बीपी प्रतिष्ठानमा भ्रष्टचारको आशंकामा कागजपत्र नियन्त्रण



धरान । भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विविध बिषयको कागजपत्र नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा विभिन्न शिर्षकमा भ्रष्टचार भएको उजुरी परेपछि आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले शुक्रबार प्रतिष्ठानबाट सम्बन्धीत कागजपत्र नियन्त्रणमा लिएको हो ।
प्रहरी उपरीक्षक(एसपी) लालमणी आचार्य र अधिकृत गणेशमानसिंह राईको नेतृत्वमा चार जनाको टोलीले प्रतिष्ठानको विभिन्न शाखाबाट कागजपत्र एवं फाइलहरु नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार प्रतिष्ठानको शिक्षा, लेखा, सामान्य प्रशासन, कर्मचारी नियुक्ती, खरीद शाखाबाट उजुरीसँग सम्बन्धित कागजपत्र र फाइलहरु लगिएको छ । नियन्त्रणमा लिइएका कागजपत्रको प्रारम्भिक छानबिन क्षेत्रीय कार्यालयबाट हुने र अनियमितता भएको देखिएमा थप अनुसन्धानको लागि ती फाइल केन्द्रीय कार्यालय पठाइने एसपी आचार्यले बताए ।
‘प्रतिष्ठानको विभिन्न बिषयमा उजुरी परेको थियो, छानबिनको लागि त्यसैसम्बन्धीत कागजपत्र नियन्त्रणमा लिएका छौं’–एसपी आचार्यले भने–‘हामीले सहयोग गर्नुपर्यो भन्यौं, उहाँहरुले मागेका फाइल दिनुभएर सहयोग नै गर्नुभयो ।’ उनका अनुसार प्रतिष्ठानविरुद्ध निर्माण ठेक्का, मेशिन खरीद तथा उपकरण खरीदलगायत विविध बिषयमा उजुरी परेको छ ।
अख्तियारका क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतका अनुसार आर्थिक बर्ष २०७०÷२०७१ र २०७१÷२०७२ मा भएको निर्माण भएको गेष्टहाउस, होस्टलको टेण्डरलगायत विभिन्न निर्माण सम्बन्धीका उजुरी परेको छ । यस्तै, फर्निचर खरीद, ल्याब सामग्री र केमिकल खरीद, अस्पतालमा पसल सञ्चालन गर्न दिएको सम्झौता, एमबिबिएस र बिडिएसमा भर्ना भएका विदेशी विद्यार्थीहरुको शुल्क घटाएको बिषयलगायतमा परेको उजुरीसम्बन्धी कागजपत्र नियन्त्रणमा लिइएको क्षेत्रीय प्रमुख बस्नेतले जानकारी दिए । ‘डाइग्नोकेम इन्टरनेशनलको टेण्डरबापतको धरौटी जफत नगरेको, ०६९ साल यता भर्ना गरिएका कर्मचारीका बिषयमा पनि उजुरी परेको छ, महालेखा परीक्षकको प्रतिवेदनले पनि कतिपय आर्थिक अनियमितताबारे औल्याएको बिषय छन्, ती सबैको कागजात लिएका छौं’–उनले भने ।
प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले भने अख्तियारले प्रतिष्ठानमा छापा नमारेको दाबी गर्दै छानबिनको लागि फाइल मागेर लगेको बताए । गेष्ट हाउस निर्माणबारे यसअघि नै अख्तियारको केन्द्रीय कार्यालयबाट क्लिनचिट दिइसकेकोले क्षेत्रीय टोलीलाई उक्त पत्रसमेत दिइएको उनले जानकारी दिए । ‘अख्तियारमा उजुरी परेको रहेछ, उहाँहरुले फाइल चाहियो भन्नुभयो । हामीले मागेका सबै फाइलहरु दिएर पठायौं । छापा मारेको भने होइन’–रजिष्टार श्रेष्ठले भने–‘गेष्ट हाउसबारे केन्द्रीय कार्यालयबाटै क्लिनचिट दिइसकेकोले त्यही पत्र दिएका छौं ।’
प्रतिष्ठानको भौतिक संरचना निर्माण, विद्यार्थी भर्ना, मेशिन तथा उपकरण खरीद, सुरक्षा तथा सरसफाईलगायतको ठेक्का प्रक्रियामा आर्थिक चलखेल एवं भ्रष्टचार हुने गरेको आरोप लाग्दै आएको छ । यसअघि विद्यार्थी भर्नाको प्रवेश परीक्षाको रिजल्ट दुई पटक प्रकाशित गरेपछि आर्थिक चलखेल गरेको आशंकामा अख्तियारले छापा मारि परीक्षासम्बन्धीत कागजात नियन्त्रणमा लिएको थियो भने पदाधिकारी, डिनसँग वयानसमेत लिएको थियो । पछि यो प्रकरणमा पनि अख्तियारले प्रतिष्ठानलाई क्लिनचिट दिएको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे