बिपीमा ओपिडी सेवा सुचारु

धरान–आमरण अनसनमा प्रहरीको हस्तक्षेप भएको भन्दै आन्दोलनरत कर्मचारीले ठप्प बनाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा २४ घण्टा पछि सुचारु भएको छ। प्रहरीको सहयोगमा प्रतिष्ठानको व्यावस्थापनले बुधबार बिहानैदेखि अनुगमन थालेपछि ओपिडी सेवा सञ्चालनमा आएको हो।
ओपिडी सेवा सुचारु भए पनि समान्य अवस्थामा जस्तो विरामीको चाप भने छैन। समान्य अवस्थामा प्रतिष्ठानमा दैनिक न्युनतम २ हजार विरामीले ओपिडीमा जचाउन आउने गर्छन् । विभिन्न ५ बुँदे माग राखेर एक सातादेखि आमरण अनसनमा बसेका किरण भटराईलाई आकस्मिक उपचार कक्षमा लैजान खोज्दा प्रहरी हस्तक्षेप भएको भन्दै तल्लोतहका कर्मचारीहरुले मंगलबार ओपिडी सेवा सञ्चालन हुन दिएका थिएनन्। प्रहरी हस्तक्षेप हुँदा कर्मचारी हेमबहादुर बस्नेत पनि घाइते बनेका थिए।
बुधबार बिहानैदेखि प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर बिक्रम श्रेष्ठ, अस्पताल निर्देशक डाक्टर अरविन्द सिन्हा, रजिष्टार तुलबहादुरर श्रेष्ठ, डिएसपी सुदमकुमार सिजापतिसहितको टोली अनुगमनमा हिडेका थिए। उच्च पदाधिकारी नै अनुगमनमा हिडेपछि आन्दोलनरत कर्मचारी समुहबाहेक अन्य काममा फर्किएका थिए। त्यसपछि ओपिडी सेवा पनि सुचारु भएको थियो। 'अनुगमन थालेपछि ओपिडी सुचारु भएको छ, सबै सेवा चल्यो । सेवामा कही कतै बाधा भयो भने फेरि कडाईका साथ अनुगमन गछौं,' अस्पताल निर्देशक सिन्हाले भने ।
आन्दोलनरत कर्मचारी समुहले कोठा भाडा तुरुन्त हटाउन, सरकारले तोकेको दरमा विजुलीको शुल्क लिनुपर्ने, स्वास्थ्य विमा निःशुल्क गर्नुपर्ने, तलब कट्टा फिर्ता गर्नुपर्ने, र कार्यवधि, योग्यताको आधारमा आन्तरिक बढुवा गर्नुपर्ने माग राखेको छ । प्रतिष्ठान व्यावस्थापनले भने कर्मचारीहरुको माग सम्बोधन गर्न सिनेट बैठकले गठन गरेको उच्चस्तरीय तलवमान आयोगको सुझावको आधारमा कर्मचारीको तलब वृद्धि गर्नुका साथै विभिन्न आर्थिक, प्रशासनिक सुधारको काम थालेको जनाएको छ । प्रतिष्ठानलाई आर्थिक संकट हुने खालको मागहरु पुरा गर्न नसकिने पदाधिकारीले जनाएका छन् । अनसन शुरु भएपछि प्रतिष्ठानले कार्यकारिणी सदस्य डाक्टर गुरु खनालको संयोजकत्वमा वार्ता टोली गठन गरेपनि सहमति हुन सकेको छैन ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे