जाहेरी दर्ता गर्न दबाब दिदै महिलाहरुद्धारा प्रहरी कार्यालय घेराउ


धरान । कुटपिट गरेर हत्या गरेको घटनालाई प्रहरीले आत्महत्या बनाएर किटानी जाहेरी लिन नमानेको भन्दै स्थानीय महिलाहरुले इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन् । पचास भन्दा बढीको संख्यामा बुधबार बिहानैदेखि प्रहरी कार्यालय पुगेका महिलाहरुले दबाब दिइरहे पनि प्रहरीले किटानी जाहेरी दर्ता गरेन ।
गएको आइतबार राती धरान १६ प्रगति टोलका सुजन श्रेष्ठले आफ्नी २२ बर्षीय श्रीमति अञ्जली राईको हत्या गरेको स्थानीय र माइती पक्षको दाबी छ । हत्यामा सुजनका बुबाको पनि संलग्नता रहेको उनीहरुको भनाई छ । तर, प्रहरीले भने घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्टको आधारमा सलले पाशो लागेर आत्महत्या गरेको जनाउदै किटानी जाहेरी दर्ता गर्न नमिल्ने जिकिर गर्दै आएको छ । जाहेरी दर्ता नगरे पनि प्रहरीले श्रीमान सुजन र ससुरासँग सोधपुछ भइरहेको जनाएको छ ।
मृतकका माइती पक्ष र छरछिमेकीहरुले भने प्रहरीले आर्थिक र राजनीतिक दबाबमा परेर वास्तविकता बङ्ग्याएर फितलो अनुसन्धान गरेको आरोप लगाएका छन् । आइतबार राती अञ्जली घरभित्र मृत अवस्थामा भेटिइएकी थिइन् । सलले पासो लागेर झुण्डिएको भनिएको उक्त घटना आत्महत्या हुनै नसक्ने स्थानीयबासीको दाबी छ । मृतकको जिउमा कुटपिटको डाम भएपनि प्रहरीले सामान्य हो भन्दै गैरजिम्मेवार जवाफ दिने गरेको छिमेकी सिरु राईले बताइन् । ‘पिट्दा पिट्दै मारेको घटनालाई मिलेमतो गरेर पाशो लगाएको बनाए । घाटीको पाशोको डोब सलले बेरेको हुदै होइन’–प्रहरी कार्यालयमा भेटिएकी उनले भनिन्–‘यत्रो समाजले भनेको कुरा डिएसपी सुन्नै मान्दैन । समाजको कुरै नसुन्ने यो कस्तो कानुन हो ? अनुसन्धान गरेर कारबाही गरिपाउ भन्दा पनि जाहेरी दर्ता गर्न किन मान्दैन ?’
मृतक अञ्जली र सुजनबीच करिब ३ बर्षअघि प्रेम बिवाह भएको थियो । सुजनसँग अञ्जलीको दोस्रो विवाह हो । उनीहरुबाट एक छोरी पनि जन्म भइसकेको छ । छिमेकीका अनुसार अञ्जली मिलनसार भए पनि पति पत्नीबीच झगडा भने भइरहन्थ्यो । सनराइज बैंकका सवारी चालक श्रेष्ठ मदिरा पिएपछि अराजक हुन्थे । घटनाको दिन दुवैबीच बिहानैदेखि झगडा भइरहेको थियो । राती घरबाट सडकमा निस्किएर समेत दुवै बीच झगडा भएको र त्यसको १० देखि १५ मिनेट पछि नै अञ्जली मृत्यु भएकोले आत्महत्या हुनै नसक्ने उनीहरुको दाबी छ । झगडा हुदै गर्दा घरभित्र पस्न खोज्दा छिमेकीलाई ससुराले छिर्न नदिएको छिमेकी शान्ता खतिवडाले बताइन् । प्रत्यक्षदर्शी मनमाया कोइरालाका अनुसार मेरो अञ्जलीलाई कसले मार्यो भन्दै सुजन बाहिर निस्किएपछि भित्र जादा टिनको ढोका बन्द थियो भने ससुराले अञ्जलीको टाउको काखमा राखेर सुम्सुम्याउदै गरेको थियो । ससुरा र श्रीमान घरभित्रै भएको र सल पनि आफुले नदेखेकोले आत्महत्या हुनै नसक्ने कोइरालाले बताइन् ।
अञ्जलीको घरमा बसेर पढेकी काकाकी छोरी एलिना राईका अनुसार झगडा हुदा सुजनले सधै श्रीमतिको घाँटी अठ्याउने गरेका थिए । ‘म दुई बर्षसम्म दिदीकोमा बसेको थिए, झगडा गर्दा सधै घाटी अठ्याउथ्यो । त्यसरी नै मारेको हुनुपर्छ’–उनले भनिन् । डिएसपी सुदम कुमार सिजापति भने निष्पक्ष छानबिन भइरहेको दाबी गर्दै भिसेरा रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता भएर थप अनुसन्धान हुने बताए । ‘घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्ट वमोजिम पाशो लागेर आत्महत्या भएको भन्ने देखिन्छ, अझै प्रष्ट हुनको लागि भिसेरा रिपोर्ट पर्खिएका छौं’–डिएसपी सिजापतिले भने–‘घटनाको निष्पक्ष अनुसन्धान गर्दैछौं, श्रीमान् र ससुरासँग सोधपुछ हुदैछ । दोषी उम्कन नपाउन् तर निर्दोष पनि पर्नहुन्न भन्ने मान्यताले तत्काल जाहेरी दर्ता नगरेको हो ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे