बीपीका पदाधिकारीको कार्यकक्षको ताला खुल्यो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीको कार्यकक्षमा लागेको ताला एक साता पछि खुलेको छ । धरान स्वतन्त्र समाजको पहलमा आइतबार अबेर राती पदाधिकारी र आन्दोलनरत कर्मचारी कल्याण तदर्थ समितिबीच वार्तामा सहमति भएपछि ताला खुलेको हो ।
वार्तामा उच्चस्तरीय तलबमान आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र असार मसान्तभित्र सबै कर्मचारीलाई बृद्धि भएको तलब खुलाउने सहमति छ । प्रतिवेदन छिटो सार्वजनिक गर्ने र डेटलाइन अघि नै यथासक्य चाडो वृद्धि तलब मन्त्रालयबाट निकासा गर्न तदर्थ समिति व्यवस्थापनले संयुक्तरुपमा पहल गर्ने, यसको लागि तदर्थ समितिको तर्फबाटसमेत अध्यक्ष राजनप्रसाद कोइरालालाई प्रतिनिधिकोरुपमा खटाउने सहमति भएको वार्तामा सहमति समितिका सल्लाहकार महेश्वर राईले जानकारी दिए ।
आन्दोलनको क्रममा एकआपसमा लगाइएको आरोपहरु वर्ता र छलफलसँगै समाप्त भई सौहार्दता कायम गर्ने पनि सहमति पत्रमा उल्लेख छ । अख्तियारले फाइल नियन्त्रण लिएको बिषय उपकुलपति बीपी दासले स्थानीय एक पत्रिकामा कर्मचारीलाई फटाहा भनिएको समाचार छापिएपछि तदर्थ समितिले रुष्ट हुदै चैत २२ गते चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । आक्रोशित तदर्थ समितिको नेतृत्वले पदाधिकारीलाई भ्रष्टचारी भन्ने आरोप लगाएका थिए । तदर्थ समितिको नेतृत्वमा बिहान ८ देखि १० बजेसम्म कर्मचारीहरु जिओपिडी भवन अघि धर्नामा पनि बस्ने गरेका थिए ।
तदर्थ समिति र पदाधिकारीबीच भएको सहमतिको बुँदामा अबदेखि आन्दोलन नगर्ने पनि उल्लेख छ । यो बुँदा राख्ने र नराख्ने बीच दुवै पक्षबीच धेरैबेरसम्म रस्साकस्सी भएको थियो । ‘तदर्थ समितिले अबदेखि आन्दोलन नगर्ने बुँदा हटाउनुपर्छ भन्ने अडान लिएको थियो, पदाधिकारीहरुले तपाईहरु फेरि आन्दोलन गर्ने ? भनेर प्रश्न गरे’–वार्ताका एक सहभागीले भने–‘कर्मचारीहरुले गर्दनौं तर यो बुँदा नलेखौं भन्थे । पदाधिकारीले नगर्ने हो भने लेख्दा के भो भन्थे, यही बुँदामा धेरैबेरसम्म विवाद भइरह्यो ।’ सहमति पछि आइतबार राती करिब साढे ८ बजे नै उपकुलपति डा.बीपी दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अस्पताल निर्देशक डा.अरविन्द सिन्हाको कार्यकक्षको ताला खोलिएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे