बीपी प्रतिष्ठानमा तालाबन्दी कायमै


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चार जना पदाधिकारीको कार्यकक्षमा लागेको ताला सोमबार पनि खुल्न सकेन । प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत कर्मचारी कल्याण तदर्थ समितिबीच औपचारिक वार्तासमेत हुन सकेको छैन ।
तदर्थ समिति र उपकुलपति डा.बीपी दास दुवै वार्ता गर्ने मुडमा छैनन् । यद्यपी, सोमबार डेपुटि रजिष्ट्रार अमित श्रीवास्तवले आन्दोलनरत पक्षसँग मागका बारेमा अनौपचारिकरुपमा छलफल गरेका थिए । औपचारिक वार्ता भने भएको छैन । तदर्थ समिति चारै पदाधिकारीको राजिनामाको मागमा अडिग छन् । उता, उपकुलपतिले पनि विना कुनै जानकारी एक्कासी तालाबन्दी गर्नेसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका छन् । ‘ताला लगाउनुअघि कुरा गरेको भए पनि हुन्थ्यो, विना जानकारी, मबाट गल्ती नै नभएको बिषयमा ताला लागेको छ । म केही पनि गर्दिन’–उपकुलपति दासले भने ।
उता, तदर्थ समितिका अध्यक्ष राजन कोइराला पदाधिकारीको राजिनामा नआएसम्म आन्दोलन फिर्ता नलिने बताउछन् । डेपुटि रजिष्टारसँगको अनौपचारिक वार्तामा कर्मचारीलाई स्वीकार्य हुने कुनै कुरा नआएको भन्दै उनले तालाबन्दी जारी राख्ने बताए । ‘उच्चस्तरीय तलबमान आयोगको प्रतिवदेन कुन अवस्थामा, कहाँ छ भन्ने कुरामा नै पदाधिकारीबाट प्रष्ट कुरा आएको छैन’–कोइरालाले भने–‘यस्तो अवस्थामा वार्ता हुदैन, पदाधिकारीको राजिनामा आउनैपर्छ ।’
पच्चिस प्रतिशत प्रोत्साहन भत्ता, नेपाल सरकारद्धारा वृद्धि गरिएको अघिल्लो दुई आर्थिक बर्षको तलब पाउनुपर्ने र उच्चस्तरीय तलबमान आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरिरहेको तदर्थ समितिबारे उपकुलपतिले स्थानीय एक पत्रिकामा दिएको अभिव्यक्तिपछि तदर्थ समिति तालाबन्दीमा उत्रिएको थियो । उपकुलपतिले तदर्थ समितिलाई अवैधानिक र कर्मचारीलाई फटाहाकोरुपमा चित्रण गरेर कार्वाही गर्ने अभिव्यक्ति दिएको भन्दै राजन कोइराला नेतृत्वको तदर्थ समितिले आइतबार पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । कर्मचारीको तालाबन्दीले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकमार्फत हुने महत्वपुर्ण कामकाज अवरुद्ध भएको छ ।
तदर्थ समितिको नेतृत्वमा कर्मचारीहरुले सोमबार दुई घण्टा जिओपिडी भवन अघि धर्ना दिएका थिए । समितिका सल्लाहकार महेश्वर राईले आफुहरु यो स्थिति नआओस् भन्ने चाहेपनि उपकुलपतिको गैरजिम्मेवारीपनले गर्दा सृर्जना भएको आरोप लगाए । ‘उपकुलपति कसैको इशारामा चलिरहनु भएको छ, उहाँलाई कसैले परिचालन गर्दैछ । त्यो चंगुलबाट मुक्त भएर कर्मचारीको जायज माग पुरा गर्नुस्’–उनले भने ।
प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले कर्मचारीको मागबारे उच्चस्तरीय तलबमान आयोगले स्वास्थ्य मन्त्रीलाई प्रतिवेदन बुझाईसकेकोले पदाधिकारीले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्ने बताए । कर्मचारीको मागबारे सकरात्मक रहेको प्रतिवेदनमा उल्लेख भएवमोजिम कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट माग गर्दै अर्थमन्त्रालयमा पत्रचार गरिसकेको उनको भनाई छ । ‘प्रतिवेदन हामीसम्म आइपुगेकै छैन, त्यसैले सार्वजनिक गर्न सक्दैनौं । तर, कर्मचारीको मागप्रति सकरात्मक छ र त्यही कार्यान्वयनको लागि स्वास्थ्यबाट अर्थमन्त्रालय पुगेको छ । यो कुरा यहाँका सबैलाई थाह छ’–रजिष्ट्रार श्रेष्ठले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे