अञ्जली मृत्यु प्रकरण: कारबाहीको माग गर्दै महिलाहरुद्धारा र्याली

 धरान । महिलाले आत्महत्या गरेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेको घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुन वमोजिम कारबाहीको माग गर्दै महिलाहरुले इलाका प्रशासन कार्यालय धरानमा ज्ञानपत्र बुझाएका छन् । धरान १६ स्थित प्रगतिशिल आमा समुहको नेतृत्वमा गएका महिलाहरुले कार्यालय प्रमुखलाई ज्ञापन बुझाउदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।
समुहको नेतृत्वमा प्रगति मार्गदेखि महिलाहरुले ब्यानर र प्ले कार्डसहित र्याली गरेर ज्ञापनपत्र बुझाउन गएका थिए । उनीहरुले महिलामाथि हिंसा गर्नेलाई कडा कारबाही गर्न माग गर्दै नारासमेत लगाएका थिए । श्रीमान् सुजन श्रेष्ठ र सुसुरा अशोक श्रेष्ठले कुटपिट गरेर अञ्जली राई श्रेष्ठलाई मारेको भएपनि प्रहरीले मिलेमतोमा आत्महत्या बनाएको भन्दै समुहले वेवास्ता गरे संघर्षको कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ । ज्ञापन पत्रमा सुजन र ससुराले कुटपिट गरेको केही समयपछि अञ्जली गुहार गुहार भन्दै घर बाहिर निस्केको र पुनः सुजनले घिसार्दै भित्र लगेको छिमेकीले देखेको उल्लेख छ ।
यस्तै, अञ्जलीलाई बचाउन भित्र जान खोज्दा ससुरा अशोकले घरको मामला हो भन्दै छकेको केही मिनेटमै अञ्जलीलाई कस्ले मार्यो भन्दै सुजन भागेपछि छिमेकी जादा अञ्जलीको मृत शरीर ससुराले काखमा भएको अवस्थामा देखिएको ज्ञापनपत्रमा उल्लेख छ । घटनास्थलको वस्तुस्थिति हेर्दा र अञ्जलीको शरीरभरि देखिएको निलडाम, चोटले पनि उनको कुटपिट गरि हत्या गरिएको हुनसक्ने भएकोले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
स्थानीय महिलाहरुले स्थानीय एवं कांग्रेस क्षेन नम्बर १ का नेता मुरारी भटराई, क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी)को दबाब र प्रभावमा परेर प्रहरीले घटनालाई बंग्यएको आरोप लगाएका छन् । उनीहरुकै चलखेलको कारणले प्रहरीले पीडित पक्षको जाहेरीसमेत दर्ता नगरी अन्याय गरेको छिमेकी राधा रञ्जितकारले बताइन् । ‘प्रहरीले जोहरी दर्ता गरेर अनुसन्धान गरी प्रमाण पेश गरेपछि अदालतबाट पो दोषी र निर्दोष सावित गराउने हो त, यहाँ त प्रहरीले नै अदालतले जस्तो हत्या होइन, आत्महत्या हो भन्दैछ’–उनले भनिन् ।
कांग्रेस क्षेत्रीय नेता भटराईले भने घटनामा आफुहरुको नाम मुछिएकोमा आश्चर्य प्रकट गर्दै प्रहरीलाई कुनै दबाब र प्रभाव नदिएको बताए । ‘सभापति ज्युको आफन्त हुन् जस्तो मलाई लाग्दैन । मेरो पनि लिनुदिनु केही छैन, त्यसरी घटनालाई बंग्याइरहनु किन पर्यो र ? हामीले कुनै दबाब र मिलेमतो गरेकै छैन’–भटराईले भने ।
गएको आइतबार राती घरमा मृत भेटिएकी धरान १६ प्रगति टोलकी अञ्जली राई पति सुजनसँग झगडा र कुटपिट भइरहेको केही समयमै मृत भेटिएको थियो । माइती पक्ष र छिमेकीहरुले श्रीमान् र ससुराले हत्या गरेको दाबी गरिरहेका छन् । तर, घटनास्थलको मुचल्का र पोष्टमार्टम रिपोर्टले पाशो लागेर आत्महत्या गरेको देखिएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि तीन दिनयता प्रहरी र स्थानीयबीच द्धन्द बढेको छ । महिलाहरुले बुधबार र बिहिबार इलाका प्रहरी कार्यालयमा धर्ना, नाराबाजी गर्दै जाहेरी दर्ता गरेर सत्यतथ्य अनुसन्धान गर्न दबाब दिएपनि प्रहरीले मानेको छैन । भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने कि नगर्ने निर्णय हुने प्रहरीको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे