प्रहरी कार्यालयअघि महिलाहरुद्धारा नाराबाजी

धरान । कुटपिट गरेर महिला हत्या भएको घटनामा जाहेरी दर्ता गर्न नमानेको भन्दै महिलाहरुले इलाका प्रहरी कार्यालय धरानमा नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । मृतक महिलाको तस्बिरसहित ब्यानर र प्ले कार्ड बोकेका महिलाहरुले बिहिबार दिनभरजसो प्रहरी कार्यालय मुलगेट अघि नाराबाजी र प्रर्दशन गरिरहे ।
झुण्डिएर आत्महत्या भएको पोष्टमार्टम रिपोर्ट आएको भन्दै प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि स्थानीय र प्रहरीबीच विवाद बढ्दै गएको छ । बुधबार पनि महिलाहरुले प्रहरी कार्यालय घेराउ गर्दै जाहेरी दर्ता गर्न दबाब दिएका थिए । गएको आइतबार राती घरमा मृत भेटिएकी धरान १६ प्रगति टोलकी अञ्जली राईलाई पति सुजन श्रेष्ठ र ससुरा अशोक श्रेष्ठले हत्या गरेको छरछिमेक र माइती पक्षको आरोप छ । तर, घटनास्थलको मुचल्का र पोष्टमार्टम रिपोर्टले पाशो लागेर आत्महत्या गरेको देखिएकोले जाहेरी दर्ता गर्न नमिल्ने भनेपछि द्धन्द बढेको हो ।
प्रहरीले घटनालाई अन्तै मोडेर दोषीलाई बचाउन खोजेकोले दबाब कार्यक्रम गरिएको स्थानीय जीवनकला राईले बताइन् । माइती पक्षको उपस्थिति र सहमति विना नै प्रहरीले एकपक्षीयरुपमा पोष्टमार्टम गरेको पनि उनले बताइन् । ‘जाहेरी दर्ता गरेर गहिरो अनुसन्धान होस र दोषीलाई कार्वाही भन्ने चाहन्छौं । तर प्रहरीले आत्महत्या हो भनेर कुरै सुन्दैन’–उनले भनिन् । माइती पक्षले दिएको किटानी जाहेरी दर्ता नगरेपनि प्रहरीले श्रीमान सुजन र ससुरा अशोकलाई अनुसन्धानको लागि तारेखमा राखेको छ । बिहिबार तारेखमा जादै गरेका ससुरा अशोकलाई प्रहरी कार्यालयको मुलगेटमा प्रर्दशन गरिरहेका महिलाहरुले कुटपिटसमेत गरेका थिए ।
घटनाप्रति महिला संघसंगठनको छाता संगठन महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले पनि चासो दिएको छ । माइती पक्षले न्याय दिलाउन माग गर्दै निवेदन दिएपछि दुवै संस्थाका प्रतिनिधि बिहिबार घटनाको वास्तविकता बुझन प्रहरी कार्यालय गएको थियो । मृतक अञ्जली र सुजनबीच करिब ३ बर्षअघि प्रेम बिवाह भएको थियो । उनीहरुबाट एक छोरी पनि जन्म भइसकेको छ । सुजनले अञ्जलीलाई परपुरुषसँग वात लगाएपछि घटनाको दिन दुवैबीच बिहानैदेखि झगडा भएको थियो । राती घरबाट सडकमा निस्किएर समेत दुवै बीच झगडा भएको र त्यसको १० देखि १५ मिनेट पछि नै अञ्जली मृत्यु भएकोले आत्महत्या हुनै नसक्ने स्थानीयको दाबी छ ।
डिएसपी सुदम कुमार सिजापति भने घटनास्थलको मुचुल्का, अवस्था र पोष्टमार्टम रिपोर्टले कर्तव्य गरि मारेको नदेखिएको बताए । चिकित्सको सल्लाह अनुसार भिसेरा परीक्षणको रिपोर्ट नआएसम्म जोहरी दर्ता नहुने उनले प्रष्ट पारे । ‘कसैले भनेकै भरमा प्रहरीले काम गर्दैन, कानुनले प्रमाण खोज्छ, घटनास्थलको मुचुल्का र पोष्टमार्टम रिपोर्टले झुण्डिएर आत्महत्या गरेको भन्छ’–डिएसपी सिजापतिले भने–‘कसरी कर्तव्य ज्यान भनेर जाहेरी दर्ता गर्नु ? अब भिसेरा रिपोर्ट नआएसम्म केही गर्न सकिदैन, चित्त नबुझे माथिल्लो निकायमा जादा हुन्छ नि ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे