अयोग्य लडाकु मिरा सफल अल्ट्रा धावक
धरान । एक दशकअघि उनले घर, परिवार त्यागेर हिडिन् । उनको राजनीतिक मिशन थियो, गरिब निमुखा जनताले गाँस, बास र कपास पाउन् । सबैले समान अधिकार, सुख सुविधा अनि न्याय पाउन् । २०६१ सालमा तत्कालीन माओवादी जनयुद्धमा होमिदा भोजपुर सानो दुम्मा ९, घोर्लीवनकी मिरा राई मात्र १६ बर्षकी थिइन् ।
भोजपुरको विकट गाउँमध्ये एक सानो दुम्मा । समस्यासँग जुध्दै भएपनि कक्षा ८ सम्म पढिन् । एक भाई, दुई बहिनी थिए । पढाई, भाईबहिनीलाई चटक्कै माया मारेर उनी जनयुद्धमा होमिइन् । एक दशकसम्म मिरा गुमनाम भइन् । अहिले उनै बिद्रोही मिरा फरक विधामार्फत चर्चामा छिन् । उनको नयाँ परिचय बनेको छ, अल्ट्रा धावक मिरा ।
उनकै शब्दमा कुनै बेला ‘पातमा ज्यान’ राखेर हिडेकी थिइन् । अहिले उनको ज्यान अल्ट्रा रेसमा अडेको छ । करिब डेढ बर्षमा मिराले राष्ट्रिय मात्रै होइन, अन्र्तराष्ट्रियस्तरमा समेत थुप्रै प्रतियोगितामा सहभागी भएर पुरस्कार जितिसकेकी छिन् । उनले पहिलो पटक सहभागी ५० किलोमिटरको हिमालय अल्ट्रा डोर फेस्टिभलमै प्रथम भइन् । त्यसपछि, मुस्ताङमा आयोजित १९७ किलोमिटर पनि जितिन् । बेलायती नागरिक रिचर्ड बुलले उनलाई प्रायोजन गरेर गत बर्ष सेप्टेम्बरमा इटली पठायो । दुई स्पर्धामा भाग लिएकी उनले पहिलो मात्र भइनन्, रेडर्क नै राखिन् । ‘अक्टुबरमा हङकङमा ५० किलोमिटरमा पनि रेकर्ड बनाउदै महिलातर्फ प्रथम भए । म हङकङ तीन पटक गइसके, ३ पटकमै जितेको छुँ’–नागरिक संवाददातासँगको भेटमा उनले भनिन् ।
उनको यो सफलताको पछि लामो दुखका कथा छ । जनयुद्धमा उनी सहयोगीकोरुपमा थिइन् । उनी राजनीतिक कार्यक्रमहरुमा खटिन्थिन् । शान्ति प्रक्रिया शुरु भएपछि उनी २ नम्बर डिभिजन सिन्धुलीमा क्यान्टोनमेनमा बसिन् । क्यान्टोनमेनमा रहदा धेरै दुःख गरिन् । ‘काम धेरै गर्यौं, सिक्ने अवसर पनि पाइयो, तर सेना समायोजनको बेला अयोग्य भनेर निकालियो’–उनले असन्तुष्टी पोखिन्–‘सरकारले हामीजस्तालाई सही व्यावस्थापन गरेन, दुःख लाग्छ । आखिर हामी राष्ट्रकै लागि ज्यान पातमा राखेर हिडेका थियौं नि !’
अयोग्य भनेर क्यान्टोनमेनबाट निकालिएपछि उनी मेहनत गरेर खेल क्षेत्रमा आइन् । आफुभित्रको निराशालाई जितिन् । तर, अन्य साथीभाईमा अझै पनि निराशपनले घर गरिरहेकोमा उनलाई चिन्ता छ । जुन पार्टीको पछि लागेर देश र जनताका लागि ज्यानको बाजी थापेर हिडिन्, त्यही पार्टी पटक पटक सत्तामा पुग्यो । तर, अयोग्यको विल्ला भिरेर निराश हुनुपरेकाहरुलाई कुनै राहत भएन । मनभित्र गुनासाहरुको पोको छ, तर उनी त्यसलाई पोख्न चाहदिनन् । पार्टीसँग उनको सम्बन्ध पनि टुटिसकेको छ ।
उनका गुरु ध्रुवबिक्रम मल्ल र कराते च्याम्पियन साथी अनुपमा मगरले डेढ बर्षअघि राजधानीमा खाने, बस्ने व्यवस्था नगरिदिएको भए उनको नयाँ परिचय बन्ने थिएन । ‘अहिले पनि उहाँहरुसँगै बस्छु, मलाई यो स्थानमा पुर्याउन उहाँहरुको ठुलो साथ र योगदान छ’–उनले भनिन्–‘म पो मेहनत गरेर खेलक्षेत्रमा आए, अरु साथीहरु त निराश छन् ।’ उनी ०५५ सालतिर सिन्धुलीमा कराते खेल्थिन् । रनिङ पनि राम्रो थियो । त्यही भएर गुरुले पछि काठमाण्डौं बोलाएको मिरा बताउछिन् । नेपालमा अल्ट्रा रेस(खेल)को धेरै सम्भावना छ, तर अल्ट्रालाई नेपालमा मान्यता नदिएकोमा उनको गुनासो छ । ‘नेपालमा हाइ अल्टिच्युट छ, यो खेलले मान्यता पायो भने विदेशीहरु पनि यहाँ धेरै आउछन्, र टुरिज्ममा पनि योगदान पुग्छ’–उनी भन्छिन् ।
Comments
Post a Comment