जनमुक्ति पार्टीको राष्ट्रिय भेला नारायणगढमा हुने

धरान । राष्ट्रिय जनमुक्ति पार्टीको तीन दिने ११ औं राष्ट्रिय भेला बैशाख अन्तिम साता चितवनको नारायणगढमा हुने भएको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दै पार्टीले शनिबार धरान ४ स्थित होटल सेक्षमा आयोजना गरेको अन्र्तक्रियामा राष्ट्रिय भेला बैशाख २६, २७ र २८ गते चितवनमा हुने जानकारी दिएको हो ।
उक्त भेलाले गहन छलफल गरेर सशक्त नीति र योजना पारित गरेर अघि बढ्ने पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष के.पी.पालुङ्वाले बताए । उनका अनुसार भेला पछि पहिचान र अधिकारसहितको संघीय अग्रगामी संविधान निर्माणमा पार्टी दृढ भएर अघि बढ्नेछ भने कथित बहुमतको घमण्ड गरिरहेका पार्टीहरुलाई पनि परास्त गर्ने नीति तथा योजना अवलम्बन गरिनेछ ।  तीस दलीय गठबन्धनमा रहेर सरकार एवं सत्तारुढविरुद्ध आन्दोलनरत पार्टीका उपाध्यक्ष पालुङ्वाले कथित बहुमतको आडमा कांग्रेस र एमालेले २०४७ सालको संविधानलाई थोरै परिमार्जित गर्दै ब्युताउन खोजिरहेको आरोप लगाए । ‘यस किसिमको षड्यन्त्रले जनताको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व पहिचान र अधिकार, समावेशी लोकतन्त्रलगायत अग्रगामी एजेण्डाहरु गम्भीर संकटमा पर्दै गइरहेको छ’–उनले भने–‘यी एजेण्डालाई संविधानसभाभित्रको बहुमतीय प्रक्रियाले पाखा लगाउने र सत्तारुढ दलले ल्याएको कथित संघीय प्रदेशसहितको ९ बुँदे प्रक्रियामार्फत पारीत गरेर संविधान जारी गर्ने प्रपञ्च हुदैछ, तर हामी यो कदापि हुन दिदैनौं ।’
एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको बिशेष आग्रहमा ३० दलीय सहमतिमै चैत २५ र २६ गतेको आम हड्ताल स्थगन गरिएको उल्लेख गर्दै नेता पालुङ्वाले अबको निर्णायक आन्दोलन एमाओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वमा हुने र पार्टीले ऐक्यवद्धता जनाइरहने पनि प्रष्ट्याए । साथै, पहिचान, अधिकार, संघीयताको मुद्दा लिएर मोर्चाले आन्दोलन गरिञ्जेल पार्टीको साथ रहने पनि उनले बताए । ‘तीस दलीय मोर्चा अहिले एक छ, हामी पनि प्रतिवद्ध छौं । जबसम्म एमाओवादीले यी साझा मुद्दा छोड्दैन, तबसम्म हामी साथ हुनेछौं, तर मुद्दा छोडेर एक्लै जान खोज्यो भने पनि हामी छुट्टै आन्दोलन गछौं’–उनले भने ।
पार्टीले पहिचान र संघीयता पक्षधर राजनीतिक दल तथा शक्तिहरुसँग अन्तर संवाद र संयोजन गर्ने नीति लिएपनि संघीय समाजवादी पार्टीसँगको एकता अन्तिम समयमा हुन नसकेको नेता पालुङ्वाले बताए । ‘हामी धेरैपटक एकताको लागि वार्तामा बस्यौं, तर उहाँ(समाजवादी नेता)हरुको एकीकरण अवधारणामा ३ वटा फरक कुरा आयो, जसले एकीकरण हुन दिएन’–उनले भने–‘माक्र्सवाद, संघीय समाजवाद उहाँहरुको बटमलाइन भयो, यसले गर्दा एकीकरण भएन ।’ अन्र्तक्रियामा पार्टीका संस्थापक सदस्य रामबहादुर तुम्बाहाम्फे, केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इञ्चार्ज चन्द्र खापुङ, जिल्ला उपाध्यक्ष रमेश गजमेर, लिम्बूवान राज्य परिषद इञ्चार्ज पदम जबेगुलगायतको उपस्थिति रहेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे