धरानमा रविन्द्र मिश्रको परोपकारी कविता


धरान । बिबिसि नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र परोपकारी पत्रकारिताका पक्षपाती हुन् । उनी पत्रकारितामा मात्रै परोपकारको वकालत गर्दैनन्, हेल्प नेपाल नेटवर्कमार्फत व्यावहारिकरुपमा अभियान नै चलाइरहेका छन् । आवाजमाफर्त विश्वभरका नेपालीहरुमाझ सुनिइरहने उनै मिश्र फरक परोपकारी कार्यक्रममार्फत शनिबार धरानमा सुनिए ।
परोपकारी उद्देश्य भएपनि कार्यक्रम साहित्यिक थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिक्रमा विद्यार्थी परिवारले पत्रकार मिश्रको परोपकारी एकल कविता वाचन तथा अन्तरङ्ग कुराकानी आयोजना गरेको थियो । परोपकारी पत्रकार र लेखककोरुपमा स्थापित मिश्रको धरानमा परोपकारी कविकोरुपमा पनि वाहवाही भयो । टिकट काटेर प्रतिष्ठानको अडिटोरियम हलमा कविता सुन्न भेला भएका स्रोताहरुले उनको कविताको मात्रै तारिफ गरेनन्, एकल कविता वाचनको उद्देश्यबाट पनि उनी प्रसंसित बने ।
कविता वाचन कार्यक्रमको टिकट बिक्रीबाट संकलित रकम धरान १५, खोरिया वस्तीस्थित जनता प्राविका नर्सरीका विद्यार्थीलाई शैक्षिक सामग्री खरीद्य गरेर दिइने आयोजकले जनाएको छ । गरिब सुकुम्बासी वस्तीका बालबालिकाहरु पढ्ने यो विद्यालयले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई शुरु गर्ने तयारी गरिरहेको छ । विद्यालयलाई शैक्षिक सामग्री खरीद गर्न संकलित रकम सहयोग गरिने पत्रका, कवि मिश्रले बताए । ‘परोपकारलाई जीवनको विविध पक्षसँग जोड्नुपर्छ, कसै न कसैले लाभ पाउछ । तब समाज अग्रगामी परिवर्तनको दिशामा अघि बढ्न भन्ने मलाई लाग्छ’–मिश्रले भने–‘कविता सुनाएर परोपकारी काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण आज भएको छ ।’
उनको दुई महिना अघि रविन्द्र मिश्रका कविता नामक संग्रह प्रकाशित भएको थियो । त्यसअघि, उनका भुमध्य रेखा र खान पुगोस, दिन पुगोस पुस्तक प्रकाशन भएको थियो । लेखक मिश्रले यी तीन वटै पुस्तकको रोयल्टीवापतको रकम चितवनका गरिब, अशिक्षित चेपाङ जातिलाई सहयोग गर्ने घोषणा गरेका छन् । एक सय पचास रुपैया मुल्यको यो संग्रह शनिबार धरानमा पनि बिक्रीमा राखिएको थियो । त्यसबाट प्राप्त रोयल्टी पनि गरिब चेपाङहरुलाई सहयोग गर्ने उनले जनाए ।
कार्यक्रममा धरान, इटहरीका साहित्यकार, बीपीका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । आमा..शिर्षकबाट कविता वाचन शुरु गरेका मिश्रका तिमी भएनौ भने, म के हुँ, धोका, अमरत्वको अर्थहिनता, माओवादी विद्रोहीको कविता, माओवादी पीडितको कविता, नेता जी तपाई त साह्रै गन्हाउनु भो जस्ता प्रेम, देशभक्ति, राजनीति, द्धन्दको प्रभाव बिषयका कविताहरु सुनाए । पिण्डेश्वर विद्यापिठका क्याम्पस प्रमुख डा.भिम खतिवडाले विचरा उ मरेपछि शिर्षकको कविता पाठ गरेका थिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे