छैठौं मिस पूर्वाञ्चलको तयारी तीब्र

धरान । धरानकी शरुपा थापा मगरको भविष्यमा नायिका बन्ने धोको छ । त्यो लक्ष्य प्राप्तीको लागि उनी एक महिनादेखि कडा मेहनत गरिरहेकी छिन् । एक सातापछि सम्पन्न हुने मिस पूर्वाञ्चलको ताज पहिरिन सके नायिका बन्ने अवसरको ढोका खोल्ने उनको अपेक्षा छ ।
त्यसो त उनी यसअघि मिस मगर २०१४ को वेष्ट क्याटवक र वेष्ट डान्सको उपाधि विजेता पनि हुन् । मिस पूर्वाञ्चलको फाइनलिष्ट बनेसँगै आफ्नो बौद्धिकता र प्रतिभा निर्खान मद्दत पुगिरहेको उनको भनाई छ । ‘प्रशिक्षणले आत्मविश्वास बढाएको छ, बौद्धिक सुन्दरतामा पनि निखार आएको महसुस भइरहेको छ’–उनले भनिन् । शरुपको मात्र होइन, नेपाल आइस मिस पूर्वाञ्चल २०१५ का प्रतिस्पर्धी १४ जना सुन्दरीहरुको समान अनुभव छ । चाहना फरक भएपनि मिस पूर्वाञ्चलको अनुभवले भविष्यमा जुनसुकै क्षेत्रमा पनि अघि बढ्ने आत्मविश्वास दिलाएको उनीहरुको भनाई छ । फाइनलको मिति नजिकिएसँगै उनीहरुको ढुकढुकी पनि बढ्दो छ ।
भविष्यमा समाज सेवामा सक्रिय हुने लक्ष्य लिएकी विराटनगरकी प्रियंका श्रेष्ठ भन्छिन्–‘मिस पूर्वाञ्चलमा सहभागी भएपछि धेरै क्षेत्रका मानिसहरुसँग साक्षात्कार गर्न पाइयो, सामाजिक गतिविधिमा पनि सहभागी भयौं । यसले हामीमा आत्मविश्वास बढाएको छ ।’ आयोजक सिल्भर इन्टरटेनमेन्टले मिस पूर्वाञ्चलको उपाधि दौडमा रहेका पूर्वेली सुन्दरीहरुलाई एक महिनादेखि प्रशिक्षण दिइराखेको छ । जसमा धरानकी शरुपा, विराटनगरकी प्रियंकासँगै झापाकी अनिता थापा, धरानकी विद्या चौहान, स्मृती श्रेष्ठ, पुजा खड्का सहभागी छिन् । यसैगरि, झापाकी सञ्जु मल्ल ठकुरी, प्रमिशा बज्रचार्य, अनिता थापा, मोरङ केराबारीकी सामुना मगर, लेटाङकी साइरा मगर, इटहरीकी लोटस चाम्लिङ, मिसाल श्रेष्ठ छिन् भने उदयपुर गाइघाटकी स्मिता थापा पनि मिस पूर्वाञ्चल २०१५ को उपाधि दौडमा रहेको कोअर्डिनेटर विजय मगरले जानकारी दिए ।
कोअर्डिनेटर मगरका अनुसार पुर्वेली सुन्दरीहरुलाई विगत पाँच सातादेखि बौद्धिक एवं सौन्दर्य कला प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुबाट व्यक्तित्व विकास, बोल्ने कला, प्रस्तुतीकरणलगायतको प्रशिक्षण दिइएको छ भने प्रियारानी लामा र नेहा बजाजले कोरियोग्राफी सिकाइरहेका छन् । लागुऔषध तथा अपराध, ट्राफिका जनचेतनामुलक कार्यक्रममा सुन्दरीहरु सहभागी भइसकेका छन् भने बुधबार विराटनगरको गुरुकुलमा उनीहरुले आफ्नो प्रतिभा पनि देखाइसकेका छन् ।
प्रतियोगिताको फाइनल चैत्र २७ गते धरान सभागृहमा हुनेछ । आयोजक सिल्भर इन्टरटेण्टमेन्टका निर्देशक सौरभ श्रेष्ठका अनुसार विजेताले मिस पुर्वाञ्चलको ताजसहित यामाहाको स्कुटी हात पार्नेछ भने विभिन्न उपहार पनि दिइनेछ । विजेताले मिस नेपालमा सिधै सहभागी हुने अवसर पाउनेछन् । यसैगरि, फष्ट रनरअपले नगद ४० हजार र सेकेण्ड रनरअपले नगद ३० हजार पाउने निर्देशक श्रेष्ठले बताए । यसबाहेक मिस फोटोजेनिक, मिस ट्यालेण्ट, मिस क्याटवक, मिस चार्मिङ, मिस पर्सनालिटी, मिस पब्लिक च्वाइस सब टाइटल विजेताले जनही नगद ७ हजार र उपहार पाउने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे