बुढासुब्बा गोल्डकप आयोजकलाई २ लाख घाटा


धरान । फागुन तेस्रो साता सम्पन्न १७ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको आयोजक धरान फुटबल क्लबलाई दुई लाख बढी घाटा भएको छ । क्लबले बुधबार प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै २ लाख २० हजार ४ सय ९७ रुपैया घाटा भएको जानकारी दिएको छ ।
क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले प्रतियोगितामा कुल ४० लाख १५ हजार ३ सय ९५ रुयैया आय भएपनि ४२ लाख ३५ हजार ८ सय ९२ रुपैया खर्च भएको जनाएका छन् । उनका अनुसार प्रतियोगितालाई सहयोगको वाचा गरेका केही व्यक्ति र संघसंस्थाहरुबाट पैसा आउन अझै बाँकी रहेकोले ती स्रोतबाट रकम नआए घाटा पनि बढ्न सक्नेछ । ‘सहयोगको वचन दिएका केही व्यक्ति, संस्थाहरुबाट पुरै रकम आउन बाँकी छ, त्यो रकम आएन भने घाटा अझै बढी हुनसक्छ’–उनले भने ।
आयोजकले गेट टिकटको बिक्रीबाट अपेक्षा गरेभन्दा ज्यादै कम रकम संकलन भएकोले पनि प्रतियोगिता घाटामा गएको हो । यो संस्करणमा टिकट बिक्रीबाट ७ लाख ४० हजार ८ सय ९५ मात्रै संकलन भएको छ । आयोजकले भने कम्तीमा १० लाख देखि १२ लाख रुपैया टिकट बिक्रीबाट संकलन हुने अनुमान गरेको थियो । विगतमा साढे १२ लाख रुपैयासम्म संकलन भएको थियो । तर, अनुमान विपरीत बुढासुब्बाको इतिहासमै सबै भन्दा न्युन रकम टिकट बिक्रीबाट संलकन भएको क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । ‘टिकट बिक्रीबाट उठेको यो अहिलेसम्मकै कम हो, एउटा म्याचमा ९ हजार र अर्कोमा १५ हजार रुपैयामा मात्रै पनि उठ्यो’–अध्यक्ष राईले भने–‘यसले खेलकुदप्रति जनताको उत्साह घट्दै गएको हो कि भन्ने शंका पनि उब्जाएको छ ।’
प्रतियोगिता जति नै घाटा भएपनि निरन्तरता दिइने आयोजकले प्रतिवद्धता जनाएको छ । ०५५ सालदेखि शुरुवात भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने नेपालको एक मात्र प्रतियोगिता हो । धरानलाई खेलकुदको शहरकोरुपमा स्थापित गराउन यो प्रतियोगिताको पनि ठुलो देन छ ।
.............

                     क्लब व्यावसायमुखी बन्ने

घाटा खाएर बुढासुब्बा गोल्डकप बर्षेनी आयोजना गरिरहेको धरान फुटबल क्लबलाई व्यावसायमुखी बनाइने भएको छ । आर्थिक अभावले हरेक बर्ष बुढासुब्बा गोल्डकप आयोजनामा कठिनाई व्यहोर्नु परेपछि क्लब व्यावसायमुखी बन्न लागेको हो । यसको लागि चाडै विधान संशोधन गरिने र पानमा दर्ता पनि गर्ने योजना रहेको अध्यक्ष राईले बताए । ‘क्लब सेवामुखी भएर अब चल्न सक्दैन, त्यसैले व्यावसायमुखी बन्दैछौं । पानमा दर्ता गछौं’–उनले भने–‘क्लबले आय आर्जनको लागि अन्य व्यावसाय पनि गर्छ, बुढासुब्बा त एउटा बार्षिक कार्यक्रम मात्रै हो ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे