मिस पूर्वाञ्चलका सहभागी नाम्जे–थुम्की होम स्टेमा(फोटोफिचर)


धरान । अमेरिकी समाचार संस्था सिएनएनले २०६८ सालमा भेडेटार ७ स्थित नाम्जे गाउँलाई विश्वको उत्कृष्ट गन्तव्यमध्ये एक भएको घोषणा गर्यो । त्यसपछि विश्वभर चासो र चर्चा कमाएको नाम्जे गाउँ हेर्न आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेपनि धरान ११ की १९ बर्षीय स्मृति श्रेष्ठ त्यहाँ पुगेकी थिइनन् ।
उनै श्रेष्ठ शनिबार भने पर्यटकीयस्थल भेडेटार पर्तिरको नाम्जे थुम्की गाउँ पहिलो पटक पुगिन् । त्यहाँको प्राकृतिक सौन्दर्य र मौषमले त उनलाई लठ्यायो नै, गाउँको होम स्टेमा स्थानीयको न्यायो स्वागत र आतिथ्यले उनको मन पुलकित भयो । ‘पहिला आएको थिइन, यहाँको स्वागत, बसाई र न्यायो मायाले ज्यादै रमाइलो अनि आनन्द महसुस भइरहेको छ’–एक रात बिताइसकेपछि आइतबार बिहान उनले भनिन्–‘यही बसिरहुँ जस्तो भइरहेको छ, आफ्नै घरपरिवारमा नै बसेको जस्तो ।’ मिस पूर्वाञ्चल २०१५ की प्रतिस्पर्धी स्मृतिलाई आयोजकले शनिबार नाम्जे थुम्कीस्थित होम स्टेमा पुर्याएको हो । उनले आफ्नो साथीभाई, परिवारसँग आउने योजना पनि बनाइसकेकी छिन् ।
स्मृति मात्रै होइन, शनिबार मिस पूर्वाञ्चल २०१५ की १४ जना प्रतिस्पर्धी पूर्वेली सुन्दरीसहित अढाई दर्जन आयोजक टोलीले नाम्जे थुम्की होम स्टेमा रात बिताए । होम स्टे अनुभवन अधिकांश प्रतिस्पर्धी सुन्दरीहरुको पहिलो थियो । होम स्टेमा प्रतिस्पर्धीहरु विराटनगरकी प्रियंका श्रेष्ठ, झापाकी अनिता थापा, सञ्जु मल्ल ठकुरी, प्रमिशा बज्रचार्य, अनिता थापा, धरानकी शरुपा थापा मगर, विद्या चौहान, स्मृती श्रेष्ठ, पुजा खड्का, मोरङ केराबारीकी सामुना मगर, लेटाङकी साइरा मगर, इटहरीकी लोटस चाम्लिङ, मिसाल श्रेष्ठ र उदयपुर गाइघाटकी स्मिता थापा गएकी थिइन् । मिस पूर्वाञ्चल २०१३ नेहा बजाज र २०१४ की विजेता नेमिता अङबुहाङ पनि उनीहरुसँग थिइन् । पहिलो अनुभव भएपनि होम स्टे एकदमै रमाइलो भएको अर्की सहभागी शरुपाले बताइन् । ‘विरानो ठाउँ आएजस्तो लागेन, रमाइलो भयो’–उनले भनिन् ।
मिस पूर्वाञ्चलको टोलीलाई शुरुमा होटल एशोसिएशन अफ भेडेटारले स्वागत गरेको थियो । एशोसिएशनकै सहयोगमा नाम्जे–थुम्की होम स्टे व्यवस्थापन समितिले स्थानीयका घरमा टोलीलाई राख्ने प्रबन्ध मिलाएको थियो । समितिले लालीगुराँसको फुलको मालाले टोलीलाई स्वागत गरेको थियो भने स्थानीय साँस्कृतिक टोलीले पूर्वका मगर जातिले मात्रै नाच्ने हुर्रा नाच पनि प्रस्तुत गरेर मनोरञ्जन दिलाएको थियो । त्यसअघि, सुन्दरीहरुले थुम्की डाँडामा अवस्थित आत्मघर पुगेर तराईका जिल्ला, सप्तकोशीसँगै सुर्यस्तको मनोरम दृष्यावलोकन पनि गरे ।
होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिल राना मगरका अनुसार भेडेटार बजारबाट ४ किलोमिटर पूर्वमा अवस्थित नाम्जे–थुम्की क्षेत्रमा १९ घरमा होम स्टे व्यवस्था छ । हरदम चिसो मौसम रहने यहाँ पाहुना एवं पर्यटकहरुलाई भुटेको मकै, भटमास र गुन्द्रुकको अचारले स्वागत गरिन्छ भने चाहनाअनुसार मकैको ढिडो, सिस्नोको तरकारी, अग्र्यानिक तरकारी, वंगुर र लोकल कुखुराको मासुको मिठो स्वाद चाख्न पाउछन् । ‘सकेसम्म गाउँले परिवेश, रहनसहन, सँस्कृतिबाट पाहुनाहरुलाई स्वागत, सत्कार गर्ने हाम्रो प्रयास छ’–अध्यक्ष मगरले भने ।
होटल एशोसिएशनका अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले पूर्वका विभिन्न जिल्लाबाट सहभागी मिस पूर्वाञ्चलका प्रतिस्पर्धीहरु पर्यटनका सद्भावना दुत भएको बताए । आफ्नो ठाउँमा फर्किएपछि यहाँको हावापानी, सेवा सुविधा र सत्कारबारे सुन्दरीहरुले प्रचार गरेर पर्यटन प्रर्वद्धन हुने स्थानीयले अपेक्षा लिएको उनले बताए । ‘धेरै ठाउँका सहभागी छन्, कतिलाई नाम्जे र यहाँको होम स्टेबारे थाहै छैन’– मिस पूर्वाञ्चल २०१५ का कोअर्डिनेटर विजय मगरले भने–‘पर्यटन प्रर्वद्धन र होम स्टे कसरी हुन्छ ? स्वागत सत्कार, स्थानीय सँस्कृति, रहन सहन कस्तो हुन्छ भनेर प्रत्यक्ष देखाउन ल्याएका हौं ।’













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे