‘मिनि ब्राजिल’मा खेल पूर्वाधार अभाव
धरान । मोफसलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप धरान १६ स्थित धरान रंगशालामा हुन नपाएको चार बर्ष भइसक्यो । गोल्डकपको चार सँस्करण उमेर समुहलाई प्रशिक्षण दिलाउन निर्माण गरिएको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा आयोजना भयो । धरान रंगशालामा कहिलेदेखि नियमित गोल्डकप सञ्चालनमा आउने हो, आयोजक धरान फुटबल क्लब नै अन्यौलमा छ ।
कुनै समय फुटबलप्रति स्थानीय र युवाहरुको आर्कषणले गर्दा धरानले ‘मिनि ब्राजिल’को उपमा पाएको हो । तर, यही मिनि ब्राजिलमा अहिले स्तरीय प्रतियोगिता गर्न पूर्वाधारयुक्त खेल मैदान छैन । धरानभित्रै एक दर्जन मैदान छ, तर ती मैदानको संरक्षण र मर्मत नहुदा खेलाडीलाई प्रशिक्षण गराउने अवस्था पनि नभएको खेलकुदकर्मीहरु बताउछन् । समयसँगै रंगशाला एवं खेल मैदानको स्तरोन्नती गर्न राज्य एवं सरोकारवाला निकायले ध्यान नदिदा खेलकुदको शहरमा ओझेलमा पर्दै गएको एन्फा केन्द्रीय उपाध्यक्ष एवं धरान फुटबल क्लबका अध्यक्ष किसोर राई बताउछन् । ‘हामी धरानलाई खेलकुदको शहर मात्रै भनिरह्यौं, पूर्वाधार विकासमा ध्यान नै दिएनौं । रंगशाला पनि नाम मात्रैको छ । कहिले बनिसक्ने हो, थाह छैन’–उनले भने–‘विश्वकप छनौट चरण, राष्ट्रिय लिग खेलाउन सक्ने पूर्वाधारयुक्त मैदान छैन । हाम्रा खेलाडीले राम्रो मैदानमा सिक्नै पाएनन् । व्यावसायिकतामा पनि यसले असर गर्छ ।’
सरकारले आर्थिक बर्ष ०६६/०६७ मा सुनसरीमा क्षेत्रीयस्तरको रंगशाला बनाउने भन्दै बजेट विनियोजन गरेपछि इनरुवा, इटहरी र धरानबीच तानातान हुनु खेलकुदको लागि दुर्भाग्य भएको उनको ठम्याइ छ । राष्ट्रिय खेलकुद परिषदले गुरुयोजना बनाएर धरान रंगशालालाई पूर्वाधारयुक्त बनाउन शुरु गरेको चार बर्ष भइसक्यो, तर निर्माण कार्य कछुवा गतिमा छ । बजेट अभावले रंगशाला निर्माणको काम गति लिन सकेको छैन । गुरुयोजनाअन्र्तगत रंगशाला क्षेत्रमा हालसम्म सेमी कवर्ड हल मात्र बनेको छ । खेल मैदानमा उत्तरतर्फको जेनरल प्याराफिटको एक भाग तयार भएको छ भने पश्चिमतर्फ भिआइपी प्याराफिट बन्दैछ । ‘अब पूर्वतर्फ अर्को जेनरल प्याराफिट बन्न शुरु भएको छ । गुरुयोजनावमोजिम अझै इनर ड्रेन, आउटर ड्रेन, ट्रयाक एण्ड फिल्ड, फिल्ड फिनिसिङ, जनरल प्याराफिट बन्न बाँकी नै छ’–परिषदका साइड इञ्जिनियर पुर्ण सुन्दास भन्छन्–‘हरेक बर्ष बजेट आउछ, त्यसले कति बनाउन सकिन्छ, रंगशाला कहिले बनिसक्छ भन्ने कुरा त्यसमा भर पर्छ ।’ क्षेत्रीय रंगशाला विवादले बजेट फ्रिज हुदै गएपछि धरान र इटहरीबीच बजेट आधा आधा उपभोग गर्ने सहमति भएको थियो । त्यही सहमति अनुसार अहिले धरान र इटहरीमा रंगशाला निर्माणको काम हुदैछ ।
फुटबल मात्रै होइन, यहाँ खेलकुदका अन्य विधामा पनि पूर्वाधार अभाव छ । क्रिकेटको अभ्यास गर्ने मैदानसमेत छैन भने बास्केटवल, ब्याडमिन्टन, कराते, बक्सिङलगायत इन्डोर खेल आयोजना गर्ने व्यवस्थित हल छैन । जिल्ला खेलकुद विकास समितिअन्र्तगत धरानमा एउटा कवर्ड हल छ । जहाँ खेलाडी प्रशिक्षणदेखि बेला बेला इन्डोर खेलका प्रतियोगिताहरु आयोजना हुन्छ । विभिन्न क्याम्पस, स्कुल, सामाजिक संस्था एवं वन समुहहरुले बास्केटवल, ब्याडमिन्टन कोर्ट बनाएका छन् । तर, ती कोर्टहरुमा खेलाडी अभ्यास गर्ने पूर्वाधार मात्रै छ । ‘धरानमा जे जति संरचनाहरु बनेका छन्, ती खेल अभ्यास गर्न मात्रै उपयुक्त छ । त्यहाँ प्रतियोगिता गराउदा दर्शक र निर्णायकहरु बस्नको लागि सुविधा छैन’–बक्सिङका राष्ट्रिय प्रशिक्षक अनुप लामा भन्छन्–‘यहाँ प्रशस्तै खेलाडीहरु छन्, धरान खेलाडीहरुको शहर हो । तर खेल कला, कौशल देखाउने ठाउँ छैन । प्रतियोगिताहरु पनि कमै हुन्छ ।’ उनका अनुसार बक्सिङ खेलाडीहरु जोखिम मोलेर कवर्ड हलमा प्रशिक्षण गर्छन् । यहाँ गल्फ खेलको मात्रै प्रशिक्षण र प्रतियोगिताको लागि पूर्वाधारयुक्त छ । जिल्ला पौडी संघले पौडी प्रतियोगिता गर्ने घोषणा गर्यो, तर दुई बर्ष बितिसक्दा पनि आयोजना गर्न सकेन । धरान १५ रिक्रिएशन सेन्टरस्थित स्विमिङ पुललाई महंगो शुल्क तिर्नु पर्ने भएपछि प्रतियोगिता गराउन नसकेको आयोजकको भनाई छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा हुने निश्चित नहुदा खेलकुदका पूर्वाधार निर्माणमा असर पुगेको बताउछन् । क्षेत्रीय रंगशालाको विवादले सुनसरीमा पूर्वाधारयुक्त रंगशाला बन्न नसक्नु दुर्भाग्य भएको उनले बताए । ‘रंगशाला कहिले बनिसक्छ ठेगान छैन, अन्य खेलकुद मैदानहरु पनि व्यवस्थित छैन । मुख्य कुरा बजेट नै अभाव छ’–उनले भने । एन्फा केन्द्रीय उपाध्यक्ष राई पूर्वाधार निर्माणमा स्थानीय निकाय,खेलकुदकर्मी र पछिल्लो समय धरानबासीहरुले पनि चासो कम दिएको कारणले पनि यस्तो अवस्था आएको बताउछन् । सम्भावना हुदा हुदै पनि पूर्वाधार निर्माणमा राज्यले लगानी नगरेको उनले बताए । जिविस, नगरपालिका, गाविसहरुले खेलकुद नीति बनाएर लगानी गरेमात्रै उपलब्धी हुने उनको भनाई छ । उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जनस्तरबाट खेलकुदको पूर्वाधार निर्माणको माग नआएसम्म बजेट बिनियोजन गर्न नसकिने बताउछन् । ‘योजना छनौट वडास्तरबाट नै हुन्छ, त्यसबेला खेलकुद पूर्वाधारको माग आएमात्रै लगानी हुन्छ । जनताले जे माग गर्छन्, बजेट त्यसैमा छुटिने हो’–खतिवडाले भने–‘तरपनि एन्फा सेन्टर र बन्दै गरेको रंगशालामा पनि उपमहानगरपालिकाले लगानी गरेकोछ ।’
Comments
Post a Comment