नाइट मार्केटको समय बढाउन होटल व्यावसायीको माग
धरान । पर्यटन विकासमा अघि बढीरहेको धरानमा रात्री व्यावसाय आवश्यक रहेको भन्दै यहाँका होटल व्यावसायीहरुले समय बढाउन प्रहरी प्रशासनसँग माग गरेका छन् । होटलमा हुने विकृति तथा अपराधिक गतिविधि नियन्त्रण गर्न आफै सचेत रहेको भन्दै रात्री व्यावसायको समय बढाउन व्यावसायीहरुले माग गरेका हुन् ।
होटल एशोशएन अफ धरानले जिल्ला प्रहरी कार्यालय सुनसरीमा भर्खर सरुवा भई आएका प्रमुख एसपी राजेन्द्रराज शर्माको स्वागत शुक्रबार साँझ आयोजित कार्यक्रममा यस्तो माग गरेका हुन् । एशोसिएशनका पूर्वअध्यक्ष शिवराज श्रेष्ठले रात्री जीवन तथा व्यावसाय पर्यटनको अभिन्न अंग भएको उल्लेख गर्दै अबेरसम्म होटल खोल्ने छुट दिन प्रहरीसँग माग गरे । ‘राती जब व्यापार चल्न शुरु भएको हुन्छ, प्रहरी प्रशासनबाट बन्द गराउने समय भइहाल्छ’–सुनसरी उद्योग वाणिज्य संघका उद्योग सचिवसमेत रहेका श्रेष्ठले भने–‘व्यापार हुने समयमा बन्द गर्नुपरेपछि आम्दानी हुदैन, आम्दानी नभएपछि राज्यलाई कर दिन पनि सकिदैन ।’

सुनसरी उवासंघका अध्यक्ष सरोज श्रेष्ठले होटल व्यावसायलाई व्यवस्थित र मर्यादित गराउन प्रहरीको भुमिकासँगै व्यावसायीहरुसँग सहकार्य गर्न जरुरी रहेको बताए । ‘शान्ति सुरक्षालाई दख्खल नपर्ने गरी व्यापार व्यावसाय गर्ने वातावरण तयार गर्नुपर्छ । हामी पनि शान्ति सुरक्षा कायम गराउन साथ र सहकार्य गर्न तयार छौं’–उनले भने । पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सुरक्षा कायम गर्न प्रहरी प्रशासनमा मात्रै भर नपर्न आग्रह गर्दै व्यावसायी आफैले पनि प्रबन्ध गर्न जोडदिए । प्रहरीको साथ, सहयोगले होटल व्यावसाय चलेमा राष्ट्रकै अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए ।
सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले व्यावसायीहरुको माग सकरात्मक भएको प्रतिक्रिया दिदै आपसी छलफलबाट समस्या समाधान गर्न आफु तयार रहेको बताए । रात्री व्यावसाय सञ्चालनमा आउन सम्भव रहेको बताउदै उनले व्यावसायीहरुले पनि सुरक्षाको उपाय अपनाउनुपर्ने उल्लेख गरे । ‘आपसी छलफल गरौं, शुरुमा ११ बजेसम्म छुट दिऊ । शान्ति सुरक्षामा असर पर्दैन भने १२ बजेसम्म पनि खुल्दा हामीलाई आपत्ति हुनेछैन’–एसपी शर्माले भने–‘तर, होटल सुरक्षित छ भन्ने अनुभूति व्यावसायीहरु आफैले गराउनुपर्छ । शंकास्पद व्यक्ति लागेमा प्रहरीलाई खबर गरिदिनुस्, ग्राहक हिड्न सक्दैन भने घरसम्म पुर्याइदिने व्यवस्था गर्नुस् ।’
Comments
Post a Comment