अञ्जली मृत्यु प्रकरणः एक सातापछि जाहेरी दर्ता


धरान । महिलाले झुण्डिएर आत्महत्या गरेको भनिएको शंकास्पद घटनामा इलाका प्रहरी कार्यालय धरानले एक साता पछि किटानी जाहेरी दर्ता गरेको छ । धरान १६ की अञ्जली राईले आत्महत्या गरेको भनिएको घटनालाई प्रहरीले कर्तव्य मुद्दामा परिणत गरेर अदालती प्रक्रिया अघि बढाएको हो ।
उक्त घटनालाई चैत २९ गते कर्तव्य मुद्दामा परिणत गरेर अञ्जलीकी श्रीमान् सुजन र ससुरा अशोक श्रेष्ठलाई अनुसन्धानको लागि म्याद थप पनि गरिसकेको डिएसपी सदमकुमार प्रजापतिले बताए । ‘कर्तव्य मुद्दामा परिणत गरेर अदालती प्रक्रिया शुरु गरिसकेको छौं । हामी निष्पक्ष छानबिन गरेर अदालतमा बुझाउछौं’–डिएसपी प्रजापतिले भने । उनका अनुसार अदालतबाट मृतकको श्रीमान् र ससुरालाई ७ दिनको म्याद थप भइसकेको छ । यसअघि किटानी जाहेरी दर्ता नगर्नुको कारणबारे भने डिएसपी प्रजापतिले खुल्न चाहेनन् ।
जाहेरी दर्ता गरेपछि प्रहरीले घटनास्थल पुगेर ७ जना प्रत्यक्षदर्शीसँग पुनः घटना विवरण पनि लिएको छ । गत चैत २२ गते घरमा शंकास्पद अवस्थामा मृत भेटिएकी अञ्जलीलाई कुटपिट गरेर हत्या गरेको छरछिमेकी र महिला अधिकारकर्मीहरुले दाबी गरिरहे पनि प्रहरीले भने आत्महत्या गरेको भन्दै यसअघि किटानी जाहेरी दर्ता गरेको थिएन । प्रहरीले जाहेरी दर्ता नगरेपछि महिलाहरुले संघर्ष समिति नै गठन गरेर दिनहुजसो प्रहरीविरुद्ध प्रर्दशन गर्दै आइरहेको थियो । घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण पाशो लागेर भन्ने आएको भन्दै प्रहरीले जाहेरी दर्ता गरेको थिएन ।
धरान १६ प्रगति टोलका सुजन र उदयपुरको गाइघाट माइती भएकी २२ बर्षीय अञ्जलीबीच करिब ३ बर्षअघि प्रेमविवाह भएको थियो । छिमेकीहरुका अनुसार घटनाको दिन दुवैबीच बिहानैदेखि झगडा भइरहेको थियो । राती घरबाट सडकमा निस्किएर समेत दुवै बीच झगडा भएको र त्यसको १० देखि १५ मिनेट पछि नै अञ्जली मृत अवस्थामा भेटिनुले आत्महत्या हुनै नसक्ने स्थानीयले दाबी गर्दै आइरहेका छन् । मृतकका माइती पक्ष र छरछिमेकीहरुले भने प्रहरीले आर्थिक र राजनीतिक दबाबमा परेर वास्तविकता बङ्ग्याएर फितलो अनुसन्धान गरेको आरोप लगाउदै आएका थिए ।

सर्वदलीय अनुगमन समिति गठन

अञ्जलीको हत्या भएको दाबी गर्दै संघर्ष समिति गठन गरेका स्थानीयको आह्वानमा बुधबार सर्वदलीय अनुगमन समिति पनि गठन भएको छ । नेपाली कांग्रेसका गोपाल कार्कीको संयोजकत्वमा १९ दलका प्रतिनिधि र इन्द्र बराह ज्वेलरी इष्डष्ट्रिज प्रालिका एक प्रतिनिधिसहित २० सदस्यीय समिति गठन भएको हो । छलफलमा १० दलको उपस्थिति रहेको थियो ।
अनुगमन समितिले संघर्ष समितिलाई कुनै बाधा अड्चन आइपरेमा समन्वय गर्ने जिम्मेवारी रहेको संयोजक कार्कीले बताए । उनका अनुसार अञ्जलीको शवको पुनः पोष्टमार्टम गर्नुपर्ने माग गर्दै प्रहरीमा पीडितको तर्फबाट निवेदन दिइनेछ । ‘पोष्टमार्टममा चित्त नबुझेको हुनाले पुनः गराउन माग गर्दै भोली निवेदन दिइनेछ ।’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे