धराने युवाहरु राहत लिएर लमजुङ र सिन्धुपाल्चोक जादै

धरान । उदयपुर जिल्लालाई केन्द्रविन्दु बनाएर ०४५ सालमा आएको भुकम्पले धरानमा ११६ जनाको ज्यान गयो भने ठुलो भौतिक क्षति गर्यो । यस्तै,०६८ को भुकम्पले पनि धरानमा २ जनाको ज्यान गएको थियो भने केही घरमा क्षति पुगेको थियो । गत शनिबार गोरखा केन्द्रविन्दु बनाएर आएको महाभुकम्पले धरानलाई क्षति गरेन तर राजधानीसहित मध्यपश्चिमका थुप्रै जिल्लालाई ठुलो धनजनको क्षति गर्यो ।
यो महाभुकम्पबाट धरान त जोगियो, तर आफु सुरक्षित छौं भन्दैमा धरानेहरु भने चुप लागेर बस्न कहाँ सक्छन् र ? हुन त विभिन्न देशबाट भुकम्प पीडितहरुको लागि अरबौं रुपैया सहयोग र त्यतिकै मात्रामा राहत सामग्रीहरु आइरहेका छन् । तर, भुकम्प पीडितहरुको भने विचल्ली छ । धेरैले परिवारजन गुमाएका छन्, घरबारविहिन भएका छन् । तर, सरकारले उनीहरुलाई न बस्ने व्यवस्था गरेका छ न खाने व्यवस्था नै छ । राजधानीमै भुकम्प पीडितहरुको विजोग भइरहेको बेला विकट गाउँतिर के होला ?
यही कुरा मनन गर्दै धरानका युवाहरु राहत संकलन गर्न जुटे । विभिन्न संघसंगठनमा आवद्ध धराने युवाहरु मिलेर राहतको लागि झोला थाप्दै घर घर हिडेनन् । शुरुवात आफैबाट गरे । कसैले चाउचाउ, कसैले च्युउरा, कसैले मिनरल पानी त कसैले बिस्कुट दिए । त्यसपछि आफु नजिकका साथीभाईलाई अभियानबारे सुनाए, छरछिमेकलाई भने । फेसबुक पेजबाट अपिल गरे । सबैले उनीहरु भए ठाउँमा नै विभिन्न राहत सामग्री ल्याइदिए । संकलित राहत सामग्री लिएर युवाहरुको यो टोली शुक्रबार बिहानै भुकम्पबाट धेरै क्षति भएको जिल्ला सिन्धुपाल्चोकतर्फ प्रस्थान गर्नेछ । स्काउटका युवाहरुसमेत सम्मिलित यो टोलीले संकलित राहत वितरण मात्रै गर्दैन, त्यही बसेर पीडितहरुलाई खान र बस्नको लागि व्यवस्थापनमा पनि सघाउनेछ । ‘यस्तो विपत्ति परेको छ, एक पछि अर्को दर्दनाक अवस्था देखिदै गएपछि हामी चुप लागेर बस्नै सकेनौं’–राहतको नेतृत्व गरेका युवा योगेन राईले भने–‘हामी त्यही बसेर स्थानीयलाई जे आवश्यक छ, त्यसमा सघाउछौं ।’
युवाहरुका अनुसार शुक्रबार सिन्धुपाल्चोक गएको टोलीले अध्ययन गरेर राहत आवश्यक ठाउँको पहिचान गर्नेछ र पुनः धरानबाट अर्को युवाहरुको टोली राहत सामग्रीसहित आउनेछ । सम्भव भएसम्म युवाहरुको टोली सिन्धुपाल्चोक पुगेर राहत, उद्दार कार्यमा खट्नेछ अर्का युवा वुद्ध लामाले बताए । निदान समाज केन्द्रको स्वयमसेवक र चिकित्सकको टोली पनि युवाहरुसँगै रहेर खटिनेछ । यो टोलीसँग करिब एक लाख नगद पनि छ । त्यसलाई पनि आवश्यकता अनुसार खर्च गर्ने राहत संकलनमा सक्रिय डिकेन्द्र गिरीले बताए । उनका अनुसार रोयल इष्र्टन इन्फिल्डर्स, सुनसरी राइकल एशोसिएशन, राइडर्स एण्ड एमटिबि जोन, मोडिफिकेशन धरान, टिम ओ सिरिज, युवा दृष्टि समाज, धराने फोटोग्राफी, सुनौलो आमा समुहलगायत संस्था एवं समुहहरुले स्वतस्र्फुतरुपमा सहयोग गरेका हुन् । यसबाहेक विभिन्न व्यक्तिहरुले पनि आफै सम्पर्क गरेर सहयोग दिएका छन् ।
यो टोलीबाहेक धरानका युवाहरुको अर्को टोली शुक्रबार नै लमजुङको यचोक २ तर्फ प्रस्थान गर्नेछ । यचोक २ मा ७२ वटा घरहरु पुर्णरुपमा ध्वस्त भएको र अहिलेसम्म कतैबाट राहत पुग्न नसकेकोले त्यसक्षेत्रमा जान लागेको वि धरानेका एडमिन क्वान चाङले बताए । ‘हामीले पनि घर घरमा गएर होइन, एकै ठाउँमा बस्यौं, त्यही शुभचिन्तकहरुले आएर राहत सामग्री दिनुभएको हो । पैसा दिन खोज्नेलाई पनि सामग्री नै दिनुस् भन्यौं’–उनले भने । लमजुङ र सिन्धुपाल्चोक जाने युवा टोलीले चिउरा, औषधी, सेनेटरी प्याड, त्रिपाल, म्याट, विस्कुट, चाउचाउ,पानी लगायत सामग्री लिएर जाने जनाएको छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे