मेथाडोनविरुद्ध सरोकारवालासँग वैठक र हस्ताक्षर अभियान


धरान । अफिमजन्य(हेरोइन) लागुऔषधका दुव्र्यसनीहरुलाई उपचार विधिको नाममा सरकारले युवाहरुलाई कडा लागुऔषध ‘मेथाडोन’ वितरण गरेको विरोधमा उत्रिएका धराने युवाहरुले चरणवद्ध संघर्षको कार्यक्रम थालेका छन् ।
संघर्ष समिति गठन गरेका पूर्वलागुऔषध प्रयोगकर्ताहरुले बुधबार धरानका सरोकारवाला एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग समन्वय बैठक गरे । साथै, उनीहरुले मेथाडोनविरुद्ध हस्ताक्षर अभियान पनि चलाए । धरान उपमहानगरपालिकाको प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रमका वक्ताहरुले सरकारले उपचारको नाममा मेथाडोन नामको लागुऔषध बाडिरहेको सत्य भए विरोधमा उत्रने प्रतिवद्धतासमेत जनाए । कार्यक्रममा संघर्ष समितिले मेथाडोन र यसले पुर्याउने असरबारे सहभागीहरुलाई जानकारी गराएको थियो ।
दातृनिकायको सहयोगमा सञ्चालित प्रोजेक्टमार्फत सुनसरीमा मेथाडोन वितरणको तयारी भएपछि धरानका पूर्वलागुऔषध प्रयोगकर्ताहरु विरोधमा छन् । मेथाडोन कडा खालको लागुऔषध भएको र प्रोजेक्ट सकिएपछि युवापिढी यसको तलमा फसेर निस्कनै नसक्ने उनीहरुको दाबी छ । धरानमा सुधार केन्द्रजस्ता उपचार विधि सफल भएर आफुहरु समाजमा सम्मानित जीवन बिताइरहे भन्दै पूर्वलागुऔषध प्रयोगकर्ताहरुले मेथाडोनले उपचार नभई युवाहरुलाई कुलतमा फसाउने दाबी गर्दै आइरहेका छन् । प्रोजेक्ट अवधिभर सरकारले दातृनिकायको पैसामा निःशुल्क मेथाडोन वितरण गरेपनि प्रोजेक्ट सकिएपछि ती युवाहरुको भविष्य के हुने भनेर सरकार र दातृनिकायले नसोचेको उनीहरुको आरोप छ ।
मेथाडोन दोस्रो विश्व युद्धपछि न्युयोर्क सिटिमा हेरोइनको दुव्र्यसन र त्यसबाट हुने मृत्यु नियन्त्रण गर्न सन् १९६० ताका कानुनीरुपमा वितरण शुरु भएको इतिहास छ । सुईबाट प्रयोग गर्ने  हेरोइनका दुव्र्यसनीहरुलाई मौखिक प्रतिस्थापन गर्न मेथाडोन वितरण शुरु भएको थियो । यसलाई मेथाडोन मौखिक प्रतिस्थापन विधि नाम दिइएको छ । यस विधि अनुसार विस्तारै मेथाडोनको डोज घाउदै लगिने बताइएको छ । नेपालमा यो कार्यक्रम सन् १९९४ मा पहिलो पटक सञ्चालनमा आएको थियो । सन् २००२ मा बन्द भएको यो कार्यक्रम पुनः २००७ देखि दातृनिकायको सहयोगमा सञ्चालनमा छ । सुईद्धारा लागुऔषध प्रयोगकर्ताहरुलाई मौखिक मेथाडोन खुवाइने भएकोले एचआइभी, हेपाइटीसजस्ता रोग न्युनिकरण हुने भन्दै यो कार्यक्रम नेपालमा लागु छ । नेपालमा हाल विराटनगर, चितवन, काठमाण्डौं, पोखरालगायत शहरमा मेथाडोन प्रयोगमा आइरहेको छ । सरकारले लागुऔषधको मौखिक प्रतिस्पधान उपचार पद्दतिअन्र्तगत मेथाडोन र बुप्रेनर्फिनको प्रयोग गर्न निर्देशिकासमेत बनाएको छ । जसअनुसार प्रत्यक्ष चिकित्सकको निरारानीमा मात्रै मेथाडोन खुवाउने प्रावधान छ ।
मेथाडोनको प्रयोग विश्वयुद्धताका घाइते सैनिकलाई पेनकिलरकोरुपमा प्रयोगमा आएको थियो । यसले ड्रगबाट छुटकारा दिने नभई जिउको हड्डीभित्रको मासी(बोन म्यारो) विस्तारै सुकाउदै जान्छ र मानिसलाई मार्ने काम गर्छ । अन्य उपचारविधिबाट दुव्र्यसनी रोक्न नसकेपछि अमेरिका, युरोपतिर सरकारले नै मेथाडोन खुवाउने गरेको थियो । यसले मान्छेलाई बेसुर बनाइदिन्छ, सुतिरहने भएकोले चोरी, डकैती त गर्दैन र विस्तारै निष्क्रिय हुदै मर्छन् भनेरै त्यताको सरकारले दिएको नार्कोनन् नेपालका प्रमुख वसन्त कुँवरले जानकारी दिएका छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे