पर्यटकीयस्थल भेडेटारमा होटल थपिदै


धरान । पर्यटकको संख्यामा वृद्धि भएसँगै पूर्वको प्रमुख पर्यटकीयस्थल मध्ये एक भेडेटारमा सुविधायुक्त होटलको संख्या पनि थपिदो छ । नयाँ साल २०७२ नजिकिदै गर्दा यहाँ ८ वटा होटल धमाधम निर्माण भइरहेको छ । निर्माणाधिन होटलमध्ये २ वटा नयाँ बर्षमा सञ्चालनमा आउने गरि तयारी भइरहेको छ ।
निर्माणाधिन यी होटलहरुमा कम्तीमा १० करोडको लागनी भएको व्यावसायीहरु बताउछन् । निर्माणाधिन होटलहरु भेडेटार चोकदेखि ४ किलोमिटर दुरीको नाम्जे गाउँको बीच सडक आसपासमा छन् । बनिदै गरेका होटलमध्ये राजकुमार लिम्बू र गोविन्द समालको आगामी बैशाखमा सञ्चालन गर्ने तयारी छ । होटल व्यावसायमा लगानी थपिदा भेडेटार पर्यटकीय गन्तव्य बनेको र यहाँ लगानी सुरक्षित छ भन्ने सकरात्मक सन्देश फैलिएको भन्दै व्यावसायीहरु खुशी छन् ।
‘एउटा होटल शुरु गर्न कम्तीमा एक करोड खर्च लाग्छ, बन्दै गरेको होटलमा कम्तीमा १० करोड लगानी थपिएको छ’–होटल एशोसिशएन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले भने–‘भेडेटार पर्यटकीय गन्तव्य हो, यहाँ लगानी सुरक्षित छ भन्ने भएर नै थप लगानी भएको हो, यो ज्यादै सकरात्मक पक्ष हो ।’ समुन्द्री सतहबाट १४२० मिटर उचाईमा रहेको भेडेटार हरदम चिसो मौषम हुने भएकोले गर्मी छल्न तराईका जिल्ला र छिमेकी भारतबाटसमेत पर्यटकहरु पुग्ने गर्छन् । यहाँ हाल ३५ वटा लज सुविधासहितका होटल छन् भने साना होटलहरु ५० भन्दा बढी चलेका छन् । यी सबै होटलहरुको आम्दानीको मुख्य स्रोत आन्तरिक तथा बाह्य पर्यटकहरु नै हुन् । भेडेटार पुगेका पर्यटकहरुको गन्तव्य नजिकैको शैलुङ्ग डाँडामा अवस्थित भ्यु टावर, पाथीभारा मन्दिर, शंखेश्वर महादेव, नाम्जे गाउँको आत्मा बस्ने घर, सागुरी गढी र नमस्ते झरना हुने गर्छ । भेडेटार सुनसरी र धनकुटाको सिमाना हो ।
होटलको संख्या थपिदा चुनौतीसँगै स्वास्थ्य प्रतिस्पर्धा हुदा पर्यटकहरुले स्तरीय सेवा पाउने व्यावसायीहरुको भनाई छ । नयाँ थपिने होटलहरु अत्याधुनिक हुने र सेवा, सत्कार एवं गुणस्तरमा पनि उच्चस्तर हुने एशोसिएशनका अध्यक्ष लिलाराज लावतीले बताए । ‘आर्थिक गतिविधि त बढ्ने भइनै हाल्यो, नयाँ होटलहरुमा पर्यटकहरुले खोजजस्तै सेवा सुविधा र सत्कार पाउनेछन्, जसले गर्दा पर्यटकहरुको संख्या थप बढ्ने आशा गरेका छौं’–अध्यक्ष लावतीले भने । नयाँ होटलहरु सञ्चालनमा आएपछि पर्यटक राख्न सक्ने क्षमता पनि बढ्ने व्यावसायीहरुको भनाई छ । हाल एक रातमा ५ सयको हाराहारीमा पर्यटकलाई राख्न सक्ने भेडेटारका होटल तथा लजहरुको क्षमता छ । निर्माणाधिन होटलहरु सञ्चालनमा आएपछि क्षमता दोब्बर हुनेछ । ‘क्षमता, गुणस्तर र सुविधा थपिएपछि राष्ट्रिय, अन्र्तराष्ट्रियस्तरको गोष्ठी, सेमिनार भेडेटारमा गर्न सक्छौं । यसले पर्यटन प्रर्वद्धनसँगै आर्थिक गविविधिलाई पनि बढाउनेछ’–सचिव रुम्दालीले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे