लेखापढीको उक्साहटमा मालपोत कार्यालयमा काम ठप्प

धरान उपमहानगरपालिकामा स्थापना गरिएको मालपोत र नापीको सम्पर्क कार्यालय । 
धरान । जिल्लाको उत्तरी क्षेत्रमा जनतालाई सुविधा पुर्याउन सदरमुकाम केन्द्रीत मालपोत र नापी कार्यालयको सेवा धरानमा विस्तार गरिन लागेपछि दुई दिनदेखि इनरुवास्थित मालपोत कार्यालयमा काम ठप्प भयो ।
मालपोत कार्यालय वरीपरीका लेखापढी व्यासायीहरुको नेतृत्वमा मुख्य गेटअघि धर्ना शुरु भएपछि आइतबारदेखि मालपोतको काम प्रभावित भएको हो । सेवा विस्तार गरिदा आम्दानीको मुख्य स्रोत धरान क्षेत्रको सेवाग्रही इनरुवा नआउने भएपछि आम्दानी गुम्ने डरले लेखापढी व्यावसायीहरु सेवा विस्तारको विपक्षमा छन् । धरान उपमहानगरपालिकामा मालपोत र नापी कार्यालयको सम्पर्क कार्यालय स्थापना गरेलगत्तै आवश्यक नाक्सा, फिल्डबुक, लगत, मोठ, श्रेस्तालगायत कागजात लैजान नदिन आइतबारदेखि इनरुवामा पुनः अवरोध सृर्जना गर्न धर्ना शुरु भएको हो । यसअघि गएको फागुन पहिलो साता पनि कागजात ल्याउने तयारी हुदा लेखापढी व्यावसायीको उक्साहवटमा उद्योग वाणिज्य संघले इनरुवा बचाउ भन्दै आन्दोलन गरेको थियो ।
अहिले उद्योगा वाणिज्य संघ पछि सरेपनि लेखापढी व्यावसायीले मधेशवादी दलको नाममा केही व्यक्तिहरुलाई धर्नामा राखेको मालपोतकै एक कर्मचारीले बताए । उनका अनुसार आइतबार कार्यालयमा घुइचो भएपनि मधेशवादी एक दलका नेता आएर काम नगर्न भनेपछि सेवाग्रहीहरु निराश भई फर्कनु पर्यो भने सोमबार पनि कार्यालयमा काम सुचारु हुन सकेन । यद्यपी उनले आन्दोलनको नाममा त्रिपाल टाँगेर ६÷७ जना व्यक्ति मात्रै मुलगेटअघि धर्नामा बसेको बताए ।
 ‘आन्दोलन त नाम मात्रको छ, लेखापढी गर्नेहरुले नै ६, ७ जना मान्छे ल्याएर राखेको हो । तपाईहरु आफै आएर हेरेपनि हुन्छ’–नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने–‘बाँकी त लेखापढी गर्नेहरु मात्रै छन्, इनरुवाको जनता, संघसंस्थाहरुको कुनै साथ, समर्थन नै छैन ।’ उनका अनुसार आइतबार आन्दोलनमा सहभागी भइदिन माइकिङ गरेपनि सोमबार धर्नामा सर्वसाधारण जनता देखिएको छैनन् भने स्थानीय राजनीतिक दलका नेता वा कार्यकर्ताहरु पनि आएका छैनन् । ‘धर्नामा बसेकाहरुलाई पनि लेखपढी व्यावसायीले नै होटलमा खान र बस्ने व्यवस्था गरेर ल्याएको हो’–ती कर्मचारीको ठोकुवा छ ।
सेवा विस्तार तयारी भएपछि आइतबारदेखि मालपोत आसपासका सम्पुर्ण लेखापढी व्यावसायीहरुले सटर बन्द गरेर काममा अवरोध पुर्याएका छन् । दुई दिनयता मालपोतमा काम ठप्प हुदा कम्तीमा ३० लाख रुपैया राजश्व पनि गुमिरहेको छ । कार्यालयका अनुसार दैनिक १५ देखि २० लाख रुपैया राजश्वक संकलन हुने गरेको थियो । सेवा विस्तार नहुदा भर्खर धरानमा गाभिएको विष्णुपादुका, पाँचकन्यासँगै इटहरीको हाँसपोशा र उत्तरी बराहक्षेत्र गाविसका जनताहरु जग्गा सम्बन्धी काम लिएर ३५ किलोमिटर टाढा इनरुवा धाउन बाध्य छन् । धरानमा सेवा विस्तार हुदा इनरुवास्थित मालपोत कार्यालयमा कम्तीमा ३० प्रतिशत कामको चाप घट्ने मालपोत कार्यालयले जनाएको छ । धरानको लागि एक उपसचिव प्रमुख, २ शाखा अधिकृत, ८ सुब्बासहित २१ जना कर्मचारी सरकारले खटाइसकेको छ भने कार्यालय सञ्चालन गर्न अख्तियारी(बजेट) पनि प्राप्त भइसकेको छ । तर इनरुवाबाट नाक्सा, फिल्डबुक, लगत, मोठ, श्रेस्तालगायत आवश्यक कागजात ल्याउन नसकिएकोले जग्गा प्रशासनबारे जनतालाई सेवा दिन नसकिएको मालपोत कार्यालय धरानका प्रमुख श्रवणकुमार पोख्रेलले बताए । मन्त्रीपरिषदले साउन ४ गते र प्रशासनिक समितिले असोज ३० गते धरानसँगै विभिन्न २१ स्थानमा सेवा विस्तार गर्ने निर्णय गरेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे