उसु खेलाडी आफ्नै खर्चमा राष्ट्रिय प्रतियोगिता खेल्न गए


धरान । ११ औं राष्ट्रिय उसु प्रतियोगितामा सहभागी हुन काठमाण्डौं जान लागेका भोजपुर र सुनसरीका ४ खेलाडीको मंगलबार दिउसो धरानस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिमा विदाई हुदै थियो । खादा र अबिरले खेलाडी विदाई गर्दा जिल्ला उसु संघ सुनसरीका सचिव विकी राई उत्साहित हुनुपर्ने हो, तर उनमा खुशी र उत्साह थिएन ।
त्यसबेला उसुका राष्ट्रिय निर्णायकसमेत रहेका राईलाई अर्कै चिन्ताले सताईरहेको थियो । राष्ट्रिय प्रतियोगिता खेल्न हिडेका खेलाडीहरुले काठमाण्डौंमा कसरी खाने, बस्ने प्रबन्ध गर्लान् ? विदाईको बेला उनलाई यही चिन्ता थियो । ‘यातायात र खाने बस्ने सबै खर्च खेलाडी आफैले व्यवस्था गर्नुपर्ने रे, यस्तो पनि राष्ट्रिय प्रतियोगिता हुन्छ ?’–खेलाडी विदाईको क्रममा असन्तुष्टी जनाउदै उनले भने–‘आयोजकले पत्र पठाउदा नै बोधार्थमा कृपया काठमाण्डौंबाहिरका जिल्लाले कष्ट नगरिदिनु होला भनिदिए ढुक्कै हुन्थ्यो ।’
नेपाल उसु संघको आयोजनामा यही बैशाख १० देखि १२ गतेसम्म त्रिपुरेश्वरमा ११ औं राष्ट्रिय उसु प्रतियोगिता हुदैछ । संघले देशभरका आफ्ना जिल्ला संघलाई खेलाडी पठाउन पत्रचार गरेपनि आउने जाने, खाने बस्ने व्यवस्था खेलाडी आफैले गर्नुपर्ने भएपछि धेरैजसो संघ र खेलाडी विलखवन्दमा परेका छन् । आयोजकले सेमीफाइनल पुगेर कुनै मेडल जित्ने पक्का भएपछि मात्रै दैनिक ३ सय भत्ता दिने जानकारी दिएको छ । ‘सेमीफाइनल पुग्ने खेलाडीले मात्रै ३ सय पाउछ, काठमाण्डांैको महंगीमा त्यति पैसाले कसरी पुग्छ ?’–राष्ट्रिय निर्णायक एवं संघका जिल्ला सचिव राईले भने–‘राखेपले बजेट थोरै दियो भन्छन्, संघ आफैले पनि त पहल गर्नुपर्छ नि, यो त गैरजिम्मेवारी पन भयो । राष्ट्रिय प्रतियोगिता नभनिदिए राम्रो हुन्थ्यो ।’
०७० माघ महिनामा धरानमा सम्पन्न प्रथम लुम्बिनी १० औ राष्ट्रिय उसु प्रतियोगिताको व्यवस्थापन एवं आयोजना गरेको धरान उसु संघले प्रत्येक खेलाडी, प्रशिक्षक एवं रेफ्रीहरुलाई ४ दिनसम्म दैनिक ६ सयको दरले भत्ता दिएको उनले खुलाए । यस्तै, यातायात खर्च वापत दुवै तर्फको एक हजारको दरले एक जनलाई २ हजार उपलब्ध गराएको पनि उनले बताए । ‘बजेट १२ लाख रुपैया आएको थियो, ३१२ खेलाडी, ४५ प्रशिक्षक र ३५ जना रेफ्रीलाई ४ दिनको भत्तामा नै १३ लाख बढी खर्च भयो । बाँकी सबै हामीले व्यवस्थापन गरेका थियौं’–उनले भने ।
११ औं राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सुनसरीबाट नविन लिम्बू र इन्चु मगर काठमाण्डौं प्रस्थान गरेका छन् भने भोजपुरबाट शर्मिला राई र मिलन राई हिडेका छन् । दुवै जिल्लाको टिम कोचकोरुपमा राजेन्द्र राई पनि उनीहरुको साथमा छन् । ‘पहिला खेलाडीहरुले दैनिक ६ सय रुपैया भत्ता पाएको थियो,राष्ट्रिय भनिसकेपछि त्यही दरमा वा बढाएर दिनुपथ्र्याे र जिरोमा झारेछन् । खेलाडी र उसु खेलको विकासको लागि यो राम्रो भएन’–टिम कोच राईले भने । प्रतियोगिताअवधिभर आफुहरु आफन्तको घरमा बसेर धाउने सोच बनाएको भोजपुरकी खेलाडी शर्मिला राईले बताइन् । कोच र खेलाडीहरुलाई सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ, भोजपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाजेन्द्र राई, सुनसरी समितिका सचिव कुमार पोख्रेललगायतले विदाई गरे ।
सुनसरीका खेलाडीलाई एकतर्फी यातायात खर्चवापत जिल्ला उसु संघका अध्यक्ष रमेश राईले २५ सय, उपाध्यक्ष शिवु गुरुङ र सचिव विकी राईले जनही एक हजार रुपैया सहयोग गरेका छन् । यस्तै, भोजपुरका खेलाडीलाई भोजपुर जिल्ला खेलकुद विकास समितिले ५० प्रतिशत र बाँकी खेलाडी आफैले खर्च व्यहोर्ने सर्तमा प्रतियोगितामा सहभागी हुन पठाइएको समितिका अध्यक्ष वाजेन्द्र राईले बताए । नेपाल उसु संघका केन्द्रीय सदस्यसमेत रहेका उनले राष्ट्रिय खेलकुद परिषदबाट प्रतियोगितालाई माग गरेवमोजिम बजेट नपाएकोले विगतमा जस्तो यातायात, खाने बस्ने व्यवस्  ागर्न नसकिएको बताए । ‘मन्त्रालयले राखेपलाई मागे वमोजम बजेट नदिएकोले परिषदले पनि उसु संघलाई माग वमोजिम बजेट दिन सकेन । प्रतियोगितालाई ३ लाख मात्रै बजेट आएकोले यो समस्या भएको हो’–उनले भने–‘राज्य सञ्चालन र नीति निर्माणको तहमा पुगेको राजनीतिक दलका प्रतिनिधिहरुले खेलकुदलाई हर्ने दृष्टिकोण अवैज्ञानिक छ, उनीहरुले शिक्षा, स्वास्थ्य, महिला बालबालिकालाई जस्तरी युवा खेलाडीको लागि बजेट खै बिनियोजन गरिदिएको ? केन्द्र, क्षेत्र, जिल्ला र गाविसस्तरमा बजेट त्यसरी नआएसम्म यस्तै अवस्था भइरहन्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे