको अवरोधकै कारण फिल्म रिलिज हुन सकेको थिएन । तर, बहुप्रतिक्षित यो फिल्मलाई नेपाली चलचित्रका दर्शकले सिनेमा हलमा हेर्न अभैm कुर्नु पर्ने भएको छ । फिल्म निर्माता हलमा रिलिज नगरी च्यारिटी शोतर्फ केन्द्रीत भएका छन् । यसअघि हङकङमा प्रर्दशन भइसकेको यो फिल्म असोज १४ गते धरानस्थित गणेश टाँकिजमा च्यारिटी रेड कार्पेट शो हुनलागेको छ । ‘लामो संघर्ष र सेन्सर फुकुवा भएपछि नेपालमा पहिलो पटक धरानमा नै रेड कार्पेट शो गर्न लागेका हौं, देश विदेशबाट च्यारिटी शोको माग भइरहेको छ, त्यसैले रिजिल पछि सारेका छौं’–बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै फिल्मका लेखक एवं निर्देशक अरुण प्रधानले भने ।

उनका अनुुसार असोज १४ गते नेवार एकता समाजको संयोजनमा धरानमा रेड कार्पेट शो हुनेछ भने १५ गते ए वान इन्टरटेनमेन्ट प्रालिको संयोजनमा विराटनगरस्थित हिमालय टाँकिजमा रेड कार्पेट शो हुनेछ । यस्तै, असोज ५ गते हङकङमा पुनः दोस्रो प्रर्दशन हुनेछ । यसअघि, त्यहाँ बैशाख ६ गते प्रर्दशन भएको थियो । हङकङपछि लगत्तै सिंगापुर, ब्रुनाई, मलेशिया, दुबई, अष्ट्रेलिया र युकोमा च्यारिटी प्रर्दशन हुने प्रधानले बताए । ‘देशविदेशमा भएका सबै शोहरुबाट संकलित रकममा खर्च कट्टा गरी बाँकी रहेको रकमबाट १० प्रतिशत रकम छुट्याएर एउटा छुट्टै ट््रष्ट सञ्चालन गर्नेछौं, जसले बैदेशिक रोजगारीको क्रममा मृत्यु भएको पीडित परिवारको बालबालिकाहरुलाई छात्रवृद्धि कोष सञ्चालन हुनेछ’–निर्देशक प्रधानले भने ।
यो फिल्म २०६१ भदौ १५ गते इराकमा १२ नेपालीहरुको विभत्स हत्या गरेको बिषयमा आधारित भएर बनेको हो । यो घटनामा धनकुटाका मंगल लिम्बू, झापाका प्रकाश अधिकारी, खोटाङका राजेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, धनुषाका मनोज ठाकुर, वुदन शाह, सञ्जय ठाकुर, लालनसिंह कोइली, गोर्खाका जीतबहादुर थापा मगर, लमजुङका विष्णुहरी थापा, रोल्पाका झोकबहादुर थापा मगर र ललितपुरका रमेश खड्काको ज्यान गएको थियो । यस घटनापछि नेपालमा ठुलो हंगमा पनि मच्चिएको थियो । ‘यो घटनाले नेपालीलाई ठुलो पीडा र शोक दिएको थियो, म पनि शोकमा थिए तर यो घटना कसरी हुन पुग्यो भनेर खुल्दुली चल्यो, निरन्तर खोजमा लागेर उहाँहरुको कथालाई फिल्ममा उतार्न सके’–प्रधानले भने ।

धेरैले खाटा बसेको घाऊलाई कोट्याएको भन्ने आरोप लगाएपनि निर्देशक प्रधानले भने आफुले फिल्मको माध्यमबाट घाऊको उपचार गर्न चाहेको बताए । गैरकानुनीरुपमा विदेश जादाको पीडा, त्यहाँ भोग्नुपर्ने दुःख र समस्या नेपाली युवाहरुले अहिले पनि भोगीरहेकै छन्, त्यसलाई स्पष्टरुपमा पर्दामा उतार्ने प्रयास गरेको उनको भनाई छ । ‘यो फिल्म हेरेपछि त्यसरी विदेश जान खोज्ने ५, १० जना युवाको मनस्थिति फेर्न सकेभने म सफल भएको ठान्नेछुँ । युवाहरुले त झन् यो फिल्म हेर्नै पर्छ’–उनले थपे । उनले फिल्म बनाउनुअघि पीडित परिवारसँग भेटेर करिब पाँच बर्ष अनुसन्धान गरेका थिए । उक्त घटना हुनु एक महिनाअघि बन्दी बनेर छुटेका युवाहरुसँग पनि प्रधानले अनुसन्धानको क्रममा भेट गरेका थिए ।


फिल्मको सुटिङ ०७० जेठमा नै सकिएको थियो भने भदौ २५ मा सेन्सर बोर्डले रोक लगाएको थियो । जय हनुमान क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तमजंग लिम्बू, जतिन ताम्राकार, राजन खतिवडा, रविन्द्र झा, बिक्रम सिंह, रामभजन कामत, सोनु जयन्ती, मिलन श्रेष्ठ, सुसिल थापा मगर, उमा कार्की, निराजन मेहता, सृर्जना राई, शोभा खजुम,सुवर्ण मोहन पलिखे, सुवास थापा, सुरज थापालगायत कलाकारहरुको अभिनय छ । संगीता प्रधान निर्मात्री रहेको फिल्मको कार्यकारी निर्माता रविन श्रेष्ठ, सह निर्माता भाइसन वर्देवा, रविन राई, संगीत प्रवलदीप विश्वास, गीत शशि थापा सुब्बा, भाइसन बर्देवाको रहेको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे