बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले आर्थिक अनियमितताको आशंकामा कागजपत्र नियन्त्रणमा लिएको दुई दिनपछि धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको चारै पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी भएको छ ।
प्रतिष्ठानका उपकुलपति डाक्टर बीपी दासले स्थानीय एक पत्रिकामा कर्मचारीलाई फटाहा भन्दै अभिव्यक्ति दिएपछि राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आइतबार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो । समितिले कर्मचारीलाई वदनाम गराउने गरी उपकुलपति दासले तल्लोस्तरको अभिव्यक्ति दिएको भन्दै आन्दोलित बनेको छ ।
आक्रोशित कर्मचारीहरु नाराबाजी गर्दै प्रतिष्ठानका उपकुलपति दास, शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अस्पताल निर्देशक डा.अरविन्द सिन्हाको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए । ताला लगाउने क्रममा कर्मचारीहरुले उपकुलपति मुर्दावाद भन्दै चर्को नारा पनि लगाए । तदर्थ समितिले प्रतिष्ठानको वदनाम गराउने गरि अभिव्यक्ति दिने उपकुलपतिसहित चारै जना पदाधिकारीको राजिनामाको माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले आर्थिक अनियमितताको आशंकामा शुक्रबार प्रतिष्ठानको विभिन्न शाखाबाट कागजपत्र नियन्त्रणमा लिएको थियो । त्यही घटनासम्बन्धमा स्थानीय एक पत्रिकामा उपकुलपति दासले तदर्थ समिति अवैधानिक भएको दाबी गर्दै प्रतिष्ठानको वदनामी गराउने र अख्तियारमा उजुरी गर्ने यिनै फटाहा हुनसक्छ भन्ने अभिव्यक्ति दिएका थिए । ‘प्रतिष्ठानको वदनामी गराउने र अख्तियारमा उजुरी गर्ने यिनै फटाहाहरु ह्ुनसक्छन्, छानबिन गरेर कुनैपनि हालतमा कारबाही गर्छु, यो कुरा पनि लेखिदिनुस्’–पत्रिकाले दासको प्रतिक्रिया लेखेको छ ।
उपकुलपतिको उक्त अभिव्यक्ति शनिबार प्रकाशित भएपछि तदर्थ समितिको आपतकालीन बैठक बसेर चारै जना पदाधिकारीको राजिनामा माग गर्दै कार्यकक्षमा तालाबन्दी गर्ने निर्णय गरिएको समितिका अध्यक्ष राजनप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार बिहान ९ बजे तालाबन्दी गरिएको थियो भने १० बजेसम्म जिओपिडी भवन अघि कर्मचारीहरुले धर्ना पनि दिएका थिए । प्रतिष्ठानले वार्तामा बोलाइरहे पनि तदर्थ समितिले राजिनामा माग गरिएका पदाधिकारीसँग वार्ता नगर्ने अडान लिएको छ । ‘कर्मचारीलाई फटाहा देख्ने पदाधिकारीसँग कुनै पनि हालतमा वार्ता गर्दैनौं, स्वास्थ्य मन्त्रालयसँग मात्रै वार्ता हुन्छ’–अध्यक्ष कोइरालाले भने ।तदर्थ समितिले पदाधिकारीको राजिनामा मागसँगै २५ प्रतिशत प्रोत्साहन भत्ता, नेपाल सरकारद्धारा वृद्धि गरिएको अघिल्लो दुई आर्थिक बर्षको तलब पाउनुपर्ने र उच्चस्तरीय तलबमान आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग पनि अघि सारेको छ । प्रतिष्ठानका उपकुलपति दासले भने आफुले कुनै पनि संगठनलाई तोकेर फटाहा नभनेको दाबी गर्दै संस्थाको आन्तरिक कुरा बाहिर लैजाने जो कोही फटाहा हुन् भनेको जिकिर गरे । ‘मैले राजन कोइराला समुहलाई फटाहा भनेको होइन, कुनै संगठनलाई तोकेर फटाहा भनेकै छैन’–उपकुलपति दासले भने–‘प्रतिष्ठानको आन्तरिक कुरा बाहिर लैजाने जो कोही फटाहा नै हो, त्यही भनेको हुँ । बुझाईमा फरक परेको हो ।’ तालाबन्दी खुलाउन तदर्थ समितिसँग छलफलको प्रयास भइरहेको पनि उनले बताए । प्रतिष्ठानमा सुजेन्द्र गोले तामाङको अध्यक्षतामा निर्वाचित वैधानिक कर्मचारी कल्याण समाज छ । समाजको नेतृत्वले कर्मचारीको मागबारे वेवास्ता गर्दै प्रतिष्ठान व्यवस्थापनको पछि लागेको भन्दै केही महिनाअघि असन्तुष्ट कर्मचारीहरुले छुट्टै आन्दोलन चर्काउदै तदर्थ समिति गठन गरेको थियो ।


Comments
Post a Comment