नेवा च्यारिटी रनमा तीर्थ र सन्तोषी प्रथम(फोटोफिचर)

धरान । चौथो गोर्खा ज्वेलर्स, ब्रुनाई नेवा च्यारिटी ८ कि.मि. रनमा भारतीय सेनामा कार्यरत तीर्थ पुन र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् ।
शनिबार धरानमा सम्पन्न स्पर्धामा वाग्लुङ जिल्लाको ढोरपाटन घर भएका तीर्थले पुरुषतर्फको खुला स्पर्धामा २८ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम भए । उनी भन्दा २९ सेकेण्डले मात्रै पछि परेका एपिएफ(सशस्त्र प्रहरी)का लक्ष्मण मल्ल ठकुरी दोस्रो भए भने काठमाण्डौं नेपालटारका नयन थापा तेस्रो स्थानमा रहे । ठकुरीले निर्धारित ८ किलोमिटरको दुरी २८ मिनेट २९ सेकेण्डमा पार गरेका थिए भने थापाले २८ मिनेट ३३ सेकेण्डमा पार गरेका थिए । प्रथम स्थान हासिल गर्न सफल पुनले नगद ३५ हजारसँगै मेडल र प्रमाणपत्र हात परे भने स्पर्धामा दोस्रो र तेस्रो हुने ठकुरी र थापाले क्रमशः नगद २५ हजार र १५ हजार थापे ।
विजेता पुन विगत ८ बर्षदेखि भारतीय सेनामा जागिरे छन् । विदामा घर आएको बेला उनी धरानमा विगत ४ बर्षदेखि निरन्तर हुदै आएको स्पर्धामा सहभागी हुन आइपुगेका थिए । भारतीय सेनामा ५÷५ गोर्खा राइफलमा कार्यरत पुनको प्रशिक्षण केन्द्र ५८ जि.सि.सि.हो ।  उनी गत माघमा भएको नेपाल टेलिकम म्याराथुनमा पनि प्रथम भएका थिए । नेवा च्यारिटी रनमा १ हजार ७ सय १३ जना दौडिएका थिए ।
महिलातर्फ प्रथम स्थान हुन सफल सन्तोषीले निर्धारित दुरी ३२ मिनेट ४३ सेकेण्डमा पार गरिन् । धादिङको चैनपुर सुनखानीका उनी हाल काठमाण्डौंस्थित लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्समा ब्याचलर पढ्दैछिन् । उनी कान्तिपुर ५ कि.मि. म्याराथुनमा निरन्तर ३ बर्षदेखि प्रथम हुदै आएकी छिन् । महिलातर्फ धरानकी सपना मगर दोस्रो र जुम्लाकी सुनामाया बुढा तेस्रो भइन् । सपनाले निर्धारित दुरी ३३ मिनेट ३७ सकेण्डमा पार गरिन् भने सुनामायाले ३५ मिनेट २४ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो, दोस्रो र तेस्रो हुने महिला धाविकाहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजारसँगै मेडल, प्रमाणपत्र हात पारे ।
यस्तै, स्पर्धामा पुरुष भेट्रानतर्फ धर्म मर्हजन, भीमबहादुर गुरुङ र सोहन मास्के क्रमशः प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ रिता राई, कमला गुरुङ र गंगा गुरुङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भइन् । भेट्रान महिला र पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार थापे । यसैगरि, १६ बर्ष मुनिको पुरुष स्पर्धामा प्रतिक राई, पुर्ण राई र अतित लिम्बु क्रमशः पहिलो दोस्रो र तेस्रो भए भने महिलातर्फ रञ्जु लिम्बु, प्रेरणा राई र सृर्जना राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् । जुनियर(१२ बर्ष मुनि)को स्पर्धामा पुरुषतर्फ प्रस्ताव लिम्बु, रुसभ केसी र विसुन राम पहिलो,दोस्रो र तेस्रो भए भने महिलातर्फ स्वेच्छा थापा, इसु मगर र रचना याक्खा पहिलो, दोस्रो र तेस्रो भइन् । उनीहरुले पनि क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारसँगै मेडल, प्रमाणपत्र हात पारे । स्थानीयतर्फ राजन रोकाया र विनिता धामी विजेता रहे ।
विजेताहरुलाई आयोजक धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष मनिष तामाङ, प्रायोजक संस्था गोर्खा ज्वेलरी ब्रुनाईका जीवन बिकलगायतले पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा साग फुटबलमा स्वर्ण विजेता नेपाली फुटबलका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकीलाई सम्मान गरेको थियो । स्वाथ्यको लागि दौड भन्ने नारासहित धरान रनले विगत ४ बर्षदेखि नेवा च्यारिटी ८ के रन आयोजना गर्दै आएको छ । स्पर्धाबाट बचेको रकम संस्थाले विभिन्न असहाय एवं बालबालिकाको क्षेत्रमा कार्यरत संस्था र व्यक्तिलाई सहयोग गर्ने गर्छ । यही संस्थाले स्वास्थ्यप्रति सचेत गराउदै प्रत्येक शनिबार ठिक ७ बजे यलम्बर पार्कमा धरान रन कार्यक्रम पनि गर्दै आइरहेको छ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे