सिंगापुर हिडेका यमबहादुरसहित ६ जना धरहरामा पुरिएर मृत्यु

महाभुकम्पमा परि ज्यान गुमाएकी कौशिल्या(माथि सबैभन्दा बाँया), पूर्वसिंगापुरे पुलिस पिताम्बर, उनका श्रीमति र छोराको साथमा र सिंगापुर पुलिसमा कार्यरत यमबहादुर(सबैभन्दा तल) ।
धरान । सिंगापुर पुलिसमा कार्यरत यमबहादुर तुम्बाहाम्फे चार महिनाको छुटि सकेर फर्कदै थिए । सोमबार उनी डिउटीमा उपस्थित हुनुथियो । उनी धरान १५ बाँझगरास्थित घरबाट शुक्रबार नै विदावारी भएर काठमाण्डांै हिडे ।
घर रुङ्न बसेकी भतिजि केन्द्र लिम्बूले आइतबार मात्रै काठमाण्डौं जानुस् भन्दै सम्झाएकी थिइन् । तर, यमबहादुर मानेनन् । विराटनगर एयरपोर्टमा ९ बजेको फ्लाइट थियो । दिदी भेना पनि आफुसँगै जाने र काठमाण्डौंमा घुम्ने भन्दै उनी शुक्रबार बिहान ७ बजे नै घरबाट निस्किए । काका यमबहादुरको यो विदाई नै भतिजि केन्द्रको लागि अन्तिम भइदियो । काठमाण्डौं घुम्ने क्रममा धरहरा चढेका यमबहादुरसहित ६ जना आफन्तजनले शनिबार मध्याह्न गएको महाभुकम्पमा परि ज्यान गुमाए । यमबहादुरले न राम्रो घुम्न पाए, न डिउटीमा उपस्थित हुनसके । ‘मैले काकालाई आइतबार मात्रै जानुस् भनेको थिएँ, तर मान्नु भएन । अहिले यो दिन देख्नुपर्यो’–भतिजि केन्द्रले नागरिकसँग भनिन्–‘हामीले ६ जना आफन्त एकैपटक गुमाउनु पर्यो ।’
महाभुकम्पमा परि सिंगापुर फर्कन लागेका यमबहादुरसहित उनका भेना पिताम्बर तिगेला, पिताम्बरकी श्रीमति र छोराको पनि ज्यान गएको छ । यसैगरी, पिताम्बरका भतिजि कौशिल्या तिगेला र भतिजको पनि महाभुम्कपमा परी ज्यान गएको आफन्तजनले जानकारी दिएका छन् । उनीहरु सबै शनिबार सुन्धारास्थित धरहारा चढेका थिए । त्यही बेला महाभुकम्पमा परि सबै पुरिए । सिंगापुर पुलिसबाट आवकाशप्राप्त पिताम्बरका एक छोरी मात्रै बाँचेकी छिन् । सिंगापुरमा अध्ययरत उनी नेपाल आइसकेकी छिन् । मृतक यमबहादुरकी श्रीमति चन्द्रकला, २ छोरी र एक छोरा पनि सिंगापुरमा छन् । श्रीमति चन्द्रकला नेपाल आइसकेकी छिन् । मृतक सबैको शव मंगलबार राजधानीमै जलाएको आफन्तजनले जनाए ।
महाभुकम्पले धरानमा ठुलो क्षति पुर्याएन । तर, महाभुम्कपको पीडाबाट अछुतो रहन सकेन । यी दुई परिवार र आफन्तजन अहिले शोकमा छन् । आफन्तजन यमबहादुरको घरमा भेला भएपनि सन्नटा छाएको छ । एकैपटक यति आफन्त गुमाउनु पर्ला भनेर उनीहरुले कल्पनासमेत गरेका थिएनन् । ‘सोच्नै नसकिने घटना भइदियो, अन्तिमपटक अनुहार हेर्न पनि पाएनांै’–यमबहादुरकी फुपु सासु नुमरानी लिम्बुले भनिन्–‘केही सोच्न सकेका छैनौं ।’
आफन्तजनका अनुसार मृतक यमबहादुर सिंगापुर पुलिसबाट पेन्सन आउन अब ५ बर्षजति मात्रै बाँकी थियो । उनका भेना पिताम्बर तिगेलाले भने सिंगापुर पुलिसबाट अवकाश पाइसकेका थिए । उनी नयाँ घर बनाउन वा खरीद गर्ने योजनासहित शुक्रबार काठमाण्डांै गएका थिए । ‘पाए घरै किन्ने नत्र जग्गा किनेर घर बनाउने सोचले गएका थिए, तर सबै सपना खरानी भयो’–नुममतिले भनिन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे