फुच्चे बडिबिल्डर प्रवचन(फोटोफिचर)


धरान । चैत दोस्रो साता धरान सभागृहमा छैठौं मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगिता हुदै थियो । विभिन्न तौल समुहका खेलाडीहरुले ओभरहल राउण्डमा पोज पनि दिइसकेक थिए । विजेताहरुको नाम घोषणा हुनमात्र बाँकी थियो । त्यही शुन्य समयमा मुख्य निर्णायक पुष्प श्रेष्ठले मार्शललाई खेलाडी ल्याउन आदेश दिए ।
ओठ निचोर्दा दुध आउला झै एक वालक मार्शलका पछि लागेर स्टेजमा आए । खचाखच दर्शकदीर्घमा हासोको फोहोरा छुट्यो । ती वालकले के गर्लान् ? सबैमा कौतुहलता थियो । जब मुख्य निर्णायकले अन्र्तराष्ट्रिय सेभेन पोजको निर्देशन दिन थाले, ती पातलो ज्यानको वालकले कुशल खेलाडी झै भटाभट पोज दिन थाले । तब सभाहल सिटि र तालीको गडगडाहटले गुञ्जायमान भयो । केहीबेर अघिसम्म खिसि गर्ने हातहरुले नै बालकको सम्मानमा ताली बजायो । केहीले त नगद पुरस्कार नै दिए । अन्र्तराष्ट्रिय सेभेन पोज पछि उनले प्रोफेसनल खेलाडी झै विभिन्न हाउभाउमा अप्सनल पोज पनि प्रर्दशन गरेर सबैको मन जिते ।
यी वालक हुन्, धरानका ९ बर्षीय प्रवचन कार्की । उनी बुढासुब्बा बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्छन् । सानै उमेरदेखि उनको शारीरिक सुगठन खेलप्रतिको लगाव अचम्म लाग्दो छ । पाँच बर्षकै उमेरदेखि प्रवचनले पूर्वमा हुने शारीरिक सुगठन प्रतियोगिताहरुमा बडि शो गर्न थालेका हुन् । उनले २०६७ सालदेखि नै मिस्टर पूर्वाञ्चल, मिस्टर कोशी, मिस्टर मोरङ, मिस्टर हिमालय, मिस्टर धरान जस्ता स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो कला, क्षमता देखाइसकेका छन् । पढाईमा पनि उनी तेज छन् ।
प्रवचनको प्रेरणाको स्रोत स्वयम उनका बुबा कैलाश कार्की हुन् । उनी पनि शारीरिक सुगठनका पूर्वखेलाडी हुन् भने अहिले मार्शल छन् । ०५२ सालदेखि यो खेलक्षेत्रमा सक्रिय उनले २०५७ सालमा मिस्टर धरानको उपाधि जितेका थिए । ‘मलाई बाबाले नै सिकाउनु भएको हो, शुरुमा स्टेजमा पोज बिग्रन्छ कि भनेर डर लाग्छ । तर, अहिलेसम्म मिस्टेक गरेको छैन’–प्रवचनले भने–‘पछि बडिबिल्डिङ गरिरहन्छु ।’ शारीरिक सुगठनप्रति मोह भएपनि उनको भविष्यको लक्ष्य भने नेपाली सेनामा जागिर खाने छ । शारीरीक सुगठनमा बुबाको पुर्ण समर्थन छ । आमा सृर्जनाले भने पढाईमा ध्यान दिनु भनेर सम्झाइरहने उनी बताउछन् ।
छोराले नै चाहना गरेकोले शरीरिक सुगठनको पोजहरु सिकाएको बुबा कैलाश बताउछन् । विभिन्न प्रतियोगिताहरु हुँदा सँगै लैजाने गरेकोले प्रवचनलाई यो खेलप्रति रुचि बढेको उनले बताए । ‘अहिले सानै भएकोले अप्सनल र अन्र्तराष्ट्रिय पोज मात्रै सिकाएको छुँ । उसले जिम गर्दैन । प्रतियोगितामा देखाउदा आत्मविश्वास बढ्न र अरुलाई पनि यो खेलमा आर्कषण हुन्छ भन्ने लागेर देखाउने गरेको हो’–बुबा कैलाशले भने–‘भविष्य उसकै चाहना अनुसार हुन्छ ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे