श्रीमति हत्या अभियोगबाट फुटबलर विष्णु सुनारले सफाई पाए


धरान । श्रीमतिको हत्या आरोप लागेका चर्चित फुटबल खेलाडी विष्णु सुनारले सुनसरी जिल्ला अदालतबाट सफाई पाएका छन् । एक बर्षअघिको घटनामा सुनारले भदौ २४ गते अदालतबाट सफाई पाएका हुन् । 
जिल्ला अदालतका १ नम्बर न्यायाधिश गोपाल प्रसाद भटराईको इजलाशले सुनारमाथि लागेको आरोप प्रमाणित नभएको आधारमा सफाई दिएको सुनारकातर्फबाट बहस पैरवी गरेका अधिवक्ता मोहन कोइरालाले बताए । ‘नेपाल सरकार वादी रहेको मुद्दामा उनीमाथि लागेको दाबी आरोप प्रमाणित नभएकोले सफाई पाएका हुन्’–अधिवक्ता कोइरालाले भने ।
अदालतबाट सफाई पाएपछि पुपुक्र्षको लागि थुनामा रहेका सुनार भदौ २५ गते कारागारबाट मुक्त भएका छन् । उनलाई ०७० भदौ २५ गते नै इलाका प्रहरी कार्यालय धरानले अनुसन्धानको लागि भन्दै घरबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि श्रीमति सावि सुनुवारको हत्यामा संलग्न भएको आरोप लगाइएको थियो । उनलाई जिल्ला अदालतले कार्तिक ४ गते पुर्पुक्षको लागि थुनामा पठाएको थियो । ‘म निर्दोष थिएँ, ढिलै भएपनि न्याय पाए । तर, यो बीचमा धेरै तनावमा रहनुपर्यो, मैले धेरै कुरा गुमाएको छुँ’–शुक्रबार पत्रकारहरुमाझ कुरा गर्दै सुनारले भने–‘मेरो पहिलो प्राथमिकता घरबार व्यवस्थित गर्नुनै हुनेछ, त्यसपछि फुटबल क्यारियरलाई अघि बढाउने सोचमा छुँ ।’


चर्चित ए भिडिजन क्लब थ्री स्टारका रक्षा पंक्तिका महत्वपुर्ण खेलाडी सुनार गत बर्ष यही घटनाको कारणले प्रेसिडेन्ट कप खेल्न मलेसिया जान पाएनन् । उनी एमआरपि बनाउन धरान १७ स्थित घर आएको बेला उनको श्रीमतिको मृत्यु भएको थियो । घटना हुनुभन्दा १० दिनअघि घरायसी झगडा भएर श्रीमति माइत गएको र घटनाको समयमा पनि आफु छोरालाई उपचार गराउन डा. तपनकोमा गएकोले आफु निर्दोष भएको उनको भनाई छ । त्यसबेला, श्रीमति सावि उनको घरभन्दा करिब २ सय मिटरको दुरीमा रहेको चर्च छेउमा मृत अवस्थामा फेला परेको थियो । श्रीमतिको शंकालु स्वभावले असझदारी बढेर झगडा हुने गरेको स्वीकार गर्दै उनले पछिल्लो समय श्रीमति कुलतमा फसेको र उनको मृत्यु त्यही कारणले भएको हुनसक्ने बताउछन् । उनको ७ बर्षीय एक छोरा छ ।


०६० सालबाट आरसिटिबाट फुटबल लिग खेल्न शुरु गरेका सुनारले त्यसपछि ब्रिगेड ब्वाइज, ब्वाइज युनियन हुदै पछिल्लो समय करिब ४ बर्षजति थ्री स्टारमा अनुबन्धित भएर खेलेका थिए । एक बर्ष फुटबलबाट टाढिदा दशक झै लागेको बताउदै उनले यो घटनाले आफ्नो क्यारिअरलाई ठुलो धक्का लागेको पनि खुलाए । सहयोग गर्नको लागि आफ्नो क्लब थ्री स्टार र एन्फा पदाधिकारीलाई आग्रह गर्दा पनि सहयोग नपाएकोमा उनको गुनासो छ । थ्री स्टारले त आफुलाई तलबवापत दिनुपर्ने करिब साढे ४ लाख बढी पैसासमेत नदिएको उनको भनाई छ । ‘मलाई समस्या परेको बेला कसैबाट सहयोग पाइन, यत्रो समय फुटबल खेले । म फुटबलमै फर्कन्छु, सकेसम्म थ्रीस्टार क्लबबाट अब खेल्दिन’–सुनारले सुनाए–‘कुनै अर्को क्लबबाट क्यारिअर अघि बढाउछुँ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे