भुकम्प पीडितलाई राहत संकलन गर्नेको ओइरो(फोटोफिचर)

धरान । शनिबार गएको महाभुकम्पबाट पीडितहरुको लागि भन्दै जिल्लामा राहत संकलन गर्ने संघसंस्थाहरुको ओइरो लागेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार जिल्लामा दर्जन संघसंस्थाहरुले राहत संकलनको अनुमति लिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको संयोजनमा दर्जन बढी संघसंस्थाहरुले संयुक्तरुपमा राहत संकलन अभियान चलायो । इलाका प्रशासन कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखसमेत सहभागी भएको अभियानबाट २ लाख २८ हजार संकलन भएको रेडक्रस सुनसरी शाखाका सभापति उमेश थापाले बताए । उनका अनुसार जिल्लाभरका उपशाखाहरुबाट कति रकम संकलन भयो भनेर बुझ्ने काम भइरहेको र उक्त रकम जिल्ला दैवि प्रकोप उद्दार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ ।
राहत संकलन गर्न धेरै संघसंस्था एवं समुहहरु सक्रिय रहेको र जनतामा नराम्रो छाप नपरोस् भनेर रेडक्रसको संयोजनमा संयुक्तरुपमा अभियान चलाएको सभापति थापाले बताए । ‘एकै ठाउँमा धेरै संस्था, समुह राहत संकलन गर्न पुग्छन्, यसले जनतामा नराम्रो छाप पर्नसक्छ’–थापाले भने–‘प्रशासनले एक ठाउँमा सबै संघसंस्था मिलेर संयुक्तरुपमा राहत संकलन गर्ने व्यवस्था गर्दा राम्रो हुन्छ, यसरी संयुक्तरुपमा जादा दिनलाई पनि सहज हुन्छ र जनतामा दुरुपयोग पो हुन्छ कि भन्ने आशंका पनि हुदैन ।’ रेडक्रसको संयोजनमा भएको संकलन अभियानमा नेवार एकता समाज, भुजेल सेवा समिति, आदिबासी जनजाति महासंघ, जनजाति महिला महासंघ, सहकारी समन्वय समितिलगायत विभिन्न संघसंस्थाहरु संयुक्तरुपमा हिडेको उनले बताए ।
धरान बजारमा मंगलबार एम्बुलेन्स चालक संघ र लिम्बूवान पार्टी नेपालले भुकम्प पीडितहरुको लागि भन्दै राहत संकलन गरेको थियो । यसबाहेक युवा समुह, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी र ट्राफिक प्रहरीलेसमेत बुधबार नै राहत संकलन गरिरहेको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थका अनुसार जिल्ला दर्जन जति संघसंस्थाहरुले राहत संकलनको अनुमति लिएका छन् । सरकारले नै प्रत्येक व्यक्तिलाई राहतको लागि आह्वान गरेकोले राहत संकलन गर्न इच्छुक संघसंस्थाहरुलाई प्रशासनले अनुमति दिएको उनले बताए । संकलित राहत दुरुपयोग नहोस् भनेर अनुगमन र व्यवस्थित गर्न प्रशासन पछि नहट्ने उनले बताए । ‘सरकारले राहत र उद्दार कार्यको लागि प्रत्येक व्यक्तिलाई आह्वान गरेकोले राहत संकलन गर्न चाहने संघसंस्थालाई अनुमति दिनुपर्छ तर दुरुपयोग नहोस् भनेर नियमित, व्यवस्थित गछौं’–प्रजिअ पन्थले भने–‘एकै ठाउँमा गएपनि जर्बजस्ती गर्नुहुदैन, स्वेच्छाले दिएमात्रै लिनुपर्छ ।’ संघसंस्थाहरुलाई तीन दिन भित्र संकलन गरेर जिल्ला दैवि प्रकोप उद्दार समितिमा बुझाउने सर्तमा अुनमति दिएको प्रजिअ पन्थले बताए ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे