होटलले गर्दा घरको धारामा पानी नआएको गुनासो

धरान । खानेपानी संस्थानका कर्मचारीहरुले प्रभावमा परेर एक होटललाई मात्रै सुविधा हुने गरि खानेपानी वितरण गरेको भन्दै धरान ९ बगैचा लाइनबासीहरुले दुःखेसो पोखेका छन् । धरान ९ स्थित होटल रत्ना इनलाई मात्रै पानीको सुविधा पुग्ने गरि वितरण गर्दा वगैचा लाइनका अढाई सय घरको धारामा भने पानी नै नआउने गरेको स्थानीयको गुनासो छ ।
संस्थानमा धेरै पटक डेलिगेशन गएपनि सुनुवाई नभएको उनीहरुले बताए । ‘पहिला पानी प्रशस्तै आउथ्यो, तर यो होटल शुरु भएदेखि विस्तारदै आउन छोड्यो । अलेच त एक थोपा पानी आउदैन’–स्थानीय रत्न कटवालले भने–‘संस्थानलाई भन्दा कहिले अर्कैतिरको भल्वको खराबी भन्छन्, कहिले सुख्खा याम भन्छन्, तर खास कुरा होटल र कर्मचारीको मिलेमतोमा वदमासी भएको रहेछ ।’ स्थानीयका अनुसार चोकमा एउटा भल्व राखिएको छ । जहाँबाट संस्थानले तोकेको क्षेत्र र समयअनुसार पानी वितरण प्रणाली चल्छ । यो प्रणालीलाई संस्थानका कर्मचारीले मात्रै सञ्चालन गर्नुपर्नेमा होटल सञ्चालक आफै आएर मनखुशी चलाउने गरेको स्थानीयले बताए । ‘होटलवाला आफै रेञ्ची लिएर घुमाउदो रैछ, हाम्रो तिर बन्द गरेर होटलले लैजादो रहेछ, अनि हाम्रो तिर जहिल्यै पानी अभाव’–स्थानीय युवा सुर्य कटवालले भने । राती ११ बजेतिर होटल सञ्चालक आफै आएर भल्व घुमाउने गरेको प्रत्यक्ष देखेको स्थानीय टेरेशा लिम्बूले बताइन् ।
बिहिबार होटलमा हेर्दा आधा इञ्चीको थप २ वटा धारा जडान गरेको भेटिएको स्थानीयबासीको दाबी छ । होटलले पौने इञ्ची पाइपको धारा जडानको मात्रै स्वीकृति लिएकोले त्यो गैरकानुनी हुने स्थानीयको भनाई छ । होटल सञ्चालक नविन श्रेष्ठले भने आफुले त्यसरी भल्व नचलाउने जिकिर गर्दै पौने इञ्चीको पाइप जोडेपछि हाफ इञ्चीको पाइपलाइन संस्थानले काटीसकेको बताए । ‘मैले भल्व घुमाएको छैन, आधा इञ्चीको पाइप लगेको पनि छैन । पौने इञ्ची लगेपछि त्यो काटिसकेको छ, गएर हेर्न सक्नुहुन्छ’–होटल सञ्चालक श्रेष्ठले भने–‘विश्वास नलागे छानबिन समिति गठन गरेर हेरौं पनि भनेको छुँ, गल्ती गरेकै छैन, म डराउदिन ।’
आक्रोशित स्थानीयले शुक्रबार संस्थानको कर्मचारीको रोहबरमा चोकको भल्व रहेको स्थानमा खनेर हेरेका थिए । त्यसक्रममा आधा इञ्चीको पाइप होटलमा लगेको भेटिएकोले त्यसलाई तत्कालै काटिएको रत्न कटवालले बताए । त्यसबिषयमा कर्मचारीलाई कुरा राख्दा आफुभन्दा माथिका कर्मचारीलाई कार्यालयमा गएर भेट्नुस भनेको उनले बताए । ‘मभन्दा माथि हाकिम छन्, उहाँहरुलाई भन्नुस् भन्नुभयो’–कर्मचारीको भनाई उदृत गर्दै कटवालले भने–‘हामी आइतबार निवेदन लिएर फेरि जान्छौं । होटललाई कारबाही होस र हामीलाई वैकल्पिकरुपमा खानेपानीको व्यवस्थापन गरियोस् भन्ने माग गछौं ।’
संस्थानका प्रशासन प्रमुख के.पी.शर्माले भने होटलले नियमअनुसार पौने इञ्ची पाइपको स्वीकृति विभागबाट लिएको र आधा इञ्ची पाइपलाइनको कनेक्सन काटिएको बताए । होटलतर्फ ओरालो जमिन भएकोले पानी बगेर जाने गरेको र वगैचा लाइनतर्फको कनेक्शन भने उचाईमा भएकोले समस्या देखिएको उनले बताए । ‘होटलले अनियमितता गरेको भए धारा काट्छौं, तर त्यस्तो भएको छ जस्तो लाग्दैन । स्थानीयलाई ट्यांकरबाट पानीको व्यवस्था गरेका छांै, समस्या हल गर्न अरु पनि उपाय खोज्छौं’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे